नइजेरियामा मुस्लिम र इसाइ समुदायबीच झडप: ५५ जनाको मृत्यु

नाइजेरियाको पठार राज्यमा मुस्लिम गोठाला र इसाइ कृषक समुदायबीच झडप हुँदा ५५ जनाको मृत्यु भएको छ।

पठारको मङ्गू जिल्लामा गाईवस्तु लैजाने गोठाला र त्यहाँका बासिन्दाबीच झडप भएको अधिकारीहरूले बताएका छन्। इसाइ म्वाघवुल समुदायको संगठन म्वाघवुल विकास संघले फुलानी मुस्लिम गोठालामाथि क्वाहास्लालेक गाउँमा आक्रमण गरेको आरोप लगाएको छ। उसले आक्रमणमा आफ्नातर्फ ३० जनाको मृत्यु भएको जनाएको छ।

मुस्लिम समुदायको संगठन जमाअतु नसरिल इस्लाम (जेएनआई) को स्थानीय च्याप्टरका अध्यक्ष जाफरु मुसाले थप २५ मारिएको सूचना दिए। ‘हाम्रा धेरै मानिस मारिएका छन्। हामीले २५ शव फेला पारेका छौँ। शव यहाँ मस्जिदमा हामीसँग छन्’, उनले भने।

नाइजेरियाली रेडक्रसको रिपोर्टमा आक्रमणमा कूल ५५ को मृत्यु र एक सयभन्दा धेरै घाइते भएको उल्लेख छ। नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले विस्थापित करिब एक हजार ५०० मानिसका लागि दुई वटा शिविर स्थापना गरिएको जानकारी दिए।

पठारका गभर्नरले झडपपछि कर्फ्यु घोषणा गरेका थिए। २४ घण्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर विद्यालय, पूजास्थल र घर जलाइएको र लुटपाट गरिएको बताइएको छ।

नाइजेरियाका अधिकांश मुस्लिम उत्तर र मुख्यरूपमा इसाइहरू दक्षिणको बीच विभाजन रेखामा रहेको पठार अन्तरसाम्प्रदायिक हिंसाको केन्द्र हो। क्रिसमसका क्रममा अधिकांश इसाइ गाउँमा भएको आक्रमणमा करिब २०० मानिसको मृत्यु भएपछि तनाव बढेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation