लोप हुँदै थारू समुदायको सख्या नाच

डानु डाडा डानु रि डाडा डरिउना  भलि र,
सखि र डानु रि डाडा डरिउना रि कहि डे 
जउ माइ सामि रौरि आपन सरासटि र
सखि र सरासटि मायर मोर सेवा र लेओ हमार…र

उल्लेखित गीतका हरफ थारू समुदायको मौलिक सख्या नाच नाच्दा गाइने गीत हो । कुनै बेला सुर्खेत वीरेन्द्रनगरका थारू गाउँबस्तीमा सख्या नाचको रौनक गुञ्जायमान हुन्थ्यो । विशेष गरी, दसैँ तथा तिहारको समयमा यो नाचको महत्व वेग्लै हुने गर्दथ्यो ।

थारू बस्तीमा दसैँको रौनकता बढाउने नै सामूहिक रुपमा नाचिने सख्या नाचले हो । यद्यपि, पछिल्लो समय भने सखिया नाच लोप हुँदै गएकोप्रति थारू समुदायका अगुवाहरू चिन्तित छन् ।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत वीरेन्द्रगरमा मात्रै थारूको बसोबास छ । यहाँको जमिनलाई गुल्जार बनाउने पनि यिनै थारू हुन् । विभिन्न ३८ वटा गाउँमा बसोबास गरेका छन् यहाँका थारूहरू ।

वीरेन्द्रनगरमा प्रत्येक थारू गाउँमा आफ्नै संस्कृति थियो, नाचगान भैराख्थ्यो । सख्या नाच, हुर्डुङ्ग्वा नाच, छोक्रा नाच दसैँ, तिहारमा अपरिहार्यजस्तै मानिन्थ्यो, पहिला ।

तर, सख्यालगायत नाचप्रति पछिल्लो पुस्ताहरूले चासो नदिँदा यो नाच लोप हुँदै गएको छ । यसै क्रममा, आफ्नो संस्कृति र परम्परा जोगाइराख्नुपर्छ भनेर पछिल्लो समय थारू अगुवाहरू भने संरक्षणमा जुटेका छन् । त्यसमध्येका एक हुन्, थारू संस्कृतिविद् अनुसन्धाता मानबहादुर चौधरी ‘पन्ना’ ।

सख्या नाच, गीतको डकुमेन्ट्री तयार

सखिया नाच लोप हुँदै गएपछि अनुसन्धाता पन्नाले थारू लोक ऐतिहासिक, पौराणिक विषय संस्कृति झल्कने सख्या नाच गीतको डकुमेन्ट्रीसमेत तयार गरेका छन् । डकुमेन्ट्रीको विमोचन कार्तिक २४ गते गरिएको छ ।
लखागिन थारू उत्थान मञ्च सुर्खेतको मूल व्यानर र थारू कल्याणकारणी सभाको समन्वयमा निर्मित सुर्खेतमै सुटिङ भएको उक्त डकुमेन्ट्रीको लेखन तथा निर्देशन पनि पन्नाले नै गरेका छन् ।

उनको उक्त डकुमेन्ट्री लखागिन थारू उत्थान मञ्च सुर्खेतले निर्माण गरेको हो । उनका अनुसार युवापुस्तालाई अग्रसर गराउने र थारू समुदायमा रहेको विभिन्न चाडपर्व, गीत, संस्कृतिमध्ये सखिया नाच थारूहरूको ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक महत्व बोकेको संस्कृति हो ।

सख्या नाच हरेक वर्षको दसैँको अगाडि कृष्णजन्माअष्टमि अटवारी पर्वपछि सुरु भइ दसैँ, तिहारसम्म नाचिने नाच हो । सुर्खेतको सख्या गीतमा १५ वटा खण्ड र ३३ सय श्लोक छ, जुन महाभारतकालीन कृष्णका माता देवकी (जासु), बुवा वासुदेव (इसरु), कृष्ण (कान्हा), कंस, राधासँग सम्बन्धित छ ।

 

त्यसैगरी, गीतमा संसारको सृष्टि कसरी भयो ? संसारकै सृष्टिसँगै सुरुमा पृथ्वीमा केके उत्पत्ति भए ? मानव जातिले यस धर्तिमा कसरी जीवन सङ्घर्ष गरे ? भन्ने कुराको आख्यान यस नाच गीतमा पाइने चौधरी बताउँछन् ।

सख्या नाच नाच्दा सबैभन्दा पहिले देवी देउतालाई सम्झेर नाच्ने गरिन्छ । उनी भन्छन्, ‘जसमा पूर्वको सूर्य देउता, पश्चिमको रमझम देवी, उत्तरमा हरिकविलास, दक्षिणको शिव जगन्नाथ, आकाशको इन्द्र र चन्द्र तथा पातालको वासुकी नाग आदिको स्तुति गान गर्ने गरिन्छ ।

त्यसैगरी पाँच पाण्डव, देउतीबज्यै, गाउँका अन्य साझा देउथानका देउतालाई पुकारा गरी नाचिने भएकाले यसको धार्मिक महत्व पनि उत्तिकै रहेको छ ।’

गाउँका ससाना केटाकेटीदेखि वयस्क उमेरका तरुनी (बठिन्या), तन्नेरी (ठ¥या), महिला, पुरुष सबैको उपस्थितिमा नाचिने हुँदा सांस्कृतिक महत्वका दृष्टिले निकै नै चर्चित संस्कृति हो सख्या । यस्तो ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको नाच, गीत लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न सख्या नाच गीतको डकुमेन्ट्री निर्माण गरिएको उनी बताउँछन् ।

डकुमेन्ट्रीका निर्माता शनिश्रा दहित महतम भन्छन्, ‘सख्या नाचको बिचबिचमा मादलको दर्जनौ तालमा फरक–फरक पैया नाचसमेत नाचिने भएकोले नाचभित्र थुप्रै मनोरन्जनात्मक पाटाहरू समेटिएको हुन्छ ।’ सख्या नाच थारू समुदायको भेषभुषा, लोकसाहित्य, संस्कृति पहिचानसँग जोडिने भएकाले आफूले लगानी गरेको उनको जिकिर छ ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्टार एवम् साहित्यकार डा.महेन्द्र कुमार मल्ल सुर्खेत उपत्यकाका मूल आदिवासीको रुपमा चिनिने थारू जातिको लोकसंस्कृति लोप हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्छन् ।
‘पहिचान मौलिकतामा आधारित हुन्छ । संस्कृतिलाई अतिक्रमित हुन दिनुहन्न,’ मल्ल भन्छन्, ‘आफ्नो पहिचान संस्कृति बचाए मात्र अधिकार स्थापित हुन्छ । संस्कृतिले इतिहास बोल्छ, जीवनशैलीलाई जनाउँछ ।

संस्कृति रहनसहन जीवनशैली भएकोले ज्ञानको अथाह भण्डार हो । गीत संस्कृति समाजकै दर्पण भएकोले सख्या नाच लगायत अन्य गीतसंगीतको डकुमेन्ट्री निर्माण गरी संरक्षणको यस्तो रचनात्मक कार्यमा युवापुस्ताले ध्यान दिएकोमा सराहनीय छ ।’ यसको संरक्षण गर्नु राज्यको दायित्वसँगै थारू समुदाय आफैमा जागरुकताका साथ अघि बढ्नुपर्नेमा उनको जोड छ ।  (ratopati)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation