गण्डकी प्रदेशमा एक वर्षमै करिब तीन अर्बको सुन्तला उत्पादन

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार प्रदेशका ११ जिल्लामध्ये हिमालपारिको दुई जिल्ला मनाङ र मुस्ताङ बाहेकका जिल्लाहरूमा ५४ हजार दुई सय २८ मेट्रिक टन निर्यात भएको छ।

औसतमा प्रतिकिलो ५५ रुपैयाँ दरले सुन्तलाको मूल्य कायम गर्दा दुई अर्ब ९८ करोड २५ लाख ४० हजार रुपैयाँको कारोबार भएको तथ्याङ्क निर्देशनालयमा छ।

गोरखा जिल्लामा सात सय ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीको सम्भावना रहेको भए पनि छ सय ६३ हेक्टर क्षेत्रफलमा चार हजार नौ सय ७२ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। औसतमा ५५ रुपैयाँका दरले गोरखामा उत्पादन भएको सुन्तलाको मूल्य २७ करोड ३४ लाख ६० हजार रुपैयाँ हुन आउँछ।

लमजुङमा एक सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीको सम्भावना रहेको भए पनि ७० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती गरिएको छ। जसमा चार सय ५० मेट्रिक टन उत्पादन हुँदा त्यसको मूल्य दुई करोड ४७ लाख ५० हजार रुपैयाँ हुन आउँछ।

तनहुँमा एक हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला फलाउन सकिने भए पनि नौ सय ६० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती गरिएको छ। जसमा ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा ६३ करोड, ३४ लाख, ९० हजार रुपैयाँ जिल्लाका लागि आम्दानी भएको छ।

यस्तै, कास्कीमा सात सय छ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ। जबकि सुन्तला खेती गरेको भए आड सय २२ हेक्टर क्षेत्रफलमा उत्पादन हुन सक्थ्यो। तर, पनि लगाइएको क्षेत्रफलमा पाँच हजार चार सय २३ मेट्रिक टन सुन्तला उत्पादन हुँदा त्यसको मूल्य २९ करोड ८९ लाख २५ हजार रुपैयाँ पर्न आएको छ।

पर्वतमा सुन्तला उत्पादनको लागि आठ सय ३५ हेक्टर क्षेत्रफल उपयुक्त रहेको भए पनि जम्मा चार सय ६० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती हुँदै आएको छ।

जसमा चार हजार १५ मेट्रिक टन सुन्तला उत्पादन हुँदा त्यसको आम्दानी २२ करोड आठ लाख २५ हजार रुपैयाँ भएको छ। गण्डकीका नौ जिल्लाहरूमध्ये स्याङ्जा जिल्ला सुन्तला उत्पादनको सबैभन्दा बलियो जिल्ला हो।

दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेतीको सम्भावना रहेको भए पनि त्यहाँको एक हजार तीन सय २० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती गरिएको छ।

उक्त क्षेत्रफलमा १९ हजार ९० मेट्रिक टन सुन्तलाको कारोबार भएको छ। जसको औसत मूल्य एक अर्ब चार करोड, ९९ लाख, ५० हजार रुपैयाँ हुन आउँछ।

महानिर्देशक रेग्मीका अनुसार म्याग्दीमा सात सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेको भए पनि चार सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइको छ।

उक्त क्षेत्रफलमा यस वर्ष तीन हजार छ सय मेट्रिक टन सुन्तला फल्दा कृषकहरूले १९ करोड, ८० लाख रुपैयाँ आम्दानी गरेका छन्। बागलुङमा छ सय ५८ हेक्टर क्षेत्रफलमा सुन्तला लगाउन सकिने भए पनि तीन सय ७७ हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला खेती गरिएको छ।

जसमा तीन हजार नौ सय २० मेट्रिक टन सुन्तला फल्दा २१ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।

निर्देशनालयको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा एक सय ७२ हेक्टर क्षेत्रफलमा सुन्तला खेतीका लागि उपयुक्त भूमि रहेकोमा एक सय ३५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको छ। जसमा एक हजार दुई सय मेट्रिक टन सुन्तला उत्पादन हुँदा त्यसको मूल्य छ करोड ७४ लाख ८५ हजार रुपैयाँ परेको छ।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation