नेपालको राजनीतिमा रवि लामिछानेको पार्टीको उदयसँगै विभिन्न कोणबाट वहस, टिका–टिप्पणी र विश्लेषण भइरहेको छन् । गतवर्षको चुनाव÷उप–चुनाव पनि अन्य चुनावभन्दा धेरै पृथक र रोचक रह्यो । रोचक बन्नुको कारण रास्वपा र रवि–स्वर्णिम पात्र विशेष हुन् । किनकि रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री र संसद पद एकैपटक गुमाएर फेरि पहिल्यैको निर्वाचन क्षेत्र चितवनबाट जीत निकाले भने स्वर्णिम वाग्ले १५ दिन पहिले कांग्रेसबाट विद्रोह गरेर कांग्रेसकै ४८ सालदेखिको किल्ला तोडिदिए ।
अब यसलाई द्वन्द्वात्मक कोणबाट हेर्ने हो भने मात्र सहि हुन्छ । पहिलो कुरा कुनैपनी वस्तु जस्तो छ त्यही रूपमा मात्र केलाउने हो भने अपुर्ण हुन्छ । वस्तुको सतह हेरेर गहिराई पत्ता लगाउन सकिदैन । दोस्रो कुरा, वस्तुको अरु पक्षसँग सम्बन्ध के छ भनेर पत्ता लगाउनुपर्छ अनि मात्र त्यसको पुर्णता थाहा हुन्छ । रविको रुप सक्कली हो कि नक्कली भन्ने सहि पत्ता लगाउन उनी अमेरिका बस्दा र मिडियामा काम गर्दा के–के गरे त्यता नजाउँ । उनी पहिलोपटक चुनावमा सहभागी हुँदा “नो नट अगेन” भनेर मतदाता आकर्षण गरेर संसद भवन प्रवेश गरे तर सिंहदरबार प्रवेश गर्न जनमतको दुरुपयोग गर्दै “कम अगेन कम” भनेर आफ्नो कुर्सीको बार्गेनिङ गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री पनि भए तर पुनः नेपाली नागरिकता नलिएको तथा दोहोरो राहदानी प्रयोग गरेको कारण सर्वोच्चले ३२ दिनमै सबै पदबाट मुक्त गरिदियो ।
नाच्न नजान्ने आँगन टेडो भन्ने नेपाली उखानमा जस्तै सबै दोष कुनै बेला आफैले भात खाएको थाल ठुला मिडियालाई लगाएर पानी माथिको ओभानो बने । उनले कमजोरी नगरेको भए त्यतिकै कसरी मिडियाले लेख्ने थियो र ? बिना प्रमाण अदालतले पनि त्यस्तो फैसला गर्ने थिएन । अन्य साधारण मानिस भएको भए पद मात्र जाने होइन मान्छे पनि जेल जाने थियो ।
त्यसपछि उनले गुमेको कुर्सी प्राप्त गर्नका लागि दबाब दिन आफ्ना मन्त्रीहरू फिर्ता गरे । आफ्नो ठाउँमा पार्टीको अन्य व्यक्ति सरकारमा पठाएको भए उदारता र नैतिकताको उचाई बढ्ने थियो । आफू सांसद नै नभएको बेला म नै मन्त्री बन्नुपर्छ भनेर रोईकराई गरेर व्यक्तिवादी प्रवृत्ति देखाए । राजनीतिक कार्यदिशाको स्पष्ट विकास गर्न नसकेका रविको आगामी दिनहरूमा उनको यो अहङकारर व्यक्तिवादी प्रवृत्ति झनझन् बढ्ने देखिन्छ । प्रधानमन्त्री बनाउने प्रस्ताव आउने हो भने उनि लेन्डुप वा जेलिस्की जे पनि बन्न तयार हुनेछन् ।
रास्वपाले “हामी नयाँ होऔं” भनिरहेको छ । उमेरमा नयाँ भन्ने हो भने पनि रवि ४८ वर्ष भइसके, जबकि बाराक ओवामा त ४५ वर्षमा अमेरिकी कार्यकारी रास्ट्रपति भएका हुन् । किम जोङ २८ वर्षको उम्मेरमा रास्ट्रपति भएर संसारकै कान्छो रास्ट्रपतिको रेकर्ड बनाए । जो अहिले पनि उत्तर कोरियाको बहालवाला रास्ट्रपति हुन् । उमेरमा पनि ४८ वर्ष भएका मानिसलाई नयाँ भन्न सकिदैन । अनि पहिलो पटक चुनाव लडेको भएपनि नयाँ भन्ने हो उनी त दोस्रोपटक चुनाव लडिसके । त्यसरी पनि नयाँ भन्न मिल्दैन । अर्को कुरा विश्वदृष्टिकोण होस् या दर्शनमा, रणनीतिमा होस् या कार्यनीतिमा, कार्यदिशा होस् या कार्यक्रममा, नेतृत्व प्रणालीमा होस् या संगठनमा, राजनीति होस् या संस्कृतमा पार्टीको जस्तो ठोस कार्यक्रम नै छैन । झन् नयाँ त भन्नै मिलेन किनकि उनको पार्टीको कुन जिनियस हो थाहा नै छैन ।
ग्यालो फाउन्डेसनको रिसर्च अनुसार अरुलाई गाली गर्ने र नराम्रो भन्नेमा नेपाल विश्वको छैटौं नम्बरमा पर्छ । नेपालको कुन पार्टी अरुलाई गाली र नराम्रो भन्नेमा एक नम्बरमा आउछ भनेर रिसर्च गर्ने हो भने रास्वपाको नेतृत्व र कार्यकर्ता पर्छन् होला । यही गाली र नराम्रो भन्दै भिड जम्मा गर्ने प्रवृत्तिलाई नयाँ संस्कृति भन्न त पक्कै मिल्दैन । नेगेटिभ क्यामपेन गर्नेलाई नयाँ संगठनात्मक पदती भन्न मिल्दैन ।
एउटा अर्को भ्रम “हामी भ्रष्टाचार नियन्त्रण गर्छौ” भनेर रवि भन्छन् । आजसम्म हामी भ्रष्टाचार गर्छौं भनेर कुनै पार्टी र कुनै व्यक्तिले कहिँ कतै भनेको छैन । आफ्नै बारेमा पारदर्शी नभएको पार्टीले देश पारदर्शी बनाउन सक्छ भन्ने विश्वास गर्न सकिदैन । रवि गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न कानुन मिचेर ७ दिने वोलपत्र गरि एउटा मात्र प्रतिस्पर्धी बनाई ठेक्का दिएर गृहमन्त्री हुँदा ठुलो नितिगत भ्रष्टाचार गरेर रविले आफ्नो असली रुप देखाएका छन् । “इमानदार त्यो हो जो अवसर नपाउँदा होइन अवसर पाउँदा इमानदार हुन्छ” भनेर वामपन्थी नेता रुपचन्द्र विष्टले भनेकै जस्तो रवि अवसर नपाउँदा मात्र इमान्दार हुन् । अवसर पाउँदा इमान्दार छैनन् भन्ने कुरा ३२ दिन गृहमन्त्री हुँदा गरेको एउटै उदाहरण कानुन मिचेर रातारात दिएको परिचयपत्र ठेक्का काण्डले पुष्टि हुन्छ । जुन ठेक्का नयाँ गृहमन्त्री नारायण काजी श्रेष्ठ आएपछि खारेजी गरिदिएका छन् भने अख्तियारमा पनि फाइल खडा भएको छ ।
एमसिसी धर्मनिरपेक्षता र संघीयता जस्ता महत्त्वपूर्ण विषयमा रास्वपाको आधिकारिक कुनै धारणा देखिएको छैन । यो भित्र ठुलो रहस्य लुकेको छ । ब्रह्माण्डमा नदेखिने बल्याकहोल (कालो छिद्र) छ भन्ने पत्ता लगाउदा वैज्ञानिकहरुले जुन ठाउँमा आकाशीय पिण्डहरु झुम्म गरेर घेरिएको छ त्यो ब्ल्याक होल हो भन्ने निश्चित गरे । त्यस्तै गरि रास्वपामा पनि एमसिसिको पक्षमा सबैभन्दा बढी बोल्ने स्वर्णिम वाग्लेहरुको आकर्षणले देखाउछ कि रास्वपा एमसिसीको पक्षमा छ ।
सुशासन र दण्डहीनताको विषयमा प्रष्ट रोडम्याप देखिँदैन । उनी गृहमन्त्री हुँदा एमाले फरार संसद लक्ष्मी कुइरी आफुसँगै एउटै हलमा एउटै लाईनमा बस्दा गिरफ्तार नगर्ने । समात्न विज्ञप्ति निकालेर यता फरारलाई सुरक्षित गर्ने उता नागरिकलाई भ्रमित बनाए । भारतीय प्रहरीले गिरफ्तार गरेको कुइरीलाई नेपाल ल्याउन पहल गर्ने नेपाल प्रहरीले गरेको अनुरोधलाई नसुनेको जस्तो गरेका थिए । दोस्रोपटक निर्वाचित भएर संसद प्रवेश गरेको पहिलो दिन संसदमा बोल्दै “म गृहमन्त्री भएको बेला कुइरी भारतमा गिरफ्तार परेको प्रमाण छ भन्दै मोबाइलमा फोटो देखाए ।” अनि जग हँसाए । कागले आफ्नो नाम आफै भने जस्तै आफ्नो चरीत्र आफै बताए । सवाल के हो भने उनी दोहोरो भुमिका गर्छन् ।
जतिबेला रास्वपा सरकारमा सहभागी र समर्थन नगरे पनि सरकार बन्ने राजनीतिक स्थिरता हुने स्थिति थियो त्यहीबेला बाहिर स्थिरताका लागि समर्थन गरेको भने पनि आन्तरिक रूपमा कुर्सी पाउन र नागरिताको मुद्दाबाट उन्मुक्ति पाउन थियो । अहिले सरकारले भ्रष्टाचार लगायतका विषयमा बोल्ने मात्र होइन देखिने गरि काम गरिरहेको बेला सरकारलाई दिएको समर्थन रातारात फिर्ता लिनुको भित्रि कारण सरकार असफल बनाएर भ्रष्टाचारी बचाउने निहित देखिन्छ । अर्को कुरा राहदानीको मुद्दा दर्ता नमिल्ने बनाईसक्यो र कुर्सी नपाएपछि समर्थन फिर्ता लिएको देखिन्छ ।
सर्वहारा वर्गको प्रतिनिधिले दलाल पूँजीपती वर्गको प्रतिनिधिको रूपमा काम गरेको अनगिन्ती दृष्टान्त छन् तर पुँजीपती वर्गको प्रतिनिधिले सर्वहारा वर्गको प्रतिनिधिको रूपमा काम गरेको मैले थाहा पाएको छैन । रास्वपामा ७५ प्रतिशत स्वर्णिम वाग्ले जस्ता देशकै महंगो निजि स्कुलमा पढेलेखेका, सुख शयलमा हुर्केका र पुँजीपती संस्कार पाएका व्यक्तिहरु छन् । उनीहरुले झुपडीका मान्छेहरूको, भुइँमान्छेहरुको बारेमा पढेका होलान् तर आफै भोगेका छैनन् । गरिबी अभाव र संकट झेलेको जनताका बारेमा उनीहरुले केहि गर्न सक्ने छैनन् ।
सुचना प्रविधि र वैदेशिक रोजगारीले गर्दा निम्नवर्ग अहिले मध्यमवर्गमा परिणत भएपनि नेपालमा निम्न वर्गको नै वाहुल्यता छ । शहर केन्द्रित हुनेहरुको संख्या बढेपनि ५९ प्रतिशत मानिसहरू गाउँमा नै छन् । मध्यमवर्ग अत्यन्तै अवसरवादी हुन्छ । सधैं बलियो, स्थिर र राष्ट्रवादी देखिने शक्तिको खोजीमा हुन्छ । त्यो वर्गले केही हदसम्म रास्वपालाई मानेको हो। काँग्रेसमा रहेका मनिष झा, स्वर्णिम वाग्ले जस्ता व्यक्तिहरु आफ्नो पार्टीमा तान्ने क्षमता रविले देखाए तर उनीहरुलाई कसरी टिकाउने हेर्न बाँकी नै छ । कांग्रेस–एमाले, माओवादी जस्तो लामो विरासत बोकेका पार्टीहरुले बोकेका डाइमन्डलाई ढुंगा बनाउन खोज्ने हो भने ती पार्टीहरु डाइनोसर बन्ने दिन आउन सक्छ । बचाउन हरेक पार्टीमा नयाँ पुस्ता अगाडी बढाउनुपर्छ भन्ने एउटा निचोड हो भने अर्को बढिरहेको मध्यमवर्गको संख्या र उनीहरुको नयाँ प्रवृत्तिलाई विचारसँग जोडेर लैजान सक्नुपर्छ ।
अन्त्यमा, लेण्डुपको उदय, हिटलरको उदय, जेलेन्स्कीको उदय र नेपालमा जंगबहादुरको उदय नयाँ प्रति आकर्षणको जगबाट उदाएका फासिवादी शक्ति थिए । अहिले नेपालमा उदाएको शक्ति पनि नयाँ भेरिएन्टको फासिवादी शक्ति हुनसक्छ ।