एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालको दोस्रो खेल आज भुटानसँग भिड्दै

२८ माघ, काठमाडौँ

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । प्रतियोगिताकाको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्नेछ । उक्त प्रतियोगिता शनिबारदेखि मलेसियामा सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरेका थिए । इन्दुले ४० रन र सीताले अविजित ३६ रन बनाएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि कप्तान केरी चानले २१ र मारियम बिबीले १९ रन बनाएका थिए । नेपाली टोलीका बलर पूजा महतो र रुबिना क्षेत्रीले दुई–दुई विकेट लिएका थिए । कविता जोशी र सीता रानामगरले पनि एक–एक विकेट हात पारेका थिए ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ ।

नेपाल, हङ्कङ, भुटान र मालदिभ्स समूह ‘डी’ मा परेका छन् । नेपालले आफ्नो तेस्रो खेल मंगलबार मालदिभ्ससँग खेल्नेछ । हाल अङ्क तालिकामा भुटान पहिलो र नेपाल दोस्रो स्थानमा छन् । दुवै टोलीको दुई–दुई अङ्क छ । भुटानले शनिबार नै भएको खेलमा माल्दिभ्सलाई ९४ रनले हराएको थियो ।

पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मालदिभ्सले भने १८.१ ओभरमै अलआउट हुनुअघि ३० रनमात्र बनाउन सकेको थियो ।

प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् ।

समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली भट्ट र अस्मिना कर्माचार्य रहेका छन् ।

-रा.पा.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation