पाकिस्तानी सत्तारुढ पार्टीलाई इमरान खानको चुनावी झट्का, बहुमत ल्याउने संभावना

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् ।

प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले पनि इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरू सफल भएको देखाएको छ ।  खानको पार्टी पिटिआई सरकारले प्रतिबन्धित गरेको छ भने इमरान खान लामो समयदेखि जेलमा रहेका छन् ।

पाकिस्तानी निर्वाचन आयोगले भने मतगणनाको परिणाम सार्वजनिक गर्न निकै ढिलाइ गरेको छ । यसलाई सम्भावित जित उल्टाउने षड्यन्त्रका रूपमा पिटिआईका नेताहरूले आरोप लगाएका छन् ।

पिटिआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्विटर) अकाउन्टमा सेयर गरेको एक भिडियोमा पूर्वप्रधानमन्त्री खानले पिटिआईले एक सय ५० मतको अग्रता लिएको उल्लेख गरिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले समर्थन गरेका उम्मेदवारले २६६ सदस्यीय नेसनल एसेम्बलीमा ८३ सिट जितेका छन्।

योसँगै नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिग–नवाजले ६५ सिट जितेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टीले करिब ४२ सिट जितेको छ ।

इमरान खानले समर्थन गरेका अधिकांश उम्मेदवारहरू खैबर-पख्तुनख्वाका हुन्।  सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य पञ्जाबमा नतिजा आउन जारी छ।

लाहोरको एनए-१३० सिटबाट ठुलो मतान्तरले चुनाव जितेका नवाज शरीफले शुक्रबार साँझ आफ्नो पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गरे। समाचार एजेन्सी रोयटर्सका अनुसार नवाज शरीफले आफ्नो पार्टीले यस चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको दाबी गरेका छन् ।

उनले आफ्नो पार्टीले कति सिट जितेका छन् भन्ने खुलाएका छैनन् । तर निर्वाचन आयोगका अनुसार उनको पार्टीले ६५ सिट प्राप्त गरेको छ जुन १३३ को बहुमतको आँकडाभन्दा निकै कम हो ।

उनले आफ्नो पार्टीसँग आफ्नै बलमा सरकार बनाउनका लागि पर्याप्त सिट नरहेको समेत बताए । त्यसैले शहबाज सरिफलगायत उनको पार्टीका नेताहरूले पीपीपीका आसिफ अली जरदारी र एमक्यूएमलगायत अन्य दलका नेताहरूसँग भेट गर्नेछन्।

यस चुनावमा पीटीआई प्रमुख इमरान खानलाई उठ्न दिइएन । उनको पार्टीलाई सार्वजनिक सभा पनि आयोजना गर्न दिइएन । यस्तो अवस्थामा पीटीआईका धेरै उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारका रूपमा यस निर्वाचनमा भाग लिएका छन् । पाकिस्तानमा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी हुनेहरूले आफ्नो जितको ७२ घण्टाभित्र पार्टीलाई समर्थन दिनुपर्छ।

भिडियोमा भनिएको छ, ‘पिटिआईले २०२४ को चुनाव पूर्ण बहुमतले जितेको छ । संसारले यसको साक्षी बनायो । अब परिणामको हेरफेरले पूर्ण अराजकता र अस्थिरताबाहेक अरू केही हासिल गर्दैन । जनताले निर्णय गरेका छन् ! उनीहरूको निर्णयको सम्मान गरौँ ।’

पिटिआईका महासचिव ओमार अयुब खानले भनेका छन्, ‘व्यापक धाँधली भइरहेको छ र यो पूर्णतया असम्भव छ ।’  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation