राष्ट्रपति रनिङ शिल्ड मुक्ति माविलाई

प्युठान।प्युठान नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मुक्ति मावि रातामाटा प्रथम भएको छ ।तीन संस्थागत र एघार सामुदायिक गरी चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा २५ स्वर्ण पदकसहित वडा नं -३ रातामाटा गाउँको उक्त विद्यालय प्रथम भएको हो ।

५ विधामा सञ्चालन भएको प्रतियोगितामा २४ वटा खेल समावेश गरिएको नगरपालिकाले जनाएको छ।प्रतियोगितामा १४ स्वर्ण पदकसहित वडा नं-८ बाग्दुलास्थित जनता मावि दोस्रो भएको छ भने ७ स्वर्णपदकसहित वडा नं-९ मरन्ठानास्थित वालविद्या मावी तेस्रो भएका छन् । माघ १९ गतेदेखि सुरु भएको सो प्रतियोगितामा नतिजाका निम्ति ५४ स्वर्णमा प्रतियोगिता गराइएको पालिकाले जनाइएको छ।

विजयी विद्यालय तथा विद्यार्थीलाई आइतबार  साँझ गणतान्त्रिक खेलमैदान विजुवारमा आयोजना गरिएको समापन कार्यक्रममा नगरपालिका उपप्रमुख देवेन्द्र वर्माले पुरस्कार प्रदान गर्नुभएको छ।

प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरपालिका उपप्रमुख वर्माले खेल क्षेत्रको विकास र प्रवर्द्धनको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने सरकारको नारा नै छ। खेल क्षेत्रको विकासमा नगरपालिकाले के गर्नुपर्छ हामी त्यो गर्छौँ”, उहाँले भन्नुभयो, “हामीले हारलाई अवसरको रुपमा लिनुपर्छ। साथै उहाँले अब शुरु हुन लागेको जिल्लास्तरीय प्रतियोगितामा नगरपालिकाका कबड्डी र भलिबल खेलका खेलाडीहरुलाई २२,२३ र २४ गतेसम्म तयारी कक्षमा राखी तालिम गराईने बताउनुभयो।

अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ । नौ स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २५, २६ र २७ गते गणतान्त्रिक खेलमैदान बिजुवारमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख ओमलाल नेपालीले जानकारी दिनुभयो । बार्हौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि प्युठान नगरपालिकाले उचालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation