बझाङ भुकम्पपीडितलाई बासको चिन्ता

बझाङको थलरा गाउँपालिका– ३ कुचगाउँकी जगु नेपाली त्रिपालमुनि बस्न थालेको चार दिन भइसक्यो । १६ असोजमा गएको ६.३ रेक्टर स्केलको भूकम्पले घर भत्काएपछि नेपालीको वास खेतमा लगाएको त्रिपालमुनि छ । ‘भूकम्पले घर ध्वस्त बनाइदियो,’ उनले भनिन्, ‘मेरो त जग्गा पनि छैन । अर्काको जग्गामा गाउँलेले त्रिपाल हालेका छन् । सोही त्रिपालमुनि रात कटाइरहेकी छु ।’ खानेभन्दा पनि कहाँ बस्ने भन्ने चिन्ता बढी भएको उनले बताइन् ।

कुचगाउँकै पालु विकको घर पनि भूकम्पले भत्काएको छ । ‘सरकारले नै बनाइदिएको (मुक्त हलियामार्फत) एक घर थियो, त्यो पनि भूकम्पले लग्यो,’ उनले भनिन्, ‘जसोतसो ज्यान त जोगियो, अब बस्ने कहाँ ? भन्ने चिन्ता छ ।’ सरकारले राहतका नाममा खाद्यान्न दिनुभन्दा पनि बसोवासको व्यवस्था गरिदिनुपर्ने माग विकको छ ।

 

सेती नदीलाई समानान्तर पारेर बनाएको जयपृथ्वी राजमार्गको पारिपट्टि पर्छ कुचगाउँ । १६ असोजको भूकम्पले गाउँ नै ध्वस्त बनाइदिएको छ । अहिले गाउँलेहरू खेतमा लगाइएको एउटै त्रिपालमुनि रात काटिरहेका छन् । जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिका– १० की राधा बादीको घर पनि भूकम्पले भत्काएको छ । १६ असोजदेखि उनको वास पनि घरनजिकैको त्रिपालमुनि भएको छ । ‘बस्न पनि छैन, खान पनि केही छैन,’ बादीले भनिन्, ‘सरकारले बसोवासको व्यवस्था तत्काल गरिदिनुपर्‍यो ।’ जयपृथ्वीकै गणेश बोहराले पनि भूकम्पका कारण दैनिकी कष्टकर बनेको दुःखेसो पोखे । ‘घर भत्किएर ध्वस्त नै त भएको छैन,’ उनले प्रश्न गरे, ‘तर चिराचिरा परेर बस्न निकै असुरक्षित भएको छ । यस्तो घरमा कसरी बस्ने ?’ उनका अनुसार दिउँसोको समयमा भूकम्प जाँदा धेरै मानवीय क्षति नभएको हो । ‘यही भूकम्प राति गएको भए धेरै मानवीय क्षति हुने थियो,’ उनले भने ।

१६ असोजको भूकम्पपछि पनि निरन्तर रूपमा परकम्प गइरहेका कारण बझाङवासी थप पीडित भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । १६ गतेको भूकम्पले ठूलो भौतिक क्षति भएको र परकम्पले थप क्षति गरिहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए । ‘भूकम्पका कारण भएको क्षतिको विवरण संकलन गरिरहेका छौँ,’ उनले भने, ‘यकिन विवरण आउन अझै समय लाग्छ । तर, अधिकांश घर बस्नका लागि असुरक्षित भएका छन् । त्यसैमा परकम्पले झन् त्रसित बनाइरहेको छ ।’

डिएसपी शाहका अनुसार शनिबारदेखि राहत वितरणको कार्यक्रम सुरु भएको छ । ‘हामीलाई विभिन्न तहका सरकार र अन्य निकायबाट प्राप्त भएको राहत सामग्री स्थानीय तहलाई प्रदान गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहले प्राथमिकताका आधारमा राहत सामग्री वितरण गर्नेछन् ।’ भूकम्पका कारण बझाङमा धेरै क्षति भएकाले तीन तहकै सरकार मिलेर काम गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताए । ‘सुरुमा प्राविधिक टोली खटाएर कुन घर बस्न मिल्ने र कुन नमिल्ने भनेर छुट्याउछौँ,’ उनले भने, ‘त्यसपछि द्रुतगतिमा पुनर्निर्माणको कार्य हुन्छ । तीन तहकै सरकार मिलेर अगाडि बढ्छौँ ।’ उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूको उपचार प्रदेश सरकारले गरेको छ भने राहत वितरण कार्य स्थानीय तहमार्फत सुरु गरिएको छ । ‘भूकम्पले सबैभन्दा बढी भौतिक क्षति गरेकाले सोहीतर्फ हाम्रो ध्यान जान पनि आवश्यक छ,’ उनले भने, ‘पीडितको बसोवासको व्यवस्था गर्ने जिम्मा सरकारको हो । यसमा ढिलाइ हुँदैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङमा भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप १५ देखि २० हजार प्रदान गरिने बझाङ पुगेरै प्रचण्डले बताएका थिए । भूकम्पबाट एकजनाको मृत्यु भएको छ भने सुदूरपश्चिममा २९ जना घाइते भएका थिए । त्यस्तै, प्रदेशका सात जिल्लामा एक हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation