व्यवसायीक कृषि खेतीका अभियान्ता ‘नरेन्द्र मल्ल’

बिक्रम केसी, प्यूठान

प्यूठानको उत्तरी भूगोलहरुमा भौगोलिक कठिनाइका कारणले सिर्जित अभाव र रोदनहरु त कति छन् कति । त्यो विकास निर्माणको सवाल होस् वा चेतना र सशक्तीकरणको सवाल । अशिक्षा, गरिबी र अभावका मुस्लाहरुले बेस्सरी निसासिएका यी भूगोलको एउटा महत्वपूर्ण प्राकृतिक उपहार हो यहाँको ‘उर्वर’ भूमि । कमजोर भू–धरातलमा रहेका साविकका अर्खा, रजवारा, पुजा, लिवाङ, खवाङ, स्याउलिवाङ, डामृ आदि गाविसमा मौसमी÷ बेमौसमी बाली नालि, फलफूल तथा तरकारीको उत्पादनबाट यहाँका कैयौं जागरुक किसानहरुले मनग्ये आम्दानी लिन सफल भएका छन् । यसको एउटा ज्वलन्त उदाहरण हुन्, गौमुखी ३ रजवारा निवासी नरेन्द्र मल्ल । पेशाले खरा माविमा शिक्षण गर्ने मल्लले किवि खेतीमा नयाँ आयाम नै थपेका छन् । व्यावसायिक रुपमा लगाएको किवीबाट मल्लले यो वर्ष ५० हजार मुनाफा लिएका छन् । यसपाली करिव एक क्विन्टल किवी फलेको मल्लको भनाइ छ । उत्पादन भएका किवि फल प्रति केजी पाँच सय रुपियाँमा विक्री गरेको उनले बताए ।

१० देखि ४ बजेसम्म विद्यालयमा व्यस्त समयको बाबजुद पनि उनले किवि, स्याउ, सुन्तला, ओखर, टिमुर आदि फलफुल तथा तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएका छन् । अन्य विभिन्न तरकारी र फलफूलको उत्पादन गरिरहेका मल्लको विषेश चासो र रुचि भने किवि खेतीमै रहेको उनले बताए । ४ वर्ष अघि काठमाडौंबाट लिएर रोपेको किवि र बेर्ना गरि यो वर्ष झन्डै १ लाख रुपैयाँको कारोबार गरेको पनि उनले प्राणमञ्चसँगको कुराकानीमा बताए ।
मनमा योजना, पाखुरामा जाँगर र कर्ममा इमानदारिता भए के गर्न सकिदैन र ? उनले भने “सुरुमा मैले किविको खेती गर्ने भनि बिरुवा रोप्दा सदियारहरुले खिसिटिउरी गरे, कतिले त नरेन्द्र अब बोलाउन थाल्यो पनि भने तर मैले हिम्मत नहारिकन निरन्तर काम गर्दै गएँ । जसको कारण मलाई पहिले हाँसोमा उठाउनेहरु पनि अहिले परम्परागत खेतीको विकल्पका रुपमा किवि, अलैंची तथा अन्य बेमौसमी फलफूल र तरकारी खेतीपातीमा आकर्षित भएका छन् । यस मानेमा मैले मनग्य मुनाफा नलिए पनि म हर्षित छु ।” परम्परागत खेती प्रणालीको परिवर्तन र कृषिमा आधुनिकिकरण नगरि समृद्ध देशको परिकल्पना गर्नु मुर्खता भएको उनको निष्कर्ष छ ।
उनले किवि उत्पादन गरि दुनियाँलाई खुवाउने मात्रै होईन, नयाँ नयाँ बिरुवाका क्रस बेर्नाहरु पनि उत्पादन सुरु गरेका छन् । उनले एभोकाँडो, दाँतेओखर, किवि, सुन्तला, टिमुर आदिको नयाँ विरुवाहरु उत्पादन गरि राम्रो आम्दानी लिएको पनि बताए ।
गाउँकै खरा माध्यमिक विद्यालयमा शिक्षण पेशामा कार्यरत मल्लले सुमन जडीबुटी तथा कृषि नर्सरी स्थापना गरी किवीको व्यवसायिक खेती गरिरहेका छन् । मल्लले किवीको खेतीसँगै बेर्ना उत्पादन पनि गरेका छन् । मल्लले काठमाडौं कीर्तिपुर पुगेका बेला किवीको बारेमा थाहा पाएका हुन् । ‘बजारमा किवी महँगो फल रहेछ,’ उनले हामीसँगको कुराकानीमा भने, ‘त्यसपछि त्यस फलको बारेमा अध्ययन गर्न थालें ।’
कीर्तिपुरबाट प्रति बेर्ना तीन सय रुपियाँमा खरिद गरेर गाउँमा ल्याएको उनले बताए । गाउँमा अहिले अरु किसानले समेत किवी खेती गर्न शुरु गरेका छन् । वडामा गाउँपालिकाले गत वर्ष २ सय ५० बेर्ना वितरण गरेको कृषि प्राविधिकले बताए । समुन्द्री सतहदेखि १६ सय मिटर माथिको उचाईमा किवी खेती हुने समेत कृषि प्राविधिकको ठहर छ । व्यवसायी नरेन्द्र मल्लले प्राविधिक ज्ञानको अध्ययन र मनमा आत्मविश्वास भएपछि झण्डै छ लाखको लगानीमा फलफुल तथा तरकारी फर्मको व्यवस्थापन गरेका छन् । आफले लामो समयदेखि व्यवसायीक रुपमा फलफुल तथा तरकारी खेती गरिरहेकोले हाल ३ नं. वडाबाट रु एक लाखको अनुदान स्विकृत भइ भुक्तानीको अन्तिम प्रक्रिर्यामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation