यू–१९ विश्वकप – सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै

खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ।

नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो।  पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो।

समूह चरणका खेलमा बंगलादेशले अमेरिकालाई १२१ रन र आयरल्याण्डमाथि ६ विकेटको जित निकालेको थियो। भारतसँग भने ८४ रनले पराजित भएको थियो।

नेपाल र बंगलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। विश्वकपमा यि दुईबीच सन् २००२ मा न्यजिल्याण्डमा पहिलो  प्रतिस्पर्धा भएको थियो। जहाँ नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो। दोस्रो पटक सन् २०१६ मा बंगलादेशमै भएको विश्वकपमा नेपाल ६ विकेटले पराजित भएको थियो।

त्यस्तै यू–१९ एसिया कपमा २ पटक भेट हुँदा दुवै खेलमा बंगलादेश विजयी भयो।  सन् २०१९ मा बंगालादेशले नेपाललाई ६ विकेटले हराएको थियो भने २०२१ मा १५४ रनको फराकिलो अन्तरले हराएको थियो।

समूह ‘डी’ को तेस्रो हुने टोलीले समूह ‘ए’ को पहिलो र दोस्रो स्थानसँग खेल्ने प्रावधान अनुसार नेपालले भारत र बंगलादेशसँग खेल्न लागेको हो।

दोस्रो खेलमा माघ १९ गते नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारत अण्डर नाईन्टिन विश्वकपकै सर्वाधिक सफल टोली हो । ५ पटकको विश्वकप विजेता भारत ३ पटक उपविजेता भइसकेको छ।

नेपाल र भारतबीच विश्वकपमा यसअघि २ खेल भइसकेको छ। जहाँ नेपालले दुवै खेल गुमाएको छ। श्रीलंकामा सन् २००० मा भएको तेस्रो संस्करणमा भारतसँग ८ विकेटले हारेको नेपाल २०१६ मा भएको खेलमा ७ विकेटले पराजित भएको थियो।

यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation