शिक्षा क्षेत्रको व्यापक सुधार गरेर मात्र मुलुकमा समृद्धि आउने छ

देशको समग्र शैक्षिक अवस्थालाई कसरी हेर्नुभएको छ ? नेपालको शैक्षिक विकासक्रम र संस्थागत विद्यालयबारे सङ्क्षिप्त इतिहास बताइदिनुस् न । 
विश्वको शैक्षिक इतिहासका सन्दर्भमा हेर्ने हो भने नेपालको शैक्षिक इतिहास त्यति लामो छैन । किरात काल, लिच्छवि काल, मल्ल कालदेखि शाह काल हुँदै अगाडि बढेको नेपालको राजनीतिक इतिहासमा राणा कालको अन्त्यतिर आएर मात्र यहाँ औपचारिक शिक्षाको परम्परा थालिएको विदितै छ । त्यसमा पनि राणाकालमा त आम जनताका छोराछोरीले शिक्षा प्राप्त गर्ने वातावरण नै थिएन । मूलतः २००७ सालको ऐतिहासिक परिवर्तनपछि मात्र नेपालमा औपचारिक शिक्षाको आरम्भ भएको हो । यसरी करिब सात दशकको शैक्षिक इतिहासमा नेपालले धेरै प्रगति गरेको मान्नुपर्छ । नेपालको शिक्षा क्षेत्रमा अझै गर्नुपर्ने नीतिगत, संरचनागतदेखि अन्य परिवर्तनहरु बाँकी होलान् तर पनि भएका उपलब्धिलाई हेर्ने हो भने निराश हुने अवस्था छैन । त्यसमा संस्थागत विद्यालयहरुको इतिहास त झन धेरै लामो देखिदैन । राजधानीका केही सीमित विद्यालयहरुलाई छाडिदिने हो भने नेपालमा चालिसको दशकपछि मात्र संस्थागत विद्यालयहरु स्थापना र सञ्चालन हुन थालेका हुन् । यस स्थितिमा नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरुले दिएको योगदान धेरै महत्वपूर्ण रहेको छ । अवश्य पनि हामीले सुधार गर्नुपर्ने धेरै कुराहरु बाँकी रहेका छन् भने राज्यको यसलाई हेर्ने दृष्टिकोण पनि अझै उदार बन्न सकेको छैन । यसलाई आपसी छलफल गरी समाधान गरी अगाडि बढ्नु आवश्यक छ । अबको नेपालको शिक्षा भनेको सरकारी र संस्थागत विद्यालयहरुको सहकार्यबाट मात्र अगाडि बढाउन सकिन्छ ।
नेपालको दुईखाले शिक्षा नीतिले आम विद्यार्थीको मनोविज्ञानमा पारेको सकारात्मक र नकारात्मक प्रभाव कस्तो पाउनुभएको छ ? किन मुलुकले माटो अनुकूलको शैक्षिक नीति अपनाउन नसकेको होला ? 
नेपालमा मात्र नभएर विश्वभर नै यस प्रकारको शिक्षा नीति रहेको हामी देख्छौँ । विश्वका विकसित देशले यस्तो नीति अपनाएको हुनाले हामीले पनि यस्तो शिक्षा नीति अवलम्बन गर्नुपर्छ भन्ने मेरो आशय होइन । नेपालमा सरकारी शिक्षाले त्यति राम्रो गति पक्रन नसकेको आम गुनासो आइरहेका सन्दर्भमा निजी क्षेत्रले पनि यसमा हात हाल्न आएको हो । यसमा राज्यको उदार अर्थतन्त्र र त्यसमा निजी क्षेत्रको सहभागिता सम्बन्धी नीतिले पनि बाटो खोलेको हो ।  नेपालमा विद्यालय शिक्षा हेर्ने केन्द्र देखि विद्यालयस्तर सम्मका निकायहरुबीच राम्रो समन्वय नहुनुले पनि शिक्षाका नीतिहरुको कार्यान्वयनमा ठूलो अन्योल खडा गरेको छ । शिक्षा सबै विकासको जग हो । राज्यले सार्वजनिक शिक्षामा लगानी तथा क्षमता वृद्धि गर्ने, निजी लगानीमा सञ्चालित विद्यालयहरुलाई विभेदका दृष्टिले हेरेता पनि निजी विद्यालयहरुले दक्ष जनशक्ति उत्पादनमा विशेष काम गरेकाले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्दा आंशिक रुपमा विद्यार्थीको मनोविज्ञानमा सकारात्मक तथा नकारात्मक प्रभाव परेता पनि यसमा धेरै ठूलो प्रभाव छ जस्तो लाग्दैन । साथै देशलाई माटो अनुकूलको शिक्षा आवश्यक पर्दछ भन्ने कुरामा विवाद रहेन तर विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्तिको निर्माण गर्नु पनि हाम्रो दायित्व हो भन्ने कुरालाई सँगसँगै सम्झनु पनि उत्तिकै जरुरी छ ।

                                                                                                                                            मानसिंह घर्ती

 गोरखा स्कुलको शुल्क निकै चर्को रहेकोले उच्च आयस्रोत भएकाले मात्रै आफ्ना बालबालिका पढाउछन् भन्ने व्यापक गुनासो छ, निजी शिक्षण संस्था आम निमुखाको पहुँचमा पुग्नुको सट्टा किन नाफा आर्जनमै केन्दित भएका होलान् ? 
 विल्कुलै गलत कुरा हो । हाम्रो विद्यालयमा सामान्य मजदुरी गरेर पनि आफ्ना बालबालिका पढाउने धेरै अभिभावक हुनुहुन्छ । हाम्रो उदेश्य भनेको सबैले पढ्न पाउने संस्था बनाउनु हो । कही नगन्य निजी शिक्षण संस्थाले नाफा आर्जन गरेका होलान, शुल्क लिएका होलान तर सबैलाई आरोप लगाउनु राम्रो होइन ।
कुल विद्यार्थी भर्नाको १० प्रतिशत निशुल्क अनिवार्य पढाउनुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन कमजोर छ भन्ने  
सुनिन्छ ? 
 हामीले पनि नेपाल सरकारले शिक्षाको क्षेत्रमा तोकेका हरेक सकारात्मक नीति योजना र कार्यक्रमलाई शिरोधार्य गरिरहेका छौँ । अहिले पनि हामीले १० प्रतिशत भन्दा बढी विद्यार्थीलाई छात्रवृतिमा पढाइरहेका छौँ । यसलाई अझ बढावा दिने अभियानमा हामीहरु लागिरहेका छौँ । अनुमानको भरमा आरोप लगाउनु हुँदैन ।
 नमुना विद्यालय निर्माणका चरणहरु के के हुन् ? एक असल विद्यालय र शिक्षकमा हुनैपर्ने अनिवार्य विशेषता बताइदिनुस् । 
 हामीले केही विद्यालयलाई मात्रै नमुना बनाउने भन्दा पनि स्थापना भएका सबै विद्यालयहरुलाई नमुना बनाउन सक्नुपर्छ । त्यसका लागि अवश्य केही चरणहरु पूरा गर्नुपर्ने हुन्छ । मूलतः पर्याप्त भौतिक पूर्वाधारको निर्माण, पुस्तकालय र प्रयोगशालाहरुको व्यवस्था, दक्ष जनशक्तिको व्यवस्थापन र विद्यार्थी मैत्री शिक्षण सिकाइ क्रियाकलाप नमुना विद्यालयका आवश्यक शर्तहरु हुन् । त्यसका अतिरिक्त विद्यालयमा पर्याप्त खेलमैदान पनि आवश्यक पर्दछ । जुन विद्यालयसँग स्पष्ट अल्पकालिन र दिर्घकालिन दृष्टिकोण छ, पुग्नलाई गन्तव्य छ, यात्रा गर्ने चाहाना र अठोट छ, त्यो विद्यालय असल विद्यालय बन्नसक्छ र शिक्षकमा हुनैपर्ने विशेषताहरु
१. आदर्श र प्रेरणाको स्रोत
२. पठन संस्कर्ति भएको
३. समयसापेक्ष ढङ्गले चल्ने सरल स्वभाव भएको
४. विषयवस्तुमा दक्ष र सक्षम
५. रमाइलो वातावरणमा विद्यार्थीको मनोविज्ञानमा शिक्षण गर्ने आदि विशेषता हुनुपर्छ ।
     नेपाली माटो अनुकुलको श्रम र उत्पादनसँग जोडिएको व्यवहारिक शिक्षा पद्धति ल्याउन सम्भव होला ? यो कसरी प्राप्ति हुन्छ ? 
 शिक्षा श्रम र उत्पादनसँग जोडिएको व्यावहारिक र सीपमूलक हुनुपर्छ भन्ने कुरामा कुनै विवाद छैन । तर यसका लागि निजी क्षेत्रले मात्रै गर्न असम्भव छ । सबैभन्दा पहिले त राज्यले यस प्रकारको शिक्षा नीति निर्माण गर्नुपर्छ अनि त्यसलाई सरकारी मात्र नभएर संस्थागत सबै विद्यालयहरुमा पनि अनिवार्य लागू गर्ने नीति अगाडि सार्नुपर्छ । यसो गर्न सकेमा व्यावहारिक शिक्षाले मूर्त रुप लिनसक्छ । यसको अर्थ अहिलेसम्म यस प्रकारको शिक्षा दिइएको भन्ने छैन । नेपालमा विगत लामो समयदेखि श्रम र उत्पादनसँग जोडिएका कतिपय पाठ्यक्रम लागू पनि गरिएका छन् । यति हो कि यसलाई अझै व्यापक बनाएर र परिमार्जित गरेर लैजानुपर्छ । यसले मात्र नेपालको भविष्य निर्माण गर्न सम्भव छ ।
    तपाईंको विद्यालयले उत्पादन गरेको देशले गौरव गर्ने विद्यार्थीहरुको सुची छ ? कि यहाँबाट उत्पादित विद्यार्थी पनि युरोप र अमेरिकाको ग्रिनकार्ड र पिआरको होडबाजीमै व्यस्त छन् ? 
हामीले उत्पादन गरेका विद्यार्थीहरु नेपालको सबै क्षेत्रमा छन् । सयौं डाक्टर, इन्जिनियर उत्पादन भएका छन् । कुन विद्यार्थी कहाँ छ ? के गरिरहेको छ ? हामीसँग सूची छ । हामीलाई गौरवको अनुभुति भइरहेको छ । हामीले उत्पादन गरेका हजारौं विद्यार्थीहरु विभिन्न क्षेत्रमा कार्यरत छन र प्रगति गरिरहेका छन । सबै नेपालमा बस्ने वातावरण छैन । जागिर पाउन कठिन छ । १२ कक्षा पछि विदेश जाने विद्यार्थीको संख्या बढ्दो क्रममा छ ।
अनावश्यक धेरै किताब र अनावश्यक गृहकार्य विद्यार्थीको लागि बोझ बनिरहेको छ,  विज्ञान र प्रविधिले संसारमा यतिबिघ्न फड्को मार्दा पनि प्रकाशन गृहको पुस्तक कमिसनको लोभमा विद्यालयहरु अनावश्यक पुस्तकको भारी बोकाउन किन दौडिरहेका छन् ? 
विद्यार्थीहरुलाई पुस्तकको भारी बोकाउने रहर छैन । बाध्यता हो । अझै पनि हामी सबै विज्ञान र प्रविधिमा पछडि छौं । शहरमा केही विद्यालयमा सम्भव होला तर अधिकांश विद्यालयमा सम्भव छैन तर हामी विज्ञान र प्रविधिको युग अनुसार अगाडी बढ्नुको विकल्प छैन । 
असल शिक्षण सिकाई र विद्यालयको चुस्त प्रशासनिक संचालन कस्तो हो ? विद्यार्थीलाई नैतिक चरित्रवान बनाउँदै उसको सहज जीवनयापनसँग दिर्घकालिन रुपले शिक्षालाई कसरी जोड्न सकिन्छ ?
 विद्यार्थी केन्द्रीत शिक्षण विधि प्रयोग गरेर असल शिक्षण सिकाई गर्न सकिन्छ । जबसम्म विद्यार्थी सिक्नको लागि मानसिक रुपमा तयार हुँदैन, विद्यार्थीले सिक्दैन । सिकाइको लागि विद्यार्थी खुशी हुनुपर्छ र विद्यार्थी सृजनशील हुनुपर्छ । विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप राम्रो बनाउनको लागि हरेक विभागले आफ्नो काम इमान्दारितासँग गर्नुपर्छ । कुनै पनि अवरोधविना सिकाइका हरेका कामहरु अगाडी बढ्नुपर्छ ।  शिक्षालाई बोझको रुपमा नलिएर दैनिक जीवनसँग जोडेर व्यवहारिक रुपमा पढाउन सकियो भने विद्यार्थीलाई सोचे भन्दा राम्रो बनाउन सकिन्छ ।
 पेशागत ज्ञानको अनुभवसँगै शैक्षिक धरोहर गोरखा स्कुलका सबै शाखाहरुको इतिहास तथा समग्र शैक्षिक पृष्ठभूमी कस्तो रहेको छ ?
गोरखा इन्टरनेशनल पब्लिक सेकन्डरी स्कूल घोराही २०५५ सालमा बेलायत, सिंगापुर तथा भारतमा कार्यरत तथा भूतपूर्व सेनाहरुको समूह मिलेर स्थापना गरिएको हो । जागिरको सिलसिलामा विश्वका विभिन्न ठाउँहरुमा गएर बटुलेको अनुभव र आफुले पढ्न नपाए पनि आफ्ना सन्ततिहरुलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने उदेश्यले विद्यालयको स्थापना भएको थियो । वि.सं. २०६१ सालदेखि निजि क्षेत्रमै दाङ जिल्लामा पहिलो +२ (विज्ञान संकाय) स्थापना गरि गुणस्तरीय शिक्षा प्रदान गरी कक्षा १० पछि विद्यार्थी काठमान्डौ जाने परम्परालाई केहि हदसम्म रोक्न सफल भएका छौं । घोराहीमा हाम्रो स्कूलले विद्यार्थी र अभिभावकको विश्वास प्राप्त गरि गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोले अभिभावकको माग अनुसार तुलसीपुरमा गोरखा माध्यमिक विद्यालय, लमहीमा गोरखा मोडेल सेकेन्डरी स्कुल र लालमटियामा गोरखा आइडियल स्कूल स्थापना गरि सञ्चालनमा आएका छन् । त्यसै गरी भिक्टोरिया इन्टरनेशनल कलेज घोराही, गोरखा मोडेल कलेज तुल्सीपुर र स्वर्णिम कलेज लमही पनि सञ्चालनमा छन् ।
 महंगो शैक्षिक शुल्क व्यवस्थापन र संस्कारयुक्त शिक्षण सिकाइको विषयमा संस्थागत विद्यालयका फोरमहरुको किन जमेर छलफल नभएको होला ? के बोर्डिङहरुमा निमुखा विद्यार्थीले पठनपाठन गर्नै नपाउने होत ? 
राम्रोसँग नबुझेर संस्थागत विद्यालयमा शुल्क महँगो छ भन्ने आरोप लगाउनु अन्याय हुन्छ । धेरै विद्यालयलाई नाफा भन्दा पनि कर्मचारी तलब, प्रशासनिक खर्च र अन्य विविध खर्च व्यवस्थापन गर्न पनि कठिन भइरहेको छ । सरकारी बजेबाट चलेका सामुदायिक विद्यालय चलाउन त कठिन छ भने अभिभावकबाट उठाएको शुल्कले विद्यालय चलाउन कति कठिन होला ? आय श्रोत नै अभिभावक हो । हामीलाई नकारात्मक दृिष्टले हेर्न भएन । संस्थागत विद्यालयहरुको योगदानलाई सम्मान गर्नुप¥यो । हामीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुलाई पनि पढाइरहेका छौ, यसको दायरा थप बढ्दै पनि जानेछ ।
 गोरखा विजनेस ग्रुपले गरेका सामाजिक योगदानका उदाहरण केही छन् कि, यस संस्थाका आगामी कार्यक्रमहरु के–के छन्, तपाईंहरुको लगानी शिक्षा अलावा अरु कुनकुन क्षेत्रमा छ ? 
गोरखा विजनेस ग्रुप होइन गोरखा ग्रुप हो । हामीले विशेष गरेर शिक्षा र स्वस्थ्य क्षेत्रमा सेवा गरिरहेका छाँै । यो पनि सामाजिक सेवा नै हो । हामीले बाढी पिडित, आगलागी पिडित, भुकम्प पिडित र कोरोना पिडितको लागि सहयोग गरेका थियौँ। अन्य संघ संस्थाहरुसँग मिलेर विभिन्न खालका सामाजिक कार्य पनि गरेका छौँ । आगामी दिनमा हामी कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने सोच बनाएका छौ । मानसिंह घर्ती गोरखा इन्टरनेश्नल पब्लिक सेकेण्डरी स्कुल घोराही दाङका प्रिन्सीपल हुन् 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation