लगानी प्रबर्द्धनका लागि वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने- प्राणमञ्च अपडेट

इप्पान अध्यक्ष गणेश कार्कीले १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने सरकारी लक्ष्यलाई सहयोग गर्ने गरी सम्मेलन गर्न लागेको बताए । समग्र ऊर्जा विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

‘साथै, १२ वर्षमा १३ हजार ५०० मेगावाट विद्युत् आन्तरिक रूपमा खपत गर्ने योजना सरकारले अघि सारेको छ,’ उनले भने, ‘नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ । यस्तो अवस्थामा जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो ।’

यस्तै, इप्पान उपाध्यक्ष आशिष गर्गले लगानी सम्मेलनलाई समेत सहयोग पुग्ने गरी एक्स्पो गरिने बताए । ‘स्वदेशी तथा विदेशी लगानीकर्ता उपस्थित हुने एक्स्पोमा विभिन्न विषयमा अन्तत्र्रिmयासमेत हुनेछ । त्यसले उनीहरूलाई नेपालमा लगानी गर्न आकर्षित गर्नेछ,’ उनले भने, ‘त्यसले लगानी सम्मेलनलाई सफल बनाउन सहयोग पुग्नेछ ।’ ऊर्जामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

 

नेपालका साथै विभिन्न मुलुकका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाबीच पारस्परिक सहकार्यमा समेत एक्स्पोले सहजता ल्याउने इप्पानका महासचिव बलराम खतिवडाको विश्वास छ । जलविद्युत्को बजार विस्तारका साथै बाह्य लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने इप्पानको योजना रहेको खतिवडाले बताए ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान–प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ  एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डीलगायत २०० स्टल रहने र तीमध्ये झन्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानको भनाइ छ । एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोबाट २५ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान–प्रदान हुने इप्पानको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation