गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोशाक

२३ माघ, काठमाडौं

प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। त्यसैकारण केही अघिसम्म उनी प्रहरी पोशाकविनै उनी कार्यालय जान्थिन्।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, अहिले भने उनी बेग्लै पोशाकमा कार्यालय जान्छिन्। नेपाल प्रहरीले छुट्टै पोशाक व्यवस्था गरेपछि उनीजस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन्।

गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो। गर्भभित्र हुर्किँदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोशाक सर्ट र पाइन्ट बाधक थियो। पाइन्टमा बेल्ट लगाउनु शिशुका लागि ठिक हुँदैन। छालाको बुट कसेर बाँध्ने गर्दा गर्भावस्थामा खुट्टा सुनिने, हिँड्न गाह्रो हुने गर्थ्यो।

चिकित्सकले सजिला कपडा लगाउन सुझाव दिने गरेको सम्झँदै भुसालले भनिन्, ‘बस्न, निहुरिन, शौचालय जान र हिँडडुल गर्न सो पोसाकमा गर्भवती प्रहरीका लागि सहज थिएन।’ अहिले पाएको पोशाक पाएपछि सहज भएको उनी बताउँछिन्। गाउनको डिजाइनको सो पोसाकले लगाउन र काम गर्न सजिलो भएको अनुभव उहाँ जस्तै गर्भवती प्रहरी बताउँछन्।

केही दिनअघि बच्चा जन्माएकी महिला प्रहरी सञ्जु गुरुङ गर्भवती हुँदा सर्टपाइन्ट लगाउन नसकेको अनुभव सुनाउँछिन्। गर्भवती अवस्था सुहाउँदो प्रहरी पोशाक नहुँदा अन्य सर्वसाधारण महिलाले लगाउनेखालका कुर्थासुरुवाल लगाएरै कार्यक्षेत्रमा खटिएको उनले बताइन्।

महिला प्रहरी अनिता भुसालका अनुसार पनि हरेक महिना बढ्ने गर्भका कारण आफैँ नयाँ प्रहरी पोसाक सिलाएर लगाउन कठिन थियो। उनले भनिन्, ‘गर्भवती भएको जानकारी कार्यालयमा गराएपछि सहज हुने कपडा लगाएर आउनु भन्नुहुन्थ्यो। हामी त्यसै गर्थ्यौँ।’ अब गर्भवती हुने महिला प्रहरीका लागि पोशाककै कारण अप्ठ्यारा दिन सकिएको उनी सुनाउँछिन्।

नेपाल प्रहरीले गर्भवती महिलाका लागि नयाँ पोशाक निःशुल्क वितरण थालेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार सुरुवाती चरणमा ३७० गर्भवती प्रहरीलाई गर्भावस्था अनुकुलको पोशाक दिइएको छ।

गर्भवती प्रहरी कर्मचारीलाई काम गर्न गाह्रो भएको विषयलाई गम्भीरतासाथ मनन गरी विदेशको चलनचल्ती पनि अध्ययन गरेर छुट्टै पोशाक दिने निर्णय भएको उनले बताए।

-था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation