बाली सुक्न थालेपछि अनिकालको चिन्तामा रहेका किसानहरूको हिउँले दिएको खुसी

हिउँ परेपछि बझाङको दुर्गाथली गाउँपालिकास्थित चुवावन गाउँ

 

बाली सुक्न थालेपछि अनिकालको चिन्तामा रहेका किसानहरू हिउँ परेपछि खेतबारीको माटो कमलो हुने, अन्नबाली, तरकारी, स्याउको उत्पादन बढ्ने र यार्सा सप्रिनेमा आशावादी

२७ माघ, काठमाडौं

बझाङ, सुर्खेत, गोरखा – मुलुकका हिमाली भेगमा हिउँसँगै वर्षा भएपछि हिउँदे बालीनाली सप्रिने आसले किसानहरूमा उत्साह छाएको छ । हिमपातका कारण जनजीवन प्रभावित, पशुचौपाया गोठभित्रै भए पनि खेतबारी सेताम्मे भएपछि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।

त्यस्तै खुसी देखिनेमा पर्छन बझाङको रूपातोला गाउँका ७२ वर्षीय विष्णुभक्त जोशी । ‘केही दिनअघिसम्म काला हिमाल देखेर मनै खसक्क हुन्थ्यो । हेर्नै मन लाग्दैनथ्यो,’ उनले भने, ‘अहिले बल्ल हिउँले हिमाल हिमालजस्ता देखिन थालेका छन् । खेतबारीसमेत सेताम्मे भएका छन् ।’ हिउँदे वर्षा भएसँगै माटो रसिलो भएको बताउँदै उनले खेतीपाती पनि सप्रिनेमा आशा जागेको बताए ।

लामो समयपछि बझाङमा हिउँदे वर्षा भएको छ । वर्षासँगै परेको हिमपातले साइपाल आधार शिविर क्षेत्रसँगै रूपातोला गाउँबाट नजिकका फराली खेत, पेटार्‍या, कालापानी, धौला हिमाल सेताम्मे भएका छन् । दुई साताअघिसम्म यी हिमालहरू काला र उराठलाग्दा देखिन्थे । अनावृष्टिका कारण थलारा–२, विनाडाका शेरबहादुर खातीको हराएको निद्रा हिउँदे वर्षासँगै फर्किएको छ । लामो समयसम्म हिउँदे वर्षा नहुँदा बाली सुक्न थालेपछि अनिकालको चिन्ताले उनलाई निद्रा पर्न छाडेको थियो ।

‘यत्रो खेती त्यसै सुक्ने भयो भन्ने चिन्ताले मलाई मात्रै होइन, सबै गाउँलेलाई सताएको थियो,’ हिउँदे वर्षापछि राहत महसुस भएको सुनाउँदै उनले भने, ‘ढिलै भए पनि अलि अलि धर्ती भिजाएको छ । दुई दिनमै हेर्नुस् न, खेत हरियो हुन लागिसक्यो ।’ दुई वर्षदेखि खडेरीको सामना गरिरहेका कारण खातीलाई यस वर्ष पनि त्यस्तै हुन्छ कि भन्ने लागेको रहेछ । गत वर्ष मात्रै करिब २५ रोपनीमा लगाएको हिउँदेबाली फल लाग्नै नपाई सुकेपछि उनको परिवारले चरम खाद्य संकट व्यहोर्नुपरेको रहेछ । ‘पोहोर/परार पनि ३०–४० बोरा गहुँ फल्ने खेतबाट दुई बोरा मात्रै भित्र्यायौं । यस वर्ष पनि उही नियति हुन्छ कि भन्ने डर थियो । धन्न पानी पर्‍यो,’ आकाशतर्फ दुई हात जोडेर धन्य हुँदै उनले भने ।

आकाशे पानीको भरमा खेती गर्ने खातीको जस्तै बझाङका पहाडी र हिमाली क्षेत्रका किसानको चिन्तालाई माघ तेस्रो साता परेको हिउँदे वर्षाले केही राहत दिलाएको छ । असोजदेखि वर्षा नभएका कारण बझाङका जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, वित्थडचिर, केदारस्युँ, थलारा, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्नालगायत क्षेत्रको हिउँदेबाली सुक्न थालेको थियो ।

सिँचाइको सुविधा कम भएका सुर्मा, मष्टा, तल्कोट र साइपाल गाउँपालिकाका स्थानीयलाई खडेरीपछिको सम्भावित भोकमरीले सताउन थालेको थियो । हिउँदे वर्षा भए पनि निकै ढिला भएकाले पहिलाजस्तै उत्पादन भने नहुने हो कि भन्ने किसानहरूमा डर भने छ । ‘पहिला मंसिरमै हिउँ परिहाल्थ्यो । अहिलेसम्म त गहुँ गोड्ने बेला नै भइसक्थ्यो,’ साइपाल गाउँपालिकाकी असौजी बोहराले भनिन्, ‘यो साल अहिलेसम्म गहुँका बुटाले धर्तीसमेत छोडेको छैन ।’ उनले मंसिरमा उम्रिएको आधाजसो टुसा पनि सुकेर मरिसकेकाले उत्पादन पहिलाजस्तो नहुने ठान्छिन् ।

ढिलो वर्षा भएका कारण सेती, कालंगा, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र बाह्रैमास सिँचाइको सुविधा भएका सीमित क्षेत्रबाहेक आकाशे पानीको भरमा खेती गरिने ठाउँको उत्पादन १५ देखि २५ प्रतिशतसम्म घट्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । जिल्लाभरि करिब १६ हजार हेक्टर क्षेत्रफलमा गहुँ, जौ, केराउ, मसुरो, तोरी लगायतको खेती गरिएको छ । बझाङको कुल खेतीयोग्य जमिनमध्ये सिँचाइ सुविधा भएको ४० प्रतिशत क्षेत्रफलमा लगाइएको बालीमा खडेरीको खासै असर नदेखिए पनि त्यसबाहेकका क्षेत्रमा ढिला वर्षाका कारण उत्पादन घट्ने आकलन प्राविधिकहरूको छ । सामान्य अवस्थामा वार्षिक उत्पादन ३२ हजार मेट्रिक टन हुने जिल्लामा ७ हजार मेट्रिक टन अझै अपुग हुने गरेको छ । ‘ढिलो गरी वर्षा भएका कारण उत्पादन घट्ने त निश्चित नै छ तर यो वर्षाले थप क्षति हुनबाट केही हदसम्म जोगायो,’ कृषि ज्ञानकेन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘यो वर्षाले हिउँदे र वर्षे फलफूलका लागि पनि केही हदसम्म राहत पुगेको छ ।’

फागुनमा लगाइने लेकाली आलुका लागि पनि अहिलेको वर्षाले राम्रो भएको उनले बताए । लामो समयको खडेरीले गहुँ–जौलगायत बाली सुक्न थालेपछि चिन्तित मुगु, छायानाथरारा–९ मुर्माका रनवीर रोकाया यसै साता परेको हिमपातले राहत दिएको बताउँछन् । ‘लामो समयदेखि हिउँकै प्रतीक्षामा थियौं,’ रोकायाले भने, ‘हिउँले सुविकालको आशा पलाएको छ ।’ झन्डै डेढ महिनापछि कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि किसान खुसी भएका हुन् ।

यसअघि पुस दोस्रो साता हुम्ला, मुगु, जुम्ला, डोल्पालगायत जिल्लामा हिमपात भएको थियो । हिमपातपछि मुगुको रारा, मुर्मा, मुन्दु, ताल्च, माथितुम, सोरुकोट, कालै, सोभा, बाम, खमाले, पापु, चिमाथलगायत बस्ती सेताम्मे बनेका छन् । हिउँ परेपछि अन्नबाली, तरकारी र स्याउलगायतको उत्पादन बढ्ने भएपछि किसान उत्साही भएका हुन् । बालीमा रोगकिराको प्रकोप कम हुने र उत्पादन बढ्ने भन्दै किसानले हिमपातलाई सुविकालको रूपमा लिने गरेका छन् । ‘ढिलै भए पनि हिउँ पर्‍यो,’ सोरु गाउँपालिका–६ सोरुकोटका पदम शाहीले भने, ‘अब अन्न र स्याउ, ओखर आरुलगायत फलफूलको उत्पादन बढ्ने अपेक्षा छ ।’ उनले अहिले भएको हिमपातले जमिनमा डेढ महिनासम्म चिस्यान हुने बताए ।

५ वर्षयता माघ–फागुनमा हिउँ पर्न थालेको छायानाथरारा नगरपालिका–३ का किसान कम्मरसिंह खड्काले बताए । ‘हिउँ परे अन्न बेसाउनु पर्दैन,’ उनले भने, ‘हिमपात बढी भएको साल आफ्नै उत्पादनले जीविका चल्छ ।’ यो वर्ष यार्चाको उत्पादन पनि राम्रो हुने उनले बताए । कोरोना महामारीका कारण गत सिजनमा मुगुका बासिन्दाले यार्चा टिप्न पाएनन् । यतिबेला भने हिउँले किसानमा उत्साह ल्याएको जिल्ला कृषि विकास अधिकृत कमल सुनारले बताए । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा करिब आधा फिटसम्म हिउँ जमेको छ । हिमपातपछि रारा घुम्न आएका आन्तरिक पर्यटक हिउँ खेल्दै रमाएका छन् । यो वर्ष रारामा दोस्रोपटक हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । ‘राराक्षेत्र सेताम्मे छ,’ उनले भने, ‘पर्यटकले अझै एक महिनासम्म हिउँको आनन्द लिन सक्नेछन् ।’

हिमपातका कारण जनजीवन प्रभावित भए पनि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् । यसपालि पर्याप्त हिउँ परेको सिमकोट गाउँपालिका–६ की ६१ वर्षीया उम्मकला रावतले बताइन् । ‘बाली सपार्न हिउँकै प्रतीक्षामा थियौं,’ उनले भनिन्, ‘लामो खडेरीले बाली सुकेको थियो, अब उब्जनी बढ्ने आश छ ।’ उनका अनुसार अधिकांश क्षेत्र हिउँले ढाकिएपछि पशुचौपायालाई गोठभित्रै छन् । हिमपातले हुम्लामा हवाई उडान ठप्प भएको छ ।

यसैगरी, गोरखाका हिमाली गाउँका स्थानीय हिमपातपछि खेतीवाली सप्रने आशामा खुसी छन् । चुमनुव्री गाउँपालिका–१ सामागाउँ र वडा ७ को छेकम्पारमा साताअघि हिमपात भएको थियो । हिउँ परेपछि माटो कमलो हुने र खेतीवाली लगाउन सहज हुने चुमनुव्री–१ सामागाउँका कर्मा डुन्डुपले बताए । ‘हिउँ परेपछि चिसो बढे पनि बाली सप्रने आशाले दिने आनन्द बेग्लै छ,’ उनले भने, ‘खेतीपातीका लागि यतिबेलाको हिमपात वरदान हो ।’ धान खेती नहुने सामागाउँ र छेकम्पारलगायतका उत्तरी गोरखामा जौ, करु, आलुजस्ता बाली हुने गर्छन् । डेढ साताअघि गुप्सीपाखामा परेको हिउँ दुई इन्च पनि नजमेको उनले बताए । ‘त्यति हिउँ २४ घण्टामै पग्लिएर सकियो, अघिल्ला वर्ष दुई फिटजति हिउँ पर्थ्यो, गुप्सीमा हिउँ पर्दा तल बस्तीमा पानी परेको हुन्थ्यो,’ उनले भने, ‘अझै हिउँ पर्छ कि भन्ने आशा छ ।’

गुप्सीपाखामा हिउँ परेर तल्लो बस्तीमा पानी पर्दा भीरपाखामा घाँस उम्रने तथा माटो कमलो हुने भएकाले किसानलाई राहत हुने उनले बताए । ‘पानी परेको कमलो चिसो माटोमा मकै छर्दा पनि छिटो उम्रन्छ,’ उनले भने । धान खेती नहुने लाप्राकका स्थानीयले आलु रोपिसकेका छन् । असोजमा रोपेको जौलाई पानी अत्यावश्यक रहेको विसबहादुरले बताए । ‘सेपिलो ठाउँमा त जौ राम्रो छ, पूर्व फर्किएका जग्गाहरूमा पानी नपरेर समस्या परेको थियो,’ उनले भने ।

– ई-कान्तिपुर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation