विकास र संरक्षणको प्रधान थलो, लुप्लुङ कि झुलेनी ?

पर्यावरण संरक्षणको अभावमा संसारभरि जलवायु परिवर्तनको ठुलो असर छ । मानवीय लापरबाहीले निम्तीएको यो संकटले खासगरी सजीव प्रणालीमा ठुलठुला विपत्ति र फेरबदल आएसँगै पृथ्वी (जल,जमिन,वायु)संरक्षणका लागि संरक्षणविदहरुले अभियान चलाइरहेका छन् । यसको सार हो, पृथ्वी स्वच्छ र सुरक्षित रहेमात्रै मानव जगत लगाएत सम्पूर्ण जीवन सुरक्षित रहनेछ  । देश रहे नागरिक रहनेछन्, गाउँ रहे स्थानीय रहनेछन्  । आम नागरिक सचेत हुने हो भने मात्रै सारा चिजको संरक्षण, सम्बद्र्धधन र साँचो अर्थको विकास सम्भव हुन्छ  । जलवायु परिवर्तन लगाएत ठुलठुला प्राकृतिक विपत्तिहरुले संसारभर ठुलो जनधनको क्षति हुनुको मुख्य कारण नै प्रकृतिको चरम दोहन हो भन्ने कुरा कतै छिपेको छैन  । यसरी प्राकृतिक दोहनको एक ज्वलन्त उदाहरण हो लुप्लुङको चुनढुङगा खानी उत्खनन  । खानी तथा भू–गर्भ विभागमा सातताले सामुदायिक वनको ४.९ हेक्टरको दर्ता भएको तर कम्पनीले यतिबेला आफ्नो ४.९ हेक्टर भन्दा बाहिर गएर आसपासका अन्य स्थानीयका भिर तथा वारीहरुमा अबैध रुपमा उत्खनन् गरिरहेको छ । विगत २०६९ सालबाट जारी विभिन्न आन्दोलन, संघर्ष र स्थानीयका खास मुद्दामा बेखबर हुँदै २०७३ सालबाट उक्त कम्पनीले त्यहाँ चुनढुङगा उत्खनन् गरिरहेको छ । कथित विकासको नाउँमा सिङ्गो गाउँ (चार सय बढी घरधुरीका झन्डै ३ हजार जनसंख्याको बसोबास भएको) नै संकटमा पारेर शुभ श्री अग्नि सिमेन्टले गरिरहेको भु– दोहनको प्रकृति हेर्दा अबको १०÷ १५ बर्षसम्म यहाँको सबै मानव बस्ती नै सखाप हुनसक्ने गाउँ मरुभूमिकरण हुने अगुवा गंगाराम भण्डारीले बताए  । उनले स्थानीयको स्वतन्त्र र सुरक्षित रुपमा बाँच्न र आफ्नो सम्पत्तीको संरक्षण गर्न पाउने संबैधानिक हक समेत हरण गर्दै कम्पनीले गैरकानुनी उत्खनन् गरिरहेको दावी गरे । गाउँमा स्थानीय प्रभावितहरुका समस्या प्रति सबै तहका जनप्रतिनिधिहरु कम्पनी पक्षकै कलो खाँदै गैरजिम्मेवारी हुनु भनेको लाजमर्दाे विषय भएको पनि बताए । चरम दोहनले निम्त्याएको भौगोलीक, पर्यावरणीय, आर्थीक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठुलो नोक्सानीमा हेलिएको ज्वलन्त उदाहरण बनेको प्युठानको नौबहिनी गाउँपालिका ८ को लुप्लुङ पर्यावरणीय र भौगोलीक रुपमा क्षयीकरण भइरहेको छ  । सामाजिक लाभको न्यून लगानीमा सिमित व्यक्तिको क्षणिक लाभमा सो गाउँमा भइरहेको चुनढुङगा उत्खननले त्यहाँका स्थानीय जनताको जीवनस्तरमा ठुला समस्याहरु पैदा भएका छन्  । बर्षा याममा हिलाम्मे र हिउदमा धुलाम्य हुँदा अन्य सवारी साधन लगाएत सर्वसाधारणको आवजावतमा समस्या हुने, ध्वनि प्रदुषण, वायु प्रदुषणले सिङ्गो जिल्लालाई नै प्रभावित पारेको छ । चुनढुङगा उत्खननको मुख्य असर नौबहिनी गाउँपलिका ८ का स्थानीयलाई परेको छ । भने प्रभावित क्षेत्रका ३५ घर दलित र अन्यका गरि ४२ घरधुरी यदि कम्पनीले उचित क्षतिपूर्ति र मुआब्जा नदिने हो भने घरबारविहीन अवस्थामा पुग्ने जोखिम छ  ।

भण्डारीको कुल समाजकै अस्तित्व संकटमा


धननन्जय गोत्रिय भण्डारी समाजको उदगमस्थल पनि मानिने ऐतिहासिक नगरी दलालहरुको चरम लापरबाहीले गर्दा अस्तित्व रक्षाको दोसाधमा उभिएको प्रभावित क्षेत्रका स्थानीयहरु बताउँछन् । ठुलो मानव बसोबास भएको सुन्दरनगरी लुप्लुङलाई दिर्घकालिन रुपमा कसरी सुरक्षित गर्ने भन्ने ठुलो प्रश्न उठेको स्थानीय शिक्षक कुमार भण्डारीले प्राणमञ्चसँगको कुराकानी बताए  । उनले झुलेनी र लुप्लुङको ऐतिहासिक अन्तरसम्बन्ध रहेकाले सिङ्गो गाउँलाई दिर्घकालिन रुपमा सुरक्षित राख्न सबै सरोकारवालाहरु अनिवार्य एकजुट हुनुपर्ने बताए  । स्थानीयबासी र गाउँको कुनै माया नगरी सिङ्गो गाउँ भत्काउने तर मानवीय गतिविधि शुन्य रहेको झुलेनी संरक्षणमा करोडौं खर्चनु दिर्घकालिन रुपमा खासै प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो रहेको छ । भण्डारी समाजको कुल र समाजको विधानमा झुलेनी लुप्लुङ स्पष्ट लेखिएको छ, भण्डारी समाजको उत्पत्ति र विस्तार तथा कुल समितिको विधानको मर्मलाई हेर्दापनि कम्पनीले गरिरहेको मापदण्ड विपरीतको अबैध उत्खनन् रोक्नैपर्छ  । कम्पनीको अबैध उत्खनन् र दादागिरी कम गर्नसके पनि केही राहत मिल्ने धेरैको ठम्याइ छ  । गाउँ नै धरासयी हुने र भण्डारी समाजको ऐतिहासिकता तथा मानवीय जीवन नै जोखिममा पर्नेखालका कुनैपनि गतिविधि रोक्नुपर्ने लुप्लुङ माविका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा राजनितीक अगुवा माधब भण्डारीले बताए  । उनले प्राणमञ्चसँगको कुराकानीमा भने, ‘तत्कालै कम्तिमा आधा गाउँ धरासयी हुने खतरा छ, मुख्य प्रभावित क्षेत्रका अवस्था झनै जोखिममा छ, कायम भएको सम्झौताबमोजिम २०९९ सम्म अझै २५ बर्ष उसले उत्खनन् गरिरहने हो  । अग्नी सिमेन्टको लापरवाहिलाई ‘सबै तै चुप मैं’ चुपको स्थितिमा रहेकोले नै समस्या बढेको र यसरी नै कम्पनी अगाडि बडिरहने हो भने सिङ्गो गाउँ नै बस्ती बिहिन हुने र यसको सबैभन्दा बढी नोक्सान धनन्जय गोत्रीय भण्डारी समाजलाई हुनेछ ।’ आखिर गाउँ नै बस्तीविहिन भयो भने भण्डारी समाजको औचित्य पनि समाप्त हुने उनले तर्क गरे । अर्का स्थानीय प्रदिप भण्डारीले सुन्दर एवम् ऐतिहासिक भूमिको नोक्सानी हुनुमा दलाल र विचौलियाहरुको मुख्य हात रहेको दावी गर्छन् । उनले बिनास्वार्थ जागरण अभियानको आवश्य भएको बताए  । लुप्लुङ् (चुनढुङगा खानी) धेरैलाई मागी खाने भाँडो भएको छ, लामो समयदेखि आन्दोलन पनि भयो तर आन्दोलनलाई तुहाउन त्यही भित्र कै नेतृत्व लिप्त भएको प्रस्ट देखिएकै छ  । अब यो गाउँलाई बचाउन कुनै राजनीतिकरण भन्दा पनि माथि उठेर गाउँ रहे हामी रहने छौ भन्ने प्रणका साथ देश विदेशका दाजुभाई,गाउँमा भएका युवाहरु सबै एकजुट भएर सोच्न जरुरी छ  । कम्पनीले त मान्छे आफ्नो कोल्टामा पार्न जे पनि गर्छ, सामाजिक सञ्जालमा धेरै रोइलो गरेर गाउँमा जाँदा उतै लपक्कै हुने विविध घटनाहरु नभएका होइनन् । गाउँ रहने कि नरहने भन्ने गम्भीर विषयमा सबैको सचेत पहलकदमी आवश्यक रहेको बताए । कम्पनी पक्षले स्थानीय सबैका जग्गा बिना मोलतोल (अति कम मुल्यमा) खरिद गर्ने, उत्पन्न समस्याको बैज्ञानिक समाधान भन्दा पनि सिमित मान्छेको प्रभावमा गैरजिम्मेवारी ढंगले थप समस्याको उत्पादन गरिरहेको छ  । कम्पनीले प्रभावित क्षेत्रका पीडितलाई उचित क्षेतिपुर्ति नदिने, माइनिङ स्किम अनुसारको बक्स÷ बेन्च कटिङ नगरी एकतर्फी छाँगो बनाउने, सडकभार भन्दा बढी ढुवानी गर्ने, भूमिको पुनः प्रयोगको सिद्धान्तलाई बेवास्ता गर्दै निजि जग्गाको दश मिटरको दुरी कायम नगर्ने, गत दुई वर्ष अगाडि खानी तथा भूगर्भ विभागले निर्देशन गरेको १३ बुँदे निर्देशनको विपरित उत्खनन् गर्ने, प्रचलित ऐन कानुनको धज्जी उडाउदै दैनिक क्षमताभन्दा चार गुणा बढी उत्खनन् गर्दै भूगोलको दोहन गरिरहेको छ ।

सरोकारवाला निकायको गैरजिम्मेवारी रबैया


यी सबै घटनाक्र हेर्दा कम्पनी पक्ष गाउँप्रति उत्तरदायी नभएको प्रष्ट छ त छ नै यता सारा समस्याको जादुमय समाधान गर्ने कसम खाएर भोट लिएर गएका स्थानीय, प्रदेश र केन्द्र सरकारका प्रतिनिधिहरु कानमा तेल हालेर तै चुप मैं चुपको रणनीतिमा छ । वन समिति तथा अन्य सरोकारवालाहरुले पनि सुधारका कुनै काम गर्न सकेन यो दुखद पक्ष हो  । सिङ्गो गाउँ जोगाउन स्थानीयहरु बलियो ढंगले एकताबद्ध हुन जरुरी छ । स्मरण रहोस् ः धनन्जय गोत्रका धनु र मनु नाम गरेका पुर्खा सुरुमा झुलेनी डाँडोमा केही दिन बसेको तर पानी, सुरक्षा तथा अन्य सुविधाको अभावमा लुप्लुङ आई बसेको र त्यहीँबाट सो गोत्रिय भण्डारीहरुको देशभर फैलावटको किंवदन्ती भएको भण्डारी सामजका अगुवाहरु बताउँछन्  ।
कम्पनीले अब २० हेक्टर जमिनमा उत्खनन गर्ने
कम्पनी पक्ष अब आफुहरुले २० हेक्टर जमिनमा उत्खनन् गर्न पाउने बताएको छ । कम्पनीका फिल्ड प्रतिनिधि शिव अर्यालले कम्पनीको माइनिङ स्किम विकास गरि ४.९ हेक्टरबाट २० हेक्टर पुर्याइएको र सबै पारित भएर आएको तर्क गर्दै सबै क्षेत्रमा क्रमस उत्खनन् गर्दै जने बताए । उनले कतिपयले जग्गा विक्रि गर्न नमानेकाले उत्खननमा समस्या उत्पन्न भइरहेको बताए । हामीसँगको कुराकानीमा उनले स्थानीयहरुकै बेपरवाह र स्वार्थहरु बाँझिदा गाउँमा बेलाबेला समस्या उत्पन्न भइरहेको बताए  । खानी क्षेत्रमा देखिएका समस्या र कम्पनीका कमजोरीहरु पनि क्रममा सुधार गर्दै जाने बाताउँदै जाने पनि उनले जीकिर गरे । उसले अब तत्काल कम्तिमा पनि लाँकुरेगैरासम्म उत्खनन् गर्ने पक्का छ ।

जग्गा नदिंदा कम्पनीलाई समस्या
खानीको बिचमा रहेको स्थानीय खिमलाल पोख्रेल र शोभाराम वाग्लेको जग्गा खरिद गर्ने नपाएकोले माइनिङ स्किममा कैयौं समस्या आएको कम्पनीको ठहर छ । स्मरणीय कुरा के छ भने कम्पनी गलत ढंगले गाउँमा प्रवेश गरेको र सो बदनियत पूरा हुन नदिने उदेश्यले गाउँमा संघर्षहरु चलिरहेकोले सकेसम्म गाउँको ऐतिहासिकता जोगाउने र पर्यावरण नभत्काउने उदेश्यले निजरुले जग्गा विक्री नगरेको बताउदै आएका छन्  । यद्यपि सो जग्गाको बिक्रीवितरण रोकेर गाउँ नजोगिने आजका घटनाक्रमहरुले पुष्टि गरिसकेको छ  । किनकि तलमाथिका सबै जग्गा जमिन कम्पनी पक्षले खरिद गरिसकेको छ र उत्खनन् पनि गरिरहेको छ । कम्पनीले राष्ट्रिय पूंजीको विकास गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने कथित नारा बोकेर स्थानीय जनताको समृद्धिको ललिपप देखाईरहेको छ  । कम्पनीको चरम दोहन र गाउँमा देखिएको विकृत मनोविज्ञान हेर्दा अबको १०÷१५ बर्षमा सिङ्गो गाउँ नै कोल्ह्याप्स हुने निश्चित छ  । त्यसैले कम्पनी दलालहरुको ललिपपमा भुलेर सिङ्गो गाउँ नै धरापमा पार्ने र झुलेनिको विकास र समृद्धिको नारा ओकल्नुको कुनै तुक नरहेको भण्डारी समाजका समालोचक तथा अन्य स्थानीय अगुवाहरु बताउँछन्  ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation