पाँचौँ कार्यकालका लागि पुन: राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै रुसको नेतृत्व गरेका छन्। उनले अहिलेसम्म चार राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीसमेत बनेका छन्।

पुटिनले यो घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका हुन्। ‘म यसलाई लुकाउँदिन, विभिन्न समयमा मेरो मनमा फरक फरक विचार थिए तर यो निर्णय लिनुपर्ने समय हो’, कार्यक्रममा उहाँले भन्नुभयो, ‘म रुसी संघको राष्ट्रपति पदका लागि निर्वाचन लड्नेछु।’

उनले एक रुसी सैन्य अधिकारी लेफ्टिनेन्ट कर्णेल अर्टोम जोगासँग कुराकानी गरिरहेका थिए। जोगाले उनलाई निर्वाचनमा लड्न आग्रह गरेका थिए। ‘तपाईँको काम र निर्णयका कारण हामीलाई स्वतन्त्रता प्राप्त भएको छ’, जोगाले भने, ‘हामीलाई तपाईँको आवश्यकता छ, रुसलाई तपाईँको आवश्यकता छ।’

विश्लेषकहरूका अनुसार पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्नुपर्ने छैन र उहाँले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनका लागि सम्भव भएसम्म ठूलो जनादेश खोज्नेछन्।

सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उनी कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहन सक्नेछन्। अधिकार समूहहरूले अघिल्ला निर्वाचनमा अनियमितता भएको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकहरूलाई मतदानको अनुगमन गर्न रोकिने बताएका छन्।

राष्ट्रपति पुटिनले नोभेम्बरमा सन् २०२४ को निर्वाचन कभर गर्नका लागि मिडिया नियमहरूलाई कडा बनाएका छन् र केही स्वतन्त्र मिडिया आउटलेटलाई मतदान केन्द्रसम्मको पहुँचमा प्रतिबन्ध लगाएका छन्।

निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation