अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक

७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज रानाले संयुक्त रुपमा विमोचन गरे। तत्कालीन ग्रामीण परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरेर लेखिएको उक्त सङ्ग्रहमा ६६ कविता समावेश छन् । कृतिमा राजनीतिक क्षेत्रमा देखिएका विसङ्गती, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटिएको छ ।

कृतिको समीक्षा गर्दै कवि अधिकारीले फरक शैलीमा स्थानीय भाषा र परिवेशअनुरुप शैलीको स्वाद दिनेगरी कवि अस्तित्वले शब्दचित्रमा उतारेको उल्लेख गरे । मानिसले आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविताले समेटेको बताए । “कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ”, उनले भने ।

कवि राधिका कल्पितले चिहानमाथि महल बनाइरहेको मान्छेभित्रका कविताले प्रत्येक पाठकलाई आफ्नै भोगाइ र सङ्घर्षको गहिराइको अनुभूति दिलाउने विश्वास व्यक्त गरिन् । उनले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताईन् । कविताले तत्कालीन द्वन्द्वकालमा रोल्पा जिल्लाको अवस्था, अध्ययनका लागि सहर छिरेको सङ्घर्ष आदिलाई पुस्तकले उजागर गरेको कवि कल्पितले बताइन ।

यस्तै कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको उल्लेख गरिन् । कवितामा कतिपय पात्र र परिवेशबारे कविताले स्पष्ट पार्न नसकेको टिप्पणी गरिन्। पुस्तकका लेखक घनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गरे । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation