आलोचनात्मक चेतको अभावमा समाज “कोल्ह्याप्स” को दिशामा

मिलन पाण्डे

अनुसन्धानकर्ता जेस्से प्रिन्ज र एन्जेलिका सेडेलले ले सन् २०१२ को सुरुवातमा वरिपरिको वातावरणले हाम्रो सोचमा पार्ने प्रभावबारे एउटा अनुसन्धान गरे । केही व्यक्तिलाई खुसी र रमाइलो संगीत सुनाएर राखियो, केहीलाई त्यतिकै राखियो । केहीलाई भने डर पैदा गर्ने संगीत सुनाइयो । त्यसपछि उनीहरूलाई घुमाएर राखिएको डोरी देखाइयो । खुसी र सामान्य वातावरणमा रहेका अधिकांशले डोरीलाई डोरी नै देखे । तर, डरको वातावरणमा राखिएका अधिकांशले भने डोरीलाई सर्प देखे र डराए । अनुसन्धानकर्ताद्वयको निष्कर्ष थियो– हाम्रो वरिपरिको वातावरणले हामीले देख्ने र सोच्ने कुरामा प्रभाव पार्छ ।

समाज कता जाँदै छ ? : केही महिनाअघि प्रधानमन्त्री केपी ओलीको एउटा कविता सामाजिक सञ्जालमा प्रेषित भएपछि त्यो कविता अर्कै व्यक्तिको हो भनेर पुरानो मितिसहितको फेसबुक पोस्टको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । प्रधानमन्त्रीले कविता चोरेको भनेर मजाक उडाउन थालियो । तर, उक्त कविता पुरानो स्ट्याटस सम्पादन गरेको पत्ता लाग्यो । मलाई अचम्म लागेको– ‘हामीले प्रधानमन्त्रीले कसैले फेसबुकमा लेखिसकेको कविता चोरेर मेरो हो भनेर त भन्दैनन् होला नि’ भन्ने सामान्य विवेक पनि प्रयोग गरेनौँ । स्क्रिन सटमा पुरानो मिति देख्नेबित्तिकै जाइलागिहाल्यौँ । हामीलाई कुनै व्यक्ति मन नपर्न सक्छ, तर उसको चरित्रहत्या गर्न त मिल्दैन नि । सबै प्रमाण सही हुँदैनन् वा हामीले देखेकै सही नहुन पनि सक्छ भनेर हामी सोच्दैनौँ । 

अर्को एउटा उदाहरणले मलाई थप पीडा दियो । एकजना नायिकाको भनाइ उद्धृत गर्दै एउटा अनलाइनको शीर्षक थियो, ‘मेरो रेट ५ मिनेटको ३ लाख हो तिर्न सक्ने कोही छ भने आऊ ।’ समाचारभित्रको भिडियो अन्तर्वार्तामा नायिकाले स्टेजमा प्रस्तुति दिएको त्यति पैसा लिन्छु भनेर भनेकी थिइन्, अनलाइनले अर्कै अर्थ लाग्ने गरी शीर्षक बनायो । अन्तर्वार्तामा आएका कमेन्ट हेरिनसक्नु छाडा थिए । गालीको त वर्षा गरिएको थियो । मतलब, खासमा नायिकाले भन्न खोजेको बुझ्न भिडियो हेर्न कसैलाई फुर्सद थिएन, गाली बर्साउन हतार थियो । शीर्षक भ्रामक राखेर कसैको चरित्रहत्या गर्न पाइन्छ ? अनि सामग्री नै नहेरी मुख छाड्न ? हामी जे पनि लेख्न थाल्यौँ । जे पनि बोल्न थाल्यौँ । जेमा पनि होमा हो मिलाएर नारा लगाउन थाल्यौँ । हामी ‘कोरोना भाइरस खारेज गर’ भनेर नारा लाग्दासमेत केही नसोची, ‘खारेज गर, खारेज गर’ भनेर नारा लगाउने भुत्ते भइसकेका छौँ । हामी त सामान्य विवेकसमेत नभएको मानव बनिसक्यौँ । आलोचनात्मक चेत विकासको कुरा त टाढाको हो । हाम्रो आलोचनात्मक चेत गाली गर्नेमा गिरेको छ । नकारात्मक हुनु नै आलोचनात्मक चेत हुनु हो भन्ने सोच समाजमा भाइरल भएको छ । फत्तुर लगाएर अरूको चरित्रहत्या गर्नु त हाम्रो दिनचर्या बनेको छ । आरोप लगाउन प्रमाण चाहिँदैन । कसैलाई दानवीकरण गर्नु त कसैलाई देवत्वकरण गर्नु हाम्रो नियमित टाइमपास गर्ने धन्दा बनेको छ । हामी प्रत्येक तीन दिनमा एउटा नयाँ मुद्दामा बहस गर्छौं, देश हल्लाउँछौँ अनि त्यसलाई छाडेर फेरि अर्को मुद्दामा प्रवेश गर्छौं । हामी सामाजिक रूपमा नै ‘भ्रष्टीकरण र फ्रस्टीकरण’को सिकार बन्दै छौँ ।

जब अरूले गरेको तर्कको तार्किक खण्डन गर्न सकिँदैन, तब तर्कको सट्टा व्यक्तिगत आरोप लगाउने प्रवृत्तिकै कारण बहस ओझेलमा पर्छ । आलोचनात्मक चेत गुमेको समाजको ठूलो समस्या यही हो । यो मान्छेको नैतिकता नै छैन भनेपछि अब के तर्क गर्नुपर्‍यो र ! 

हामीलाई ‘कन्सपिरेसी थियरी’ रोचक लाग्छ । बालुवाटारको कोठामा के कुरा भयो, कुन नेताले के भने आँखाअगाडि नै देखेझैँ गरी चौतारीमा गफ दिन्छौँ । ट्रम्पले के भने पनि हामीलाई थाहा छ । हामी रचिएका कथाहरूमा विश्वास गर्छौं, अनि आफ्नो आलोचनात्मक चेतलाई बन्धक बनाउँछौँ । झन् अहिले त प्रतिस्पर्धाले होला, समाचार पनि भ्रामक आउन थालेका छन् । छिटो पुग्ने नाउँमा हामी गलत बाटो हिँड्दै छौँ । सहीलाई सही र गलतलाई गलत भन्न हामीलाई रोकिरहेको छ । यो रोक र यी सोच नै समाजको प्रगतिको बाधक बन्दै छ ।

भ्रमको खेती : एउटै झुटलाई दसचोटि दोहोर्‍याएपछि सत्यको रूपमा स्थापित गर्न सकिन्छ भन्ने सिद्धान्तबाट हाम्रो राजनीति र समाज ग्रसित छ । त्यसैले साइबर सेना नै खडा गरेर होस् वा आ–आफ्नो अनलाइन खोलेर होस्, आफ्नो कुरा स्थापित गर्न शक्ति र स्रोतमा पहुँच भएकाहरू लागिपरेका छन् । समाजमा आलोचनात्मक चेतको विकास नहुँदा आमनागरिक भ्रममा बाँच्नुपरेको छ । नागरिकमा पनि आलोचनात्मक चेत नहुँदा समाज भ्रमको खेती र केही व्यक्तिको षड्यन्त्रको प्रयोगशाला बनेको छ ।

तार्किक भुलभुलैया : हामी अधिकांश समय कुतर्क वा असम्बन्धित तर्क प्रस्तुत गर्छौं र त्यसमै रमाउँछौँ । तथ्य र सत्यलाई तोडमोड गरेर आफ्नो पक्षमा बोलिरहेका हुन्छौँ । झन् यस्ता तर्कहरू वक्ताले पूर्ण विश्वासका साथ बोल्दा त्यो नै सत्य हो कि भन्ने भ्रम पैदा हुने गर्छ । केही दिनअघि मेरो बुबाले मलाई धेरै फोन गरेकाले मेरो कपाल छिटो झरेको भनेर गाली गर्नुभयो । उहाँले विज्ञानको वा अनुसन्धानको आधारमा हैन कि मैले धेरै फोन गर्ने तथ्य र मेरो कपाल झर्दै गरेको तथ्यलाई मिलाएर तार्किक भुलभुलैया निर्माण गर्नुभएको थियो । मैले जुन दिन छाता ल्याउन बिर्सिन्छु, त्यही दिन पानी पर्छ । छाता नल्याउनु र पानी पर्नुको सम्बन्ध छ र ? तर, हामी यी वास्तविक घटनालाई जोडेर नया“ तर्क निर्माण गर्न खप्पिस छौँ । 

आइडियाभन्दा व्यक्तिमाथि हमला गर्ने प्रवृत्ति हाम्रो समाजको अर्को मूल समस्या बन्दै छ । जब अरूले गरेको तर्कको तार्किक खण्डन गर्न सकिँदैन, तब तर्कको सट्टा व्यक्तिगत आरोप लगाउने प्रवृत्तिकै कारण बहस ओझेलमा पर्छ । आलोचनात्मक चेत गुमेको समाजको ठूलो समस्या यही हो । यो मान्छेको नैतिकता नै छैन भनेपछि अब के तर्क गर्नुपर्‍यो र ! कसैको तर्क काट्न नसक्दा यो फटाहा हो वा विदेशी दलाल हो वा यसको यो विषयमा ठूलो स्वार्थ छ भनेर आरोप लगाएर आफू ठूलो पल्टेर पन्छिने हाम्रो व्यवहार हाम्रो संस्कार बन्दै छ ।

हाम्रो समाजको अर्को एउटा समस्या हिपोक्रेसी वा पाखण्डपन हो । पढालिखामा यो समस्या अझ धेरै छ । दिनभरि मदिरा खानुहुन्न भनेर प्रवचन दियो, साँझ परेपछि ‘सूर्यास्त नेपाल मस्त’ भन्दै भट्टीमा फिट्टुु हुने गरी मदिरा घुट्क्यायो वा फोहोर बाटोमा फाल्नुहुन्न भनेर विद्यार्थीलाई पढाउने तर कसैले नदेख्दा फोहोर बाटोमै फाल्ने प्रवृत्तिले पनि हाम्रो आलोचनात्मक चेतलाई बन्धक बनाएको छ । विषयको सामान्यीकरण हाम्रो अर्को समस्या हो । हामी सबै नेता अनपढ छन् भनेर सोच्छौँ । सबै धनीले शोषण गरेको छ भनेर धारणा बनाउँछौँ । वास्तवमा सांसद वा नेताहरूको शैक्षिक योग्यता हेर्ने हो भने शैक्षिक योग्यता औसतभन्दा माथि छ । एकजना नेता ८ कक्षा फेल भनेर सबै नेता अयोग्य हुन्छन् र ? सबै धनी शोषणकै जगमा धनी बनेका हुँदैनन्, दिनरात जीवन समर्पण गरेर पैसा कमाएका पनि हुन्छन् । के हामी उनीहरूको मिहिनेतलाई सम्मान गर्न तयार छौँ ? आलोचनात्मक चेतको आवश्यकता यहाँ छ । हाम्रा कतिपय आमधारणामा आफैँलाई प्रश्न गर्न जरुरी छ । सबै नेता चोर नै हुन् भन्ने धारणा गलत हो । केही धारणा यसरी गाडिएका हुन्छन् कि तिनलाई बदल्न सजिलो छैन, तर बदल्नुको विकल्प पनि त छैन । हो, आलोचनात्मक चेतको आवश्यकता यहीँ छ ।

मलाई अहिले दुइटा कुरासँग झन् डर लाग्न थालेको छ । पहिलो अन्धभक्ति– मेरो नेताले भन्यो, त्यही भएर यो कुरा सही हो । आलोचनात्मक चेत वा अझ ‘कमन सेन्स’को अभावमा कार्यकर्ताले नेताको तर्कमा प्रश्न गर्ने हिम्मत जुटाउन सक्दैनन् । यो राजनीतिमा मात्र होइन, हाम्रो समाजमा पनि व्याप्त छ । भगवान्ले भनेको छ भनेपछि के तर्क गर्ने, कसरी तर्क गर्ने ? ठूलो मान्छेले भनेको कुरामा कसरी प्रश्न उठाउन मिल्छ र भन्ने सोच समाजमा व्याप्त छ । दोस्रो– यो डिजिटल युगमा बढी सूचना दिएर भ्रमको खेती गरी सत्यको हत्या गरिँदै छ । अहिले आएका सामाजिक सञ्जाल र अनलाइनले हामीलाई यति सूचना दिन्छन् कि हामी सही वा गलत छुट्याउन असमर्थ छौँ । अझ हामीले त जे मन लाग्यो, त्यो बोल्नु नै लोकतन्त्र हो भनेर बुझेका छौँ । अनुशासनहीनता नै स्वतन्त्रता भनेर बुझेका छौँ । बहसमा असहमत हुनुलाई अपमानको रूपमा लिने सामन्ती सोचले हामी ग्रसित छौँ । यस्ता प्रवृत्तिले हाम्रो आलोचनात्मक चेतलाई बन्धक बनाउने प्रयत्न गरिरहेका छन् ।

आलोचनात्मक चेतको विकास : ‘वादे वादे जायते तत्वबोध’ अर्थात् हरेक विषयमा निरन्तर छलफल गर्दै जाने क्रमले नै तत्वको बोध गराउँछ । तर, हाम्रो समाज बहस रुचाउँदैन । हाम्रा नेताहरू छलफलबाट भाग्न चाहन्छन् । छलफल गर्नु, अरूको मत सुन्नु समयको बर्बादी हो वा आफ्नो कद घटेको हो भनेर सोच्छन् । यो हाम्रो नेतृत्व अनि समाजको ठूलो समस्या हो । हामीले आलोचनात्मक चेत राख्नु नकारात्मक हुनु बुझ्यौँ । आलोचनात्मक चेतको विकास गर्नु भनेको त कुनै पनि विचार, घटना वा परिस्थितिलाई पूर्वाग्रह नराखी तथ्य र वास्तविकताको धरातलमा विश्लेषण गर्नु हो । समाज अगाडि बढ्ने भनेकै निरन्तरको सुधार र बहसले हो । त्यसका निम्ति आलोचनात्मक चेतको विकास जरुरी छ । आलोचनात्मक चेतको विकासका निम्ति विचार, उत्पन्न घटनाक्रम र परिस्थितिमा निम्न काम गर्न सकिन्छ:

१) प्रश्न गरौँ : पाब्लो पिकासोको एउटा भनाइ छ– कम्प्युटरको काम छैन, किनकि त्यसले उत्तर मात्र दिन्छ । स्याउ कसरी खस्यो वा आकाश नीलो किन छ भन्ने प्रश्न यदि नसोधिएको भए आज विज्ञान यहाँसम्म पुग्दैनथ्यो । अर्जुनले कृष्णलाई प्रश्न सोध्दैनथे भने गीता लेखिँदैनथ्यो । प्रश्न समाधान अनि प्रगतिका निम्ति हो भनेर हामीले बुझ्न जरुरी छ । त्यसैले त डाक्टरले प्रश्न सोध्छन्, शिक्षकले प्रश्न सोध्छन् । प्रश्न सोध्नु आलोचनात्मक चेतको विकास गर्नु हो । जर्मनीमा १२ वर्षसम्म हिटलर किन शासक बने ? राणाहरूले नेपालमा १०४ वर्षसम्म किन शासन गर्न सके ? उत्तर– वेलामा सही प्रश्न नसोधेर । जुन दिन प्रश्न सोधियो, त्यो दिनबाट व्यवस्था परिवर्तन हुन थाल्छ । व्यवहार वा संस्कार परिवर्तन हुन थाल्छ । 

एउटा अर्थशास्त्रीले अर्थशास्त्रीको मात्र संगत गर्ने होइन, मानवशास्त्रीको पनि संगत जरुरी छ । शिक्षकले शिक्षकको मात्र नभएर विद्यार्थीको पनि संगत गर्ने हो । अफिसको म्यानेजरले जुनियर स्टाफसँग वेला–वेलामा कुरा गर्ने हो । यसले हाम्रो सोचलाई फराकिलो बनाउँछ र अर्को पक्षको दृष्टिकोण बुझ्ने अवसर पनि प्राप्त गराउँछ ।

१८औँ शताब्दीका दार्शनिक भोल्टेयरले भनेझैँ– मानिसलाई उसको उत्तरले होइन, प्रश्नले मूल्यांकन गर्नुपर्छ । प्रश्न पनि कसरी सोधिन्छ भन्ने विषय निकै महत्वपूर्ण हो । एकजना भक्तले भगवान्लाई प्रश्न गरे– के म प्रार्थना गर्दा चुरोट खान सक्छु ? अर्का भक्तले प्रश्न गरे– के म चुरोट खाँदै प्रार्थना गर्न सक्छु ? कुरा उही हो, तर प्रश्न कसरी सोधिन्छ भन्नेले निकै ठूलो प्रभाव राख्छ । प्रश्न व्यक्तिलाई भन्दा पनि विचारलाई गरिन जरुरी छ । प्रश्न सोध्दा पनि यसरी सोधिन जरुरी छ, जसले गर्दा उसले विषयलाई आत्मसात् गर्न सकोस् । समानुभूति र विनम्रताका साथ विषयहरू राख्नु र छलफल गर्नु आलोचनात्मक चेत विकासको महत्वपूर्ण गुण हो ।

हामी प्रश्न सही उत्तरका लागि होइन, हामीले चाहेको वा खोजेका उत्तर सुन्नका लागि सोध्छौँ । यो त अझ आलोचनात्मक चेतलाई ध्वस्त बनाउने प्रक्रिया हो । प्रश्न ज्ञान, विचार र भावना बुझ्नका लागि सोध्नुपर्ने हो, तर यहाँ प्रश्न आरोप लगाउने हतियार बन्दै गएको छ । वास्तवमा हामीलाई प्रश्न सोध्न आउँदैन, किनकि हामी सबै उत्तर दिन व्यस्त छौँ, अझ निर्णय सुनाउन व्यस्त छौँ । तसर्थ, निजी आस्था वा अवस्थालाई सही समयमा सही प्रश्न सोध्न सक्नु नै आलोचनात्मक चेतका निम्ति पहिलो पाइला हो ।

२) सूचना संकलन गरौँ : दिनदिनै उत्तेजित हेडलाइनसहित समाचार आउँछ । हामी समाचारमा के छ नपढी शीर्षकबाट नै उत्तेजित भई प्रतिक्रिया जनाउन थाल्छौँ । प्रतिक्रिया जनाउनुअघि त्यही समाचारको लिंक खोल्न अल्छी गर्छौं । हामीलाई हतारो छ । हामी पूर्वाग्रही छौँ । यही हतारो स्वभाव हाम्रो आलोचनात्मक चेतको तगारो बनेर बसेको छ । त्यसैले प्रश्न उठाएसँगै हामीले त्यो विषयसँग जोडिएका तथ्यहरू संकलन गरेर अध्ययन गर्न जरुरी छ । आलोचनात्मक चेतले अध्ययन खोज्छ, विश्लेषण खोज्छ, तथ्य खोज्छ । उदाहरणका लागि– चुरोट खानु गलत हो भनेर प्रश्न गरिसकेपछि किन गलत हो भनेर तथ्य संकलन गरिन जरुरी छ । विज्ञानको सहयोग लिन जरुरी छ । यसले पार्ने असरहरूको बारे खोज्न जरुरी छ ।

३) फरक दृष्टिकोण बुझौँ : आफ्नो विचार परिपक्व तरिकाले राख्नका लागि अर्को पक्षको विचार सुन्न अनि बुझ्न जरुरी छ । तर, हामी अर्को पक्षको कुरा सुन्नभन्दा पनि प्वाक्क बोल्न तम्सिन्छौँ । मलाई सबै आउँछ, मै ज्ञाता हुँ भन्ने भाव हाम्रो समाजको अर्को समस्या हो । मलाई सबै थाहा छ भन्ने सोचले हामीलाई खोज्न अनि सिक्नबाट रोक्छ । जे कुरा मलाई बेकार लागिरहेको छ, त्यो कुरा यति धेरै मानिसलाई किन मन परिरहेको छ, यो कुरा हामीले हाम्रो निष्कर्ष निकाल्नुभन्दा पहिले खोज्न जरुरी छ ।

सामाजिक सञ्जालका कारण पनि हामीले फरक विचारलाई अँगाल्न सकिरहेका छैनौँ । फेसबुक र अन्य सामाजिक सञ्जालको अल्गोरिदमहरूले हामीलाई मन परेको वा आफ्नै जस्तो विचार भएका व्यक्ति वा विषय अगाडि सारिदिने कारणले पनि हामीमा मै ठीक हो भन्ने परिरहेको छ । तसर्थ, हामीले फरक मतका निम्ति, फरक तरिकाले सोच्ने साथीहरू बनाउन जरुरी छ । यसका लागि एउटा सजिलो उपाय भनेको हामीले फरक मत वा अर्को मत राख्ने व्यक्तिको कुरा सुन्ने र उसको दृष्टिकोण बुझ्ने हो । एउटा अर्थशास्त्रीले अर्थशास्त्रीको मात्र संगत गर्ने होइन कि एउटा मानवशास्त्रीको पनि संगत गर्न जरुरी छ । एउटा शिक्षकले शिक्षकको मात्र नभएर विद्यार्थीको पनि संगत गर्ने हो । अफिसको म्यानेजरले जुनियर स्टाफस“ग वेला–वेलामा कुरा गर्ने हो । यसले हाम्रो सोचलाई फराकिलो बनाउँछ र अर्को पक्षको दृष्टिकोण बुझ्ने अवसर पनि प्राप्त गराउँछ ।

४) तयारीसहितको बहस चलाऔँ : बिरालोले बाटो काट्दा रोकिनुपर्छ भन्नुपछाडिको ठोस तर्क के ? छैन । हामी कारण खोज्दैनौँ । किन भनेर आधार खोज्दैनौँ । धेरै मानिस आफ्नो विचार परिवर्तन गर्नु गलत हो भन्ने भ्रममा परिरहेका हुन्छन्, तर हामी व्यक्तिका रूपमा विकास हुने हो भने, समाजलाई अघि बढाउने हो भने विचार परिमार्जन गरिरहनुपर्छ । एउटा मानिसले ‘लर्न, अनलर्न र रिलर्न’ गर्न सक्दैन भने आलोचनात्मक चेत विकास गर्न सक्दैन । आफ्नो बुझाइमा रहेका गल्तीहरू खोज्नु र तिनको समाधान खोज्नु नै शिक्षित हुनु हो । आफूलाई लागेको विषयमा फरक दृष्टिकोणका प्रश्नहरूलाई सम्बोधन गर्दै तथ्यका आधारमा प्रश्न उठाएर बहस चलाउनु नै आलोचनात्मक चेतको विकास गर्नु हो । आफ्ना विचारलाई सही तरिकाले सही समयमा अभिव्यक्त गर्न जरुरी छ । त्यसका लागि हामीले हाम्रा तर्क र तथ्यहरूलाई एउटा कापीमा लेखेर व्यवस्थित गर्न जरुरी छ । यो तयारीले हामीलाई आत्मविश्वास दिन्छ । आत्मविश्वाससहितको बहसले परिणाम छिटो ल्याउन मद्दत पुर्‍याउँछ । तर पनि बुझ्नुपर्ने के हो भने केही यस्ता विषय हुन्छन्, जुन बदल्न केही दिन वा केही महिना वा केही वर्ष वा दशकसमेत लाग्न सक्छ, तर बहस चलाउन र छलफल गर्न भने छाड्नुहुन्न ।

निष्कर्ष : हाम्रा नेताहरू किन यसरी बिग्रिए ? उत्तर– ठूलो सभामा विनातयारी, विनाआधार भाषण गर्ने कारणले । नेताहरू हजारौँ मानिसको बीचमा गएर भाषण गर्छन् । जे बोले पनि आलोचनात्मक चेत नभएका कार्यकर्ताले ताली पिट्छन् । भाषणको कुनै तयारी हुँदैन । अनुसन्धान हुँदैन । तथ्यमा टेकेर बोल्दैनन् । उत्तेजनामा तालीका कारण गरिएका वाचाको भुलभुलैयामा हाम्रो राजनीति फसेको छ । उत्तेजित भाषणलाई सदर गर्न खोज्दाखोज्दै हाम्रो राजनीतिले सही दिशा पक्रन नै सकेको छैन । रेल ल्याउने, भ्युटावर बनाउने वा वृद्धभत्ता बढाउने नेताको सनकको विषय होइन । यस्ता विषयले योजना, अध्ययन, अनुसन्धानको माग गर्छ, तर हाम्रोमा यस्ता योजना भिडको उत्तेजनाले दिन्छ । समस्या यही छ ।

हाम्रा चेतनाको स्तर पनि निकै कमजोर छ । भूकम्प जाँदै गर्दा घरबाहिरको खुला ठाउँमा रहेका मानिसहरू खाटमुनि लुक्नुपर्छ भनेको सम्झेर घरभित्र भागे । यहीक्रममा कतिले दलिन खसेर ज्यान गुमाउनुपरेको समाचार हामी सबैले सुन्यौँ । हामीले यदि उनीहरूमा आलोचनात्मक चेतको विकास गर्न सकेको भए तिनले खाटमुनि सुरक्षित हुन लुक्ने भन्ने बुझ्ने थिए, घरभित्र भाग्दैनथे होलान् ।

आलोचनात्मक चेत पनि एउटा सीप हो, कला हो । जुन कला हाम्रो शिक्षाले प्रदान गर्न जरुरी छ । आलोचनात्मक चेत विकास गर्दैगर्दा तथ्यहरूलाई विश्लेषण, संश्लेषण गर्दै मूल्यांकन गर्न जरुरी हुन्छ । आलोचनात्मक चेत हामीले हाम्रो पारिवारिक संस्कार, स्कुले शिक्षा, समाजको चरित्रमार्फत सिक्न सक्छौँ । आफ्नो वरिपरिका कुरीतिमा प्रश्न गर्नु, तथ्यसहित बहस गर्नु र सुधारका निम्ति नेतृत्व गर्नु नै आजको पुस्ताले खेल्नुपर्ने भूमिका हो । त्यसैले हामीले हाम्रो समाजमा डरको होइन, विश्वासको वातावरण बनाउन जरुरी छ । अहिले हामीले डर, शंका, घृणा, बदलाको बिउ समाजमा रोप्दै छौँ । जसले गर्दा हामीले डोरीलाई सर्प देख्दै छौँ र प्रतिकार गर्न तम्सिँदै छौँ । अब हामीले वरिपरिको वातावरणको सुधारसँगै आलोचनात्मक चेतलाई पनि हाम्रो शिक्षाको र जीवनशैलीको अभिन्न अंग बनाएर नागरिकलाई सिकाउने हो भने समाजले यथास्थितिलाई चिरेर अगाडि बढ्न सक्छ ।

एउटा कथासँगै अन्त्य गरौँ । एउटा दाउरे रूख काट्न जंगल गएछ । पहिलो दिन दाउरेले सयवटा रूख काटेछ । दोस्रो दिन दाउरेले ७० वटा रूख काटेछ । तेस्रो दिन जम्मा ६० वटा मात्र काट्न सकेछ । यसरी सातौँ दिनमा उसले जम्मा २५ वटा मात्र काट्न सकेछ । निराश दाउरे चौतारीमा बसेर झोक्राइरहेको हुन्छ । यही वेला गाउँका काका आएर के भयो भनेर सोध्छन् । दाउरेले आफू कमजोर हुँदै गएको र अब रूख काट्न नसक्ने बताउँछ । काकाले मुस्कुराउँदै भन्छन्, ‘तिमी कमजोर भएको होइन । तिम्रो बन्चरोको धार भुत्ते भएको हो । तिमी धेरै रूख काट्न यति व्यस्त थियौ कि तिमीले बन्चरो धार लगाउनेबारे सोच्नै भ्याएनौ । कहिलेकाहीँ हामी पनि छिटो हुन्छ भनेर जे चलेको छ, जे हुँदै छ त्यही कुरा मानेर अघि बढ्छौँ, तर त्यसले झन् ढिलो गराइरहेको हुन्छ । परिणाम दिइरहेको हुँदैन । आफ्नो अनि सामाजको सोच र व्यवहारलाई वेलावेलामा प्रश्न गरेर धार लगाउन सके मात्र हाम्रो यात्रा र जीवन थप परिणाममुखी बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation