क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

२७ माघ, काठमाडौं

क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले २८६ रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

तर १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो ।

त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे । तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै क्यानडामाथि दबाव बनाएका थिए ।

ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे । स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन् ।

पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे । उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०/४ थियो ।

तर सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट भने भागवन २० रनमा नट आउट रहे ।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए ।  सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन् ।

-अ.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation