जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।

खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए ।

भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन । र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो ।

तर, नेपाली बलरले घातक बलिङ गरेपछि जापानले ४३ रन मात्र बनाउन सक्यो । ११.४ ओभरमा सुवास भण्डारीले यामामोतोको विकेट लिएपछि जापानका रतविक शिवकुमार ब्याटिङमा आएका थिए । एक बल सामना गरेका उनले ब्याटिङलाई निरन्तरता दिन सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए ।

नेपाल र यूएई एसिया कपमा

शनिबार नै भएको अर्को सेमिफाइनलमा यूएईले सिंगापुरलाई डिएल मेथडमा १० विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको सिंगापुरले ४९ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । जवाफमा यूएईले ७ बलमा चार रन बनाउँदा पानीले खेल रोक्यो । पानी रोकिएपछि सुरु भएको खेलमा यूएईले ११३ रनको लक्ष्य पायो, जसलाई १५.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।

फाइनलमा स्थान बनाएसँगै नेपाल र यूएईले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुवै टिम समूह एमा पर्नेछन्, जसमा भारत र पाकिस्तान छन् ।

शनिबार भएको सेमिफाइनलमा पराजित भएका सिंगापुर र जापानले तेस्रो स्थानका लागि खेल्नेछन् र, विजेताले पनि एसिया कप खेल्ने छ । यो टिम समूह बीमा पर्नेछ, जहाँ अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation