कोशीको राष्ट्रिय सभा निर्वाचनले कांग्रेस–माओवादी सम्बन्धमा संशय उत्पन्न

कांग्रेसभित्रको ‘विद्रोह’ ले कोशी प्रदेश सरकारको नेतृत्व गर्नबाट वञ्चित भएको माओवादीलाई राष्ट्रिय सभा चुनावमा कोशीमै अर्को झट्का

गठबन्धनप्रति कांग्रेसलाई कुनै संशय छैन तर माओवादीभित्र एकथरी नेताहरू एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो, मिलाउन खोज्ने विभिन्न फ्याक्टर सक्रिय थिए/छन् । -शेखर कोइराला, नेता, कांग्रेस

कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामले राजनीतिमा नयाँ मोड आएको छ, कांग्रेससाग गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं । -वर्षमान पुन, उपमहासचिव, माओवाद

१४ माघ, काठमाडौँ : राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवादीका केही नेताले सत्ता गठबन्धनमा नै पुनर्विचार गर्नुपर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । गठबन्धनको मुख्य घटक कांग्रेसका नेताहरूले भने कोशीलाई देखाएर माओवादीले सत्तामा थप ‘बार्गेनिङ’ बढाउन खोजेको आशंका गरेका छन् ।

राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझा उम्मेदवार अघि सारेको थियो । ६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आए पनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो । कोशीबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग हार्न पुगेकी थिइन् । यस्तो परिणाम आउनुमा माओवादी नेताहरू कांग्रेसभित्रको अन्तरकलह मुख्य कारण रहेको ठान्छन् ।

कांग्रेस नेता शेखर कोइराला भने यसलाई मान्न तयार छैनन् । माओवादीलाई कांग्रेसबाट नभएर अन्यत्रबाटै धोकाधडी भएको हुन सक्ने उनको बुझाइ छ । ‘गठबन्धनप्रति कांग्रेसलाई कुनै संशय छैन । कोशीकै कारणले यो गठबन्धन टुट्छ भन्ने एक प्रतिशत पनि लाग्दैन । तर, माओवादीभित्र एकथरी नेताहरू हिजोदेखि नै एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । मिलाउन खोज्ने विभिन्न फ्याक्टरहरू सक्रिय थिए/छन्,’ कोइरालाले भने, ‘अहिले पनि कोशीलाई देखाएर त्यस्तै प्रयास भएको पनि हुन सक्छ । तर मैले बुझेसम्म गठबन्धन दायाँबायाँ होला भन्ने लाग्दैन ।’

कोशीमा माओवादीले कांग्रेसबाट बारम्बार धोका खाएको भन्दै माओवादीका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनमै पुनर्विचार गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । गृहजिल्ला रोल्पामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँगको प्रशिक्षणमा पुनले हरेक पटकका निर्वाचनमा माओवादीले इमानदारिताका साथ मत दिने तर कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको बताएका छन् ।

‘कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामले राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँग गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं,’ पुन भन्छन्, ‘यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउँदै आए पनि अब यतिले मात्रै पुग्दैन ।’ कोशीको गठबन्धनबाट हात झिक्नुपर्ने दबाब पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई रहेको एक नेताले बताए । ‘केन्द्रीय गठबन्धनका बारेमा छलफल गर्दै जाउँला तर कोशी सरकारमा अब कांग्रेससँग गठबन्धन गरेर जान सकिन्न भन्नेमा माओवादीका खासगरी प्रदेशस्तरका नेताहरूको अध्यक्ष दाहाललाई बढी नै दबाब छ,’ ती नेताले भने ।

केही महिनाअघि मात्रै कोशी प्रदेशमा कांग्रेसभित्रको ‘विद्रोह’ को कारण माओवादी मुख्यमन्त्री पाउनबाट वञ्चित भएको थियो । त्यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारको पक्षमा संसदीय अंकगणित पुर्‍याउन बाबुराम गौतमले सभामुखबाटै राजीनामा दिएका थिए । अनिच्छा हुँदाहुँदै पनि गौतमले प्रधानमन्त्री दाहालको निर्देशनमा राजीनामा दिएका थिए । त्यति गर्दा पनि थापा नेतृत्वको सरकार कायम राख्न दुई–दुई पटकको जोडबल काम नलागेपछि उनी सरकारबाट हटे । तेस्रो चरणमा गठबन्धनको केन्द्रीय बैठकले नै माओवादीका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

कांग्रेस नेता शेखर कोइराला पक्षका ८ जना सांसदले पार्टीबाटै ‘विद्रोह गरेर’ एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए । कोशीमा माओवादीले मुख्यमन्त्री, सभामुख मात्रै नभएर अहिले राष्ट्रिय सभा सदस्यसमेत कांग्रेसका कारणले गुमाएको भन्दै कांग्रेससँगको गठबन्धनप्रति माओवादीको संशय बढेको हो । माओवादीका महासचिव देव गुरुङले कोशीको परिणाम कांग्रेसभित्रको अन्तरविरोधको उपज रहेको बताए । ‘यस विषयमा कांग्रेसले गम्भीरतापूर्वक समीक्षा गर्छ भन्ने हामीलाई लागेको छ,’ गुरुङले भने । उपमहासचिव पुनले भने एकपछि अर्को घात गर्ने र नेतृत्वले हामीभित्र समस्या छ भनेर भन्दैमा अब माफी नपाउने बताए ।

शनिबार नै प्रधानमन्त्री दाहालसँग विभिन्न एजेन्डामा छलफल गरेका कांग्रेस नेता चन्द्र भण्डारीले कोशीलाई कारण देखाएर गठबन्धन टुटाउने कुरा कसैले नचाहेको बताए । ‘निर्वाचन परिणामलाई लिएर समिक्षा हुनुपर्छ । तर, गठबन्धन नै परिवर्तन गरेर फेरि राजनीतिलाई अस्थिरतातिर लैजाने काम गर्न हुन्न । प्रधानमन्त्री पनि गठबन्धनलाई तलमाथि पार्ने पक्षमा हुनुहुन्न,’ उनले भने ।

संस्थापनपक्षीय कांग्रेसका एक नेताका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पनि माओवादी उम्मेदवार पराजित भएका घटनाप्रति गम्भीर छन् । यस्ता घटनाले कालान्तरमा सत्ता सहयात्रामा नै तलमाथि हुने को कि भन्ने संशय देउवालाई पनि परेको छ । यसअघिका घटनालाई देउवाले पार्टीभित्रको आन्तरिक समस्या देखाएर टार्दै आएका थिए । तर, यस पटक देउवामाथि पनि नैतिक प्रश्न उठेको छ ।

राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले कोशी घटनामा कांग्रेसभित्र गम्भीर समीक्षाको आवश्यकता भएको बताए । अर्का केन्द्रीय सदस्य गोविन्द पोखरेल माओवादी नेताहरूले असन्तुष्ट कार्यकर्ताहरूको चित्त बुझाउन कांग्रेसमाथि आक्रोश पोखिरहेको बताए । माओवादीले सत्ताको बार्गेनिङका लागि पनि कोशी घटनालाई कारण बनाउन सक्ने आशंका पोखरेलले गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation