नेपालको पुरानो विमानस्थल मानिने दाङको टरिगाउँ विमानस्थल चलाउन सकस

२७ माघ, दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको  गौतमबुद्ध विमानस्थल प्रयोग गर्दछन् । दाङ र आसपासका बासिन्दा तथा व्यवसायीको नियति पनि यस्तै नै छ ।

नेपालको पुरानो विमानस्थल मानिने दाङको टरिगाउँ विमानस्थलमा नियमित उडान नहुँदा यस्तो समस्या भएको हो । टरिगाउँ विमानस्थल साँघुरो भएको भन्दै दाङको नारायणपुरमा विमानस्थल निर्माण गर्न पहल भएको एक दशकभन्दा बढी समय भए पनि ठोस काम भएको छैन । परिणामस्वरुप दाङ जिल्लावासीले विमान सेवा प्रयोग गर्न नेपालगञ्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता छ ।

टरिगाउँमा नियमित उडान नहुँदा आफूहरूलाई काठमाडौँ जान परे गौतमबुद्ध विमानस्थल र नेपालगन्ज विमानस्थल पुग्नु परेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बताइन् ।

२०११ सालमा स्थापना भएको दाङस्थित टरिगाउँ विमानस्थल ३१ वर्षसम्म सुचारु थियो । यो विमानस्थल ०४२ सालमा बन्द भएको थियो । ०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा फेरि खुलेको विमानस्थल ०६६ सालमा बन्द भयो । ०६८ माघपछि तुलसीपुर उद्योग वाणिज्य संघकै पहलमा नेपाल वायुसेवा निगमसँग विभिन्न सम्झौता गर्दै विमानस्थल फेरि सञ्चालनमा ल्याइयो तर, त्यो नौ महिनाभन्दा धेरै टिक्न सकेन ।

यसरी पटक–पटक बन्द हुने र खुल्ने गरेको यो विमानस्थल ०७५ असोजदेखि तुलसीपुर उपमहानगरपालिकाको पहलमा फेरि सञ्चालनमा आएको विमानस्थलका कर्मचारीहरू बताउँछन् ।

तुलसीपुर उद्योग वाणिज्य संघले ६ सिटको मूल्य बराबरको जिम्मा लिँदै काठमाडौँ–तुलसीपुर उडानका लागि सम्झौता भएको थियो । यात्रु नभएको अवस्थामा ६ सिटको मूल्य संघले निगमलाई प्रदान गर्ने गरेको छ । अहिले नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ तर नियमित उडान नहुँदा यात्री पूर्ण रूपमा यो विमानस्थलमा भर पर्न नसक्ने अवस्था छ ।

सीता एयरलाइन्सले पनि गत जेठ महिनासम्म यहाँ उडान गरेको थियो । व्यावसायिक रूपमा नेपाल एयरलाइन्सको उडान नियमित छैन ।

5

नेपाल एयरलाइन्स तुलसीपुर स्टेसनका प्राविधिक महेश वलीका अनुसार साउनदेखि हालसम्म ४६ वटा उडान भएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले नियमित उडान गर्न आफूहरूले सक्दो सहयोग गरे पनि अपेक्षाकृत रूपमा नभएको बताए ।

दाङबाट करिब १३५ किमी टाढा नेपालगञ्जको हवाई भाडा अलिक कम हुनका साथै छिटोछिटो विमान उडान हुने भएकाले धेरैले नेपालगञ्ज नै रोज्ने गरेका छन् ।

टरिगाउँ विमानस्थलको धावनमार्ग ९ हजार ७५० मिटरको छ । त्यसैले यो विमानस्थलमा १६ सिटे साना ट्विनअटर विमानमात्र सञ्चालन हुन्छ । अर्कोतिर नेपाल एयरलाइन्ससँग दुई वटामात्रै ट्विनअटर विमान छन् । ती पनि बेला बेलामा बिग्रने, धेरै यात्रु भएका पहाडी जिल्लाको विमानस्थल केन्द्रित हुने गर्दा यो विमानस्थलमा नियमित उडान हुन नसकेको हो ।

यो विमानस्थलमा प्राविधिक उपकरणको अभावमा न्यून भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न समस्या छ । त्यसैले हुस्सु लाग्दा पनि उडान रद्द हुने गरेको  नेपाल एयरलाइन्सका पूर्व स्टेसन प्रमुख महेन्द्र महत बताउँछन् ।

दाङबाट करिब १३५ किमी टाढा नेपालगञ्जको हवाई भाडा अलिक कम हुनका साथै छिटोछिटो विमान उडान हुने भएकाले धेरैले नेपालगञ्ज नै रोज्ने गरेका छन् ।

दाङमा ५ लाख जनसंख्या छ । त्यसका अलावा रोल्पा, सल्यान र प्युठान जिल्लाका नागरिकका लागि पनि यो विमानस्थल पायक क्षेत्र हो । तर उडान नियमित नहुँदा यात्रुहरूको विश्वास जित्न कठिन भएर चुनौती थपिएको छ । नेपाल आयल निगमबाट टरिगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाई इन्धन ‘रिफ्युलर’ सेन्टर पनि सञ्चालनमा आएको छ ।

यहाँ नियमित उडान गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पनि पहल गरिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । तर विमानस्थल निर्माण र सञ्चालनको अधिकार संघीय सरकारसँगै रहेकाले समस्या भएको मुख्यमन्त्रीको प्रेस संयोजक गोपाल  भट्टराईले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा टरिगाउँ विमानस्थल विस्तारका लागि एउटा समिति  बनेको छ । उक्त समितिमा विभिन्न सरोकारवाला छन् । समितिको पहलमा टरिगाउँ विमानस्थल विस्तार गर्न डीपीआर तयार गर्ने काम भइरहेको उपप्रमुख चौधरीले  बताइन् ।

  • नारायणपुरमा विमान विमानस्थल निर्माण गर्ने योजना थन्कियो

टरीगाउँको विमानस्थल साँघुरो भएको भन्दै संघ सरकारले दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको थियो ।

त्यहाँ विमानस्थल निर्माण सम्भाव्यता अध्ययनका लागि दुई करोड खर्च समेत भएको छ । केही काम लुम्बिनीका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा भएको थियो ।

बीडीए कन्सल्टेन्सी काठमाडौँका प्राविधिकहरूले गुर्जेखोलादेखि पश्चिममा हापुरे खोलासम्म र उत्तरमा मावि निघुवारदेखि दक्षिणमा घोराही–तुलसीपुर सडकसम्म विमानस्थल बनाउन सर्भे गरेका थिए । उक्त क्षेत्रमा रहेको १७ सय ७५ बिघा १९ कट्ठामा सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसमध्ये करिब छ सय ५० बिघा सरकारी जग्गा हो । ६ किलोमिटर लम्बाइ र साढे तीन किलोमिटर चौडाइको उक्त जमिन विमानस्थलका लागि उपयुक्त रहेको प्राविधिकहरूको निष्कर्ष थियो ।

प्राविधिक टोलीले नारायणपुरमा क्षेत्रीय विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्ष निकालेको हो । आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने घोषणा भयो । तर हालसम्म थप प्रक्रिया अगाडि बढेको छैन ।

 

-रा.पा

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation