निराशालाई आशा र उत्साहमा बदलौँ- प्राणमञ्च सम्पादकीय

आजको मानिस आफ्नो खुसी बेचेर सुख किन्ने प्रतिस्पर्धामा छ । स्वदेशमा कुनै सम्भावना नदेख्ने नेपाल सरकारको स्थायी जागिरेसमेत गरी हरेक दिन झण्डै ३ हजार विदेशीरहेका छन् भने औसत ५ वटा लासहरु आफन्तहरुले बुझ्न विवश छन् । राजनीतिक नेतृत्वले रेमिट्यान्सबाट देशको अर्थराजनीति हाँकिरहेका छन् । देश, माटो र परिवेशको समयबोध हुन नसक्दा अधिकांश मानिस विलासको आशक्तिमा डुबेर दुर्घटनामा परिरहेका छन् । यसो त विज्ञान प्रविधिको दुनियाँमा आएको अभूतपूर्व क्रान्तिले मानिसलाई सारा विषयवस्तुको जानकारी दिनुको साथै त्यसको दुरुपयोगबाट बच्न नसकेकाहरुलाई आधुनिक रोबोटमार्फत दास मनोविज्ञानमा फसाइरहेको छ ।
 भ्रष्ट पुँजीवादीकरणले हर मानिसमा चरम व्यक्तिवाद र महत्वकाङ्क्षा पैदा हुनु स्वभाविक नै हो । तर संसार बुझ्ने र यसलाई बदल्ने मुख्य भूमिकामा रहेको युवा वर्ग लागुऔसध दुव्र्यसनी, हत्या– हिंसा, बलात्कार, चोरीडकैति र जुवातासको आहलमा डुबेर अन्धविश्वास र रुढीवादी तन्त्रमन्त्रमा लिप्त भएको छ । समाज र मुलुकलाई सही निकास दिनुको सट्टा यावत् कारणले गर्दा मानिस निजी मामलाबाट मुक्त हुन सकेको छैन ।
जीवन र दर्शनमा भुत्ते बुझाई राख्ने आजको जमातले न इतिहासको सम्मान गर्नेछ, न वर्तमानको उचित कार्यक्रम ल्याउन सक्छ, न त सुदुर भविष्यको निम्ति आशावादी छ । हामीले यहि गतिमा आफ्नो जिम्मेवारी बिर्सिएर समाजमा अल्पज्ञान, अज्ञानताको हानिकारक विष फैलाउने हो भने त्यो भावी पुस्तको लागि सबैभन्दा हानिकारक हुनेछ  ।
समाजमा हरेक कुराको सीमा हुन्छ । हामीले के खाने, कति खाने, किन खाने, कसरी खाने र कोसँग खाने भनेजस्तै सोही कुरा पढाइमा, बुझाइमा, गराइमा र सोचाइमा पनि लागू हुन्छ । हामीले हाम्रो समाज र मुलुकको आवश्यकतालाई समयमै पहिचान गर्नुपछ ।
प्रगतिशील विचारसहितको स्पष्ट विश्व दृष्टिकोण निर्माण गर्दै आत्मनिर्भर उत्पादनको विकास र सुझबुझसहितको सामाजिक–साँस्कृतिक एवम् आर्थिक निकास दिने संकल्प गर्नु हाम्रो पहिलो र अनिवार्य सर्त हो ।  हामीले आफ्नो  अन्तरनिहित प्रतिभाको सिर्जनशील र रचनात्मकताको आधारमा प्रष्फुटन गर्दै समाजमा आशा र विश्वासको नयाँ चिराग सल्काउन जरुरी छ ।
 विवेक र बिज्ञानसङ्गत तर्कहरुलाई लल्कार्दै जाने हो भने हरेक कोणबाट भड्खालोमा फसेको समाजलाई कसरी निकास दिन सकिन्छ ?
हामीले दृढतापूर्वक चाहना राख्यौँ र इमानदारीपूर्वक तन, मन र वचनले पौरख ग¥यौँ भने हाम्रै पाखा पखेरीहरुमा सुन्दर जीवन फुलाउन सक्छौँ । निष्ठा र त्यागको राजनैतिक प्रतिस्पर्धा गर्ने÷गराउने वातावरण तयार गर्न सक्छौँ ।
तलदेखि माथिसम्म व्याप्त विकास र निकासको भ्रष्ट चरित्र भताभुङ्ग पार्ने चेष्टा आजको नयाँ पीढीमा विजारोपण भयो भने मुलुक लिलाम गर्नेहरु विरुद्ध आगो ओकल्न सक्छौँ । हाम्रै माटो, यहाँको सामाजिक र सांस्कृतिक रहनसहन र चालचलनहरुमा सुन्दरता थप्दै एक्काइसौं शताब्दीको बिज्ञान प्रविधिमा आधारित प्रगतिशील सामाजिक चेतनाको संस्कार बसाउन सक्छौँ । आफ्नो योग्यता र दक्षताको वास्तविक अवस्था भन्दा बाहिर गएर गरिएको देखासिखी चेतनाले पतनको दिशामा घिसारिरहेको पत्तो नपाउनु नै आजको समाजको मुल समस्या हो । तथाकथित धर्मको नाममा हाम्रो संस्कारमा जकडिएको विभिन्न कुरिती, कुसंस्कार र कुसंस्कृतिलाई जरैदेखि उखल्न जरुरी छ ।
 समाजमा विद्यमान विभिन्न बिज्ञानसम्बद्ध तथ्यहरुलाई आलौकिक व्याख्या नगरीकन स्विकारे सबै कुरा ठिक ठाउँमा जान्छ । अतः राजनीतिलाई घृणा गर्दै विचार दृष्टिकोण र आदर्शलाई लत्याएर खुसी बेचेर सुख किन्न भौतारिरहेको जमातले सहि प्रकारको वर्गदृष्टि, वैज्ञानिक चिन्नत र सरल जीवनयापनको सुसंस्कार बसाल्दै उच्च ज्ञान र चेतनाले भरिपूर्ण हुन ढिलो भइसकेको छ । नयाँ पीढीले यसो गर्न नसके सबल र आधुनिक विकासको लागि उच्च संवेदनशील मानव समाजको निर्माण सम्भव छैन ।
पछिल्लो तथ्यांक हेर्दा पुस महिनामा मात्रै ६५ हजार बढीले मुलुक छोडेका छन् । एक वर्षमा लाखौँले सम्पूर्ण रुपले देश छोड्ने गरी अन्य देशको ग्रिनकार्ड, पिआर वा नागरिकता ग्रहण गरेका छन् । देशभरका विश्वविद्यालयहरु विद्यार्थीबिहिन हुँदै गएका छन् । यो मुलुकको निम्ति सबैभन्दा दुर्भाग्यपूर्ण विषय हो । आफ्नो मुलुकमा कसैगरी सुन्दर भविष्य निर्माणको खातिर लागि नपर्नु तिव्र महत्वकाङ्क्षा, पलायन, निराशा, कुण्ठा साँध्नुबाहेक केही होइन ।
 त्यसकारण माथिदेखि तलसम्म सबै निकायमा नीतिगत भ्रष्टाचारको जालो भएकोले वर्तमान दलका कारिन्दाहरुबाट मुलुकमा विद्यमान जटिल समस्याहरुको निवारण सम्भव छैन । सम्पूर्ण उत्पीडित एवम् स्वाधीन जनहरु एकताको सूत्रमा जुटेर ठुलो त्यागपूर्ण संघर्ष अनिवार्य छ । हामी कहाँ कसरी उभिएका छौँ भन्ने कुरालाई गम्भीर ढंगले बोध गरेर हाम्रै समाजमा रहेका अथाह सम्भावना र अवसरलाई उपयोग गर्दै भावी पुस्तालाई नयाँ आशा र विश्वास जगाउन आफ्नो युगीन भूमिकामा उभिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation