महिला क्रिकेटमा नयाँ कप्तान :चयन भइन् इन्दु बर्मा

बिहीबार सोही सिरिजमा लागि नेपाली टोली घोषणा हुँदा क्यानले नयाँ कप्तान र नयाँ उपकप्तान सहित १४ सदस्यीय सूची सार्वजनिक गर्‍यो । यसअघि उपकप्तानको भूमिकामा रहिसकेकी २६ वर्षीय इन्दु बर्मा नयाँ कप्तान चयन भइन् । यस्तै विन्दु रावल नयाँ उपकप्तान बनिन् ।

इन्दुले ११ वर्ष नेपाली महिला क्रिकेट टिमको कप्तानी गरिसकेकी रुविना क्षेत्रीको स्थान लिनेछन् ।

नेपाली टिममा अहिले रुविना र सीता राना मगर सिनियर खेलाडीको रुपमा छन् । अझ सीता त नेपालको महिला क्रिकेटको पहिलो ब्याचकै खेलाडी हुन् ।

अकस्मात कप्तान

इन्दु आफैलाई पनि कप्तान बन्दैछु भन्ने थाहा थिएन । तर चारदेशीय टी-२० सिरिज अघि नै कप्तानको जिम्मेवारी उनले पाइन् ।

अकस्मात आएको जिम्मेवारीबाट इन्दु उत्साहित र नर्भस दुवै भइन् । ‘हिजो अचानक नै थाहा पाएको हो । एकक्सी थापा पाउदा खुशीसँगै नर्भस पनि भएको थिएँ । जिम्मवारी पाएपछि त्यसलाई निभाउनुपर्छ’,  कप्तान नियुक्त भएको भोलिपल्ट पत्रकारहरुसँगको कुराकानीमा उनले भनिन् ।

पहिलो पटक कप्तानको जिम्मेवारी पाएपछि इन्दुले उत्साह र जिम्मेवारी दुवै भएको सुनाइन् । ‘एकदमै खुशी छु । पहिलो पटक लिडरसिपको जिम्मेवारी पाइरहेको छु । त्यसैलाई उर्जा र लगनका साथ पूरा गर्ने प्रयास गर्नेछु ।’

यसअघि इन्दुले झण्डै एक दशक राष्ट्रिय टिमबाट खेल्दा रुविनाको कप्तानीमा खेलिन् । अब उनलाई नै रिप्लेस गरेर इन्दु कप्तान बनिन् । टिममा सिनियर खेलाडीहरु हुँदा आफूलाई दबाब भन्दा पनि सजिलो हुने इन्दुले बताएकी छन् । ‘रुविना, सीता दिदीहरु हुँदा सहज हुनेवाला छ । उहाँहरुले नै सिकाउँदै आइरहनुभएको छ ।’

इन्दुले राष्ट्रिय टिममा रुविना र घरेलु क्रिकेटमा एपीएफ टिमबाट सीताको कप्तानीमा खेल्दै आएकी थिइन् । अब भने यी दुई खेलाडी नै इन्दुको कप्तानीमा खेल्नेछन् ।

इन्दुले नेपालका लागि ४४ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक अर्धशतक मदतमा ४९३ रन बनाएकी छन् । यस्तै बलिङमा २३ इनिङ बलिङ गरेकी उनले २३ विकेट लिएकी छन् ।

इन्दुले अहिलेसम्म एक पटक मात्र कप्तानी गरेकी छन् । सन् २०१९ मा भएको वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटमा उनले चितवन राइनोजको कप्तानी गरेकी थिइन् र पहिलो प्रतियोगितामै आफ्नो टिमलाई अपराजित रहेर च्याम्पियन बनाएकी थिइन् ।

 

त्यसबेला इन्दुको टिम चितवनले रुविना क्षेत्रीकै कप्तानमा रहेको क्याट क्वीन्स काठमाडौंलाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

पहिलो सहभागितामै चितवनलाई च्याम्पियन बनाएपछि इन्दुलाई त्यतिबेलै राष्ट्रिय टिमको नयाँ कप्तानको रुपमा हेरिएको थियो । अहिले चार वर्षपछि भए पनि इन्दु राष्ट्रिय टिमको कप्तान बनेकी छन् ।

क्यानले शनिवार महिला टोलीलाई बिदाइ गर्न आयोजना गरेको कार्यक्रममा क्यानका सचिव पारस खड्काले सबैसँग सल्लाह गरेर महिला क्रिकेटलाई पनि नयाँ संरचना अनुसार अगाडि बढाउने प्रयास स्वरुप कप्तान चेन्ज गरेको बताए ।

‘नेपाली टिमका सेलेक्टर,क्रिकेट म्यानेजर लगायत बोर्ड मेम्बरसँग छलफल गरेर महिला क्रिकेटलाई पनि नयाँ संरचना, सोच र विचारका साथ अगाडी बढाउनुपर्छ भनेर नेपाली महिला क्रिकेट टिमको कप्तानमा चेन्ज ल्याएका छौं’ क्यानका सचिव पारस खड्काले भने, ‘यस अगाडिका कप्तान रुविनाले नेपाली क्रिकेटलाई ११ वर्ष समय दिनुभयो जुन आफैँमा एउटा एकदमै महत्वपूर्ण समय र आफ्नो देशप्रतिको कन्ट्रिबुसन हो ।’

जिम्मेवारीसँगै चुनौती पनि

हङकङमा टी-२० सिरिज खेल्ने नेपाली टिममा खेलाडी पनि धेरै परिवर्तन भएका छन् । जसमा दुई खेलाडी रोमा थापा र संगिता राईले कमब्याक गर्दा सोमु विष्ट, कत्र्चन श्रेष्ठ र सोनी पाख्रिन नयाँ खेलाडीको रुपमा टिममा परेका छन् ।

टिमसँगै नेतृत्वमा आएको फेरबदलले टिम संरचना पनि फेरिएको छ । त्यसैले कप्तान इन्दुले नयाँ टिमलाई राम्रोसँगै अगाडि बढाउने बताएकी छन् । ‘एउटा नयाँ टिम पाको छु । लिडरसिप भएपछि सबै कुरा ह्यान्डल गर्नुपर्छ र राम्रोसँग टिमलाई लैजानेछु । राम्रो गर्ने आशा छ ।’

नयाँ जिम्मेवारीलाई कप्तान इन्दुले चुनौती पनि हुने इन्दुले पनि बताइन् । ‘एउटा नयाँ जिम्मेवारी पाएको छु । सँगै चुनौती पनि पाएको छु । खुशी छु’, इन्दुले शनिबार बिदाइ कार्यक्रमपछि भनिन्, ‘पहिला खेलाडी मात्र हुन्थेँ भने अहिले कप्तानको रुपमा लिडरसिप लिएर हिँडेको छु । त्यति सजिलो त हुँदैन । आफूले सबै कुरा ह्यान्डल गर्नुपर्छ । तर नतिजा राम्रो ल्याउन कोशिस गर्नेछु ।’

यही नोभेम्बर १५ देखि १९ सम्म हङकङमा हुने चार देशीय टी-२० सिरिजमा नेपाल र हङकङसहित तान्जामिया र जापानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आउने बुधबार तिहारको भाइटिकाको दिन तान्जानियासँग पहिलो खेल्नेछ । यस सिरिजमा राम्रो प्रदर्शन गर्ने विश्वास इन्दुले व्यक्त गरेकी छन् ।

साथै पछिल्लो समय पुरुष क्रिकेटले प्राप्त गरेको सफलताबाट महिला टोली पनि मोटिभेट भएर र टिममा जितको लागि ‘हंगर’ रहेको बताइन् । ‘जसरी पुरुष टिमले गर्नुभएको छ । हामीले पनि उस्तै गरी ‘वान बल ब्याटल’ नै लगिरहेका छौँ र पुरुष टिमलाई हेरेर नै हामीमा एउटा हंगर छ’, इन्दुले भनिन् ।

नेपाले हङकङ सिरिजका लागि छोटो समयको तयारी गरेको थियो । त्यसका बावजुत पनि अहिले समग्रमा टिम राम्रो रहेको र यो टिमबाट राम्रो नतिजा आउने उनले बताइन्  ।‘अहिले ब्याटिङ, बलिङ, फिल्डिङ र फिटनेस वाइज ओभरअल राम्रो छ र अहिले राम्रो नतिजा ल्याउने लक्ष्य छ ।’ उनले भनिन् । ‘फिल्डिङ र फिटनेसमा अली ध्यान दिएका छौं ।’

हङकङमा टी-२० सिरिज खेल्ने नेपाली टोली :

इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्मचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का, सोनी पाख्रिन

(onlinekhabar)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation