संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै

२२ माघ, काठमाडौं 

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ।

संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ। हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन्। आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्नेको मनोनयनको निर्णय सुनाउनेछन्। यस्तै बैठकमा  राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९“ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने उल्लेख छ।

यस्तै, अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८०० पेश गर्नेछन्।

यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्नेछन्

के छ दलहरुको तयारी

दलहरुले यस बीचमा संसदीय दलको बैठक सम्पन्न गरिसकका छन्। माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रश्तुत हुने तयारी गरेको छ।

देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ। सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

एमालेका सचेतक महेश बर्तौलाले संसदले कानून बनाउने काम पाउनुपर्नेमा आफूहरु सचेत रहेको जनाकारी दिएश्र उनले विवगतमा सरकारले संसदलाई भुमिका बिहिन बनाएको भन्दै आगामी दिनमा पनि त्यसो गरिए सशक्त प्रतिवाद गरिने चेतावनी दिए। सरकारले संविधान र कानून विपरितगरेका गतिविधिहरुको संसदमार्फत भण्डाफोर गरिने पनि उनको भनाइ छ।

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताइन्।

कांग्रेसका सांसद जीवन परियारले आगामी अधिवेशनमा कानून निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै ऐन, कानूनहरु अझै नबनेका भन्दै ति कानूनहरु बनाउन ध्यान पुर्याइने बताए।

सत्तारुढ नेकपामाओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताए। उनले कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation