मृत्यु संस्कारमा वृक्षारोपण, गरिएन काजकिरिया !

भौतिकवादी समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा भौतिकवादी मृत्यु संस्कार भौतिकवादी ढंगले बिहीबार महोत्तरीको रतवारामा सम्पन्न भएको छ । समाजको केन्द्रीय सदस्य शंकर प्रसाद रायको आमाको मृत्युको आज सातौं दिनमा शोक तथा समवेदना सभाको संचालन गर्दै केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादी संस्कार कुनै जडता नभएको हुनाले सबैखाले अन्धविश्वास र रूढिवादको बिरूद्ध दृढतापूर्वक उभिनुपर्नेमा जाेड गर्नुभयो ।

आमा शिवज्योति देवीको सम्झनामा पाँच वटा रूख रोपेर शुरू भएको समबेदना सभामा कान्छा छोरा शंकर प्रसाद रायले आमाको जीवनी तथा आमाले राय परिवारलाई लगाएको गुन बारेमा बिस्तृत जानकारी गराउनुभयो ।

 

सोही क्रममा शंकरले ब्राह्मणवादी संस्कृति संस्कारमा मृतकलाई प्रेत बनेर मृतभुवनमा भट्की रहने काल्पनिक त्रास देखाएर दश दिनसम्म पिण्डदान गर्नाले प्रेतबाट शरीरको दशवटा अंग तयार हुने र बाहुनलाई मनग्य दान गरे प्रेतात्मा स्वर्ग जाने कुरा सोह्र आना झुठो रहेको बताउनुभएको थियो ।

उहाँले आफ्नो दुईवटा छोरालाई समाज कै अगाडि – म मरेपछि मेरो कुनैपनि प्रकारको धार्मिक कर्मकाण्ड नगर्नु भनी सार्वजनिक घोषणा गर्नुभएको थियो । आमालाई जलाएपछि आज सातौं दिन शोक तथा समवेदना सभा गरेपछि मृत्यु सम्बन्धि सम्पुर्ण संस्कार सकेको र केही पनि गर्न बाँकी नरहेको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा मधेस प्रदेशको कोष तथा लेखा नियन्त्रक डा. वीरेन्द्र कुमार मिश्रले भौतिकवादी ढंगले जीवन यापन गर्दा बढी खुसी, सुखी र शान्तिको अनुभुति हुने भएकोले संस्कारहरू गर्दा पनि अध्यात्मवाद अपनाउनु भन्दा भौतिकवादी संस्कार अर्थात् अन्धविश्वास मुक्त भएर अगाडी बढ्नु राम्रो हुने बताउनुभयो । सोही क्रममा स्थानीय श्याम मण्डलले समवेदना व्यक्त गर्दै विज्ञानको युगमा अन्धविश्वास रूढिवाद मान्न अब सुहाउँदो नभएको बताउनुभयो ।

सभामा समाजको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले जीवन व्यवहारमा अन्धविश्वासी र अन्धभक्त बन्नुभन्दा तर्कशील बन्नु श्रेष्ठकर रहेको बताउँदै मधेसी समुदायमा एउटा ब्राह्मणले धार्मिक कर्मकाण्ड अनुसार मृत्यु संस्कार नगर्नु निकै ठूलो कुरा भएको बताउँदै संसारभरी हिन्दू धर्मावलम्बी जम्मा १५.२ प्रतिशत रहेको तर नास्तिकहरू झण्डै १७ प्रतिशत रहेकोले नेपाल सरकारले पनि अब जनगणना गर्दा नास्तिक ( अनीश्वरवादी ) काेलम राख्न जोडदार माँग गर्नुभयो ।


शोक सभामा समाजको केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका अध्यक्ष रामदेव पाण्डेले आफूपनि बुवाआमाको मृत्यु संस्कार गर्दा कुनै धार्मिक कर्मकाण्ड नगर्दा तात्कालीन अवस्थामा समाजले अन्धविश्वास रूढिवाद छोड्दा बहिष्कृत हुनुपरेको घटना सम्झँदै जिवित छँदा बाबुआमालाई सम्मान गर र सुख देउ भन्ने आसयको कविता गितको लयमा सुनाउनु भयो ।
भौतिकवादी समाज नेपालको चितवन जिल्ला अध्यक्ष ओमनआथ पाण्डेले माडी नगरपालिकामा पहिलो पटक बुवाको कृया बहिष्कार गर्दा निकै नकारात्मक चुनौतीहरूको सामना गर्नुपरेको भएपनि आज त्यहाँ पचास घरपरिवारले कृया बहिष्कार गरेको बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा क्रान्तिकारीको पोलिटब्युरो सदस्य देवनारायण साहले कम्युनिष्ट पार्टीका कार्यकर्ताले गर्नुपर्ने कार्य भौतिकवादी समाज नेपालले गरेकोमा बधाई तथा धन्यवाद दिंदै आफुहरु पनि सामाजिक परिवर्तनको यस महान कार्यमा ऐकेवद्धतआ जाहेर गर्न  उपस्थित भएको बताउनुभयो । शोकसभामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालकाे मधेस प्रदेश इन्चार्ज मदन प्रभातले समाजमा वैज्ञानिक विचारधारालाई प्रवाह गर्ने कार्य भौतिकवादी समाज नेपालले गरेकोमा बधाई दिदै क्रमशः समाज अब अन्धविश्वासबाट मुक्त हुने भन्दै आमाप्रति समवेदना व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा भौतिकवादी समाज नेपालको केन्द्रीय सदस्यहरू इन्द्रदेव यादव, मोहर्रम नदाफ, गोबिन्द विश्वकर्मा लगायतकाले आ-आफ्नो अनुभूति तथा समवेदना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation