जनता माबिले मनायो ६५ औँ वार्षिकोत्सब

 

प्यूठानको झिमरुक गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय टिमुरचौरले ६५ औं वार्षिक उत्सव तथा ३२ औं अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले दिप प्रजोलन गरि गर्नुभएको हो।

झिमरुक गाउँपालिका-८, टिमुरचौर स्थित जनता माध्यमिक बिद्यालयको ६५ औं बार्षिक उत्सव तथा ३२ औं अविभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष महतरा क्षेत्रीले सामुदायिक विद्यालयबाट प्राप्त हुने शिक्षा सर्वसुलभ र आम नागरिकको पहुँचमा पुर्याउने गरि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको छ।

बार्षिक उत्सव तथा अविभावक दिवस कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएको अध्यक्ष महतरा क्षेत्रीले बिद्यालय भनेको पबित्र संस्था भएकोले पबित्र संस्थामा असल कुरामात्र सिक्नु सिकाउनुपर्ने बताउनुभएको छ । विद्यार्थीले बिद्याको मन्दिरमा पुगेपछि केहिन केहि नयाँ कुराको सिको गर्दै खोज र अनुसन्धान गर्नुपर्ने बताउनुभयो । राम्रो पठन शिपको लागी शिक्षाकहरुले आफुलाई समयानुकूल नयाँ प्रबिधि सँग जोडेर लैजान सकेमात्र विद्यार्थीहरुलाई सिकाई उपलब्धिमा अब्बल बनाउन सकिने बताउनुभयो ।

 

नमूना विद्यालय बनाउन भौतिक पूर्वाधार विकास सँगै विद्यालयले विद्यार्थीको पढाई तथा सिकाईमा राम्रो नतिजा निकाल्नुपर्नेमा अध्यक्ष एमसीले जोड दिनुभयो। पालिकाले शैक्षिक क्षेत्रको समग्र विकासमा सबभन्दा धेरै वजेट खर्च गर्दै आएको भएपनि अझैसम्म अपेक्षित प्रतिफल आउन नसकेको संकेत गर्दै अध्यक्ष एमसीले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा शिक्षक, विद्यार्थी, र अभिभावक लगाएत सबैको चासो महत्त्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रमममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रमा समन्वयात्मक तरिकाले कार्य गर्न सकेमात्र बिद्यालयको सुधार गरि नमूना विद्यालय बनाउन सकिने बताउनुभयो। त्यसको लागि सबैको सहकार्य जरुरी रहेकोे बताउनुभयो।

बालबालिकालाई उनीहरुको रुचि अनुसार पठनपाठन सीप बिकास गर्ने वातावरण सिर्जना गर्न विद्यालय लागि परिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलस बहादुर बस्नेतले बताउनुभयो । कार्यक्रममा विद्यालयमा महत्त्वपूर्ण योगदान गर्नुहुने ब्याक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयले विभिन्न विधामा शिक्षक, विद्यार्थी, अभिभावकलाई समेत सम्मान गरेको छ ।

विद्यालयका प्रधानाध्यापक बिजयसागर गिरीले विद्यालयको समग्र प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै घरमा अभिभावकले आफ्ना नानिबाबुहरु कस्तो पढ्दै छन् के गर्दै छन्, भनेर सोधपुछ गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिवेदनमा २०७९÷०८० को कुल आम्दानी तर्फ १ करोड १४ लाख, ३६ हजार, ३ सय २० रुपैयाँ रहेको छ भने कुल खर्च तर्फ १ करोड १५ लाख ४ हजार ५ सय ६५ रुपैयाँ रहेको आर्थिक प्रतिबेदनले देखाएको छ। त्यस्तै कुल बचत तर्फ भने २ लाख, ८१ हजार, ७ सय ५५ रुपैयाँ बैंकमा रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

२०१० साल माघ २६ गते स्थानीय भुप बहदुर रोका र बल बहादुर बस्नेतको सक्रियतामा स्थानिय जनताबाट आर्थिक तथा मौसमी चन्दा संकलन गरेर बिद्यालय स्थापना गरि संचालन गरेको इतिहास रहेको छ।

विद्यालयमा शैक्षिकसत्र २०८० मा कुल ४ सय ३९ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा १० सम्म अध्ययन हुने विद्यालयमा छात्र २१९ जना र छात्रा २२० जनाले अध्ययन गर्दै आएका छन् ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेल बाल शिक्षा माबिका भरत भण्डारी, वडा सदस्य देबेन्द्रराज जिसी, व्यवस्थापन समितिबाट देबा गिरी, अक्षयकोषदाताबाट नेत्रमान गिरी, निवर्तमान वडा सदस्य भागिरथ गिरी, समाजसेवी दिन बहादुर महतरा लगाएतले बिद्यालयको थप प्रगति शुभकामना ब्यक्त गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो। कार्यक्रमको विशेष अथिती प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही रहनुभएको थियो । बिद्यालयको शिक्षिका सरस्वती भट्टराई स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक राजेन्द्र जिसीले गर्नुभएको थियो । कार्यक्रममा उल्लेखनीय अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीले नृत्य गित प्रस्तुत गरि माहोललाई थप रमाइलो बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation