गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार , एकताबद्ध हुन इस्लामिक देशहरूलाई आह्वान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रबार गाजापट्टीमा जारी इजरायली आक्रमणको प्रतिक्रियामा एकताबद्ध हुन इस्लामिक देशहरूलाई आह्वान गरेका छन्।

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग युवा मञ्चको पाँचौँ महासभामा सम्बोधन गर्दै उनले  इजरायलले गरेको मानवताविरुद्धको अपराध र युद्ध अपराधलाई अन्तरराष्ट्रिय क्षेत्रमा नजरअन्दाज नगर्ने सुनिश्चित गर्न कडा मेहनत गरिरहेको बताए।

‘हामी हाम्रो कूटनीतिक सम्पर्क जारी राखिरहेका छौँ ताकि इस्लामिक देशहरूले गाजामा इजरायली क्रूरता विरुद्ध एकजुट हुन सकून्’,  उनले भने। उनले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र विश्वव्यापी रूपमा मान्यता प्राप्त प्यालेस्टाइन राज्यको स्थापनालाई समर्थन गर्ने टर्कीको प्रतिबद्धता दोहोर्‍याए।

‘हामी हाम्रो संघर्ष जारी राख्नेछौं जबसम्म एक स्वतन्त्र र क्षेत्रीय रूपमा एकीकृत प्यालेस्टाइन राज्यको स्थापना पूर्वी जेरुसेलमको राजधानीको रूपमा १९६७ सीमानामा हुँदैन’, एर्दोगानले भने।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा  एक्कासी आक्रमण गरी एक हजार २००  जनाको हत्या गरेपछि इजरायलले हमासशासित गाजाविरुद्ध ठूलो सैन्य आक्रमण  गरिरहेको छ।

त्यसयता इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

– था.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation