ओलीको राष्ट्रियता लोगोमासमेत देखिन छोड्यो

काठमाडौँ — आफ्ना आफन्त, पार्टी कार्यकर्ता, प्रशंसक तथा नातागोताहरुलाई घैया भाउमा राज्यको महत्वपूर्ण मानपदवि, पुरस्कार तथा अन्य विभुषणको पगरी गुथाउने सरकारी शैली शुक्रवार पनि जारी भयो । तर विडम्बना सरकारले प्रदान गर्ने उक्त सम्मानमा राज्यको खास नक्सा नै गायब गरिएको छ । संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई नियालेर हेर्दा कालापानी÷लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै थिएन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । त्यसैले यो लोगो संविधानविपरीतसमेत हो ।
नेपाालको संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ’ भनिएको छ । सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संविधानको अनुसूची ३ संशोधन गरिएको छ । संविधानको संरक्षक राष्ट्रपति हुने संविधानमा उल्लेख गरिएको छ । संविधान संशोधनपछि पनि चलनचल्तीमा चुच्चे नक्सा नै छ । गलत नक्सा भएको विभूषण राष्ट्रपतिबाटै वितरण गरिनु लापरबाही भएको पूर्वप्रशासक र सुरक्षा मामिलाका जानकारहरू बताउँछन्  । गलत नक्सा भएको विभूषण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर श्रेष्ठलगायतले समेत ग्रहण गरेका छन । निजामती, जंगी, प्रहरी, न्याय, संसद्, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको हो ।

त्यही वर्षको संविधान दिवस (असोज ३) मा राष्ट्रपति कार्यालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको थियो । गृह मन्त्रालयले कोरोना महामारीका कारण गत वर्ष प्रदान गर्न नपाएका विभूषण भएकाले पुरानै नक्सासहितको लोगो परेको जिकिर गरेको छ । गृह प्रवक्ता चक्रबहादुर बुढाले शुक्रबार राष्ट्रपतिबाट वितरण गरिएका विभूषण नयाँ नक्सा जारी हुनुपूर्व बनाइएकाले लिम्पियाधुरासम्मको भूभाग नसमेटिएको बताए । ‘यी विभूषण २०७७ वैशाखअघि नै बनाइएका हुन्,’ उनले भने । पुरानै नक्सा भएका विभूषण सरकारले रद्द गर्न सक्तैनथ्यो भन्ने प्रश्नमा उनले भने, ‘नयाँ नक्सा जारीपछि बनेका विभूषणमा लिम्पियाधुरा समेटिएको नक्सा हुनेछ । गत वर्ष नक्सा जारी भएकै थिएन । पुरानै डिजाइनमा बनेका र गत वर्ष सिफारिस गरिएकालाई नै प्रदान गरिएकाले अरू बोलिरहनुपर्छ जस्तो लाग्दैन ।’ संविधानको धारा ९ (२) सँग सम्बन्धित नेपालको निसाना छापमा रहेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको छ । यो नक्सा राष्ट्रपति कार्यालयदेखि सरकारी, गैरसरकारी, निजी, कूटनीतिक सबै क्षेत्रमा प्रयोग गरिएको छ । सरकारले २०७७ साउनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई नयाँ नक्साअनुसारकै संघीय संसद्को लोगो वितरण गरेको थियो । नक्सा मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र आम मानिसको भावनासँग जोडिएकाले यससम्बन्धी हुने निर्णयमा नीतिनिर्माण तहमा बस्नेहरू संवेदनशील हुनुपर्ने पूर्वगृहसचिव गोविन्द कुसुमले बताए ।

‘लिम्पियाधुरासम्म नै समेटिएको नक्सा प्रयोगमा आइसकेपछि त्यसअनुसार नै विभूषणमा देशको नक्सा समेटेर डिजाइन गर्नुपर्ने हो,’ उनले भने, ‘नयाँ नक्सा आउनुअघि विभूषण तयार भइसकेकाले तत्काल नयाँ डिजाइन गर्न समय अभाव र आर्थिक व्ययभारलाई ख्याल गरेर पुरानै वितरण गरिएको होला तर यो विषय देशको भावनासँग जोडिएकाले निर्णय तहमा बस्नेले त्रुटि र कमजोरी देखाउनु हुँदैन ।’ विभूषण ग्रहण गरेर शीतल निवासबाट बाहिरिएका सरकारी सेवाबाट अवकाश प्राप्त एक उच्च अधिकारीले ठट्यौली पारामा सुनाए, ‘हामी त पुराना नक्साका पुरानै कर्मचारी, तर तक्मा थाप्न जाँदा बहालवालासरह नै सम्बोधन गरियो । रिटायर्डको वर्ष दिनपछि एकछिनलाई बहालवालासरह सम्बोधन भयो, खुसी पो भइयो ।’ अरू बेला राष्ट्रपतिले मानपदवी गलामै लगाइदिने चलन थियो । शुक्रबार भने कोरोना महामारीको कारण देखाउँदै राष्ट्रपति भण्डारीले हातमा विभूषण राखिदिएकी थिइन्, त्यसपछि विभूषितले गलामा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation