दसैँ लागेएता जुगल गाउँपालिकामा सयभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । दुई समुह हिमाल चढ्न आएका छन् भने अरु समुह हिमालमुनि रहेको नेपेमासालसम्म आएका छन् ।
जुगल हिमाल क्षेत्रको आरोहणमा आएका दुई समुह अहिले याङ्खर्क बेसक्याम्पमा छन् । एउटा समुह ६,७३७ मिटर अग्लो फुर्वाघेच्यु हिमाल आरोहण गर्न प्रयत्न गरिरहेका छन् । अर्को समुह जुगल–३, जुगल–४ र जुगल–५ मध्ये कुनै एक चढ्ने योजनामा छन् । यी सबै भर्जिन हिमाल हुन् । नेपाल सरकारले गत वर्षमात्रै यी हिमालको आरोहण अनुमति खुला गरेको थियो ।
पर्यटन विभागमा दुई सय डलर तिरेपछि जुगल हिमाल आरोहण गर्न अनुमति पाइन्छ । आरोहीमध्ये एक समुह जुगल गाउँपालिकाको गुम्बा हुँदै बेसक्याम्प पुगेका छन् भने अर्को समुह मेलम्ची, भोताङ, पाँचपोखरी हुँदै जुगलको दीपु निस्केर याङ्खर्क पुगेका छन् । दुबै समुहले हिमाल आरोहण प्रयासलाई जारी राखेका छन् ।
यसअघि ६,१५० मिटर अग्लो ग्याल्जेन पिकको सफल आरोहण भइसकेको छ । हिमाल आरोहण र पर्यटन क्षेत्रलाई मजबुत पार्न स्थानीय सरकार लागिरहेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । पर्यटक आगमनलाई ध्यान दिएर बिकट भूगोल भएपनि पूर्वाधारको काम जारी रहेको उनले बताए।
भौगोलिक कठिनाइ र पूर्वाधारकाे विकास नहुँदा थुप्रै काम अधुरा
जुगल क्षेत्रमा हिमाल आरोहण गर्ने र पर्यटक बढेको बताउँदै जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्षसमेत रहेका तामाङले बेसक्याम्प पुग्ने बाटो राम्रोसँग बनाउन आवश्यक रहेको औँल्याए ।
यस क्षेत्रमा होटेल नभएकोले पर्यटक आफैले काठमाडौंबाट खाद्यसामग्री लिएर जानुपर्ने बाध्यता छ । पूर्वाधार निर्माणमा ध्यान दिनसके यस क्षेत्रमा पर्यटक अझै बढ्ने र स्थानीय उत्पादनबाट आम्दानी लिनसक्ने देखिन्छ । (नयाँ पतिका)