पार्टी केन्द्रीय कमिटीमा प्रचण्डको ब्रिफिङ : कांग्रेसले पटक–पटक धोका दिएको छ

१ फागुन, काठमाडाैं

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्टि सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रदेशगत रिपोर्टिङका क्रममा उठेका प्रश्नको सोमबार जवाफ दिँदै उनले माओवादीलाई कांग्रेसले पटक–पटक धोका दिएको बताएका हुन् ।

पछिल्लोपटक राष्ट्रिय सभा निर्वाचनमा कोशीमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेतृ चम्पा कार्की कांग्रेस मतदाताको भोट क्रसिङका कारण पराजित भएकी थिइन् । सोही प्रदेशमा गठबन्धनबाटै माओवादी मतका कारण कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला भने विजयी भएका थिए । उक्त नतिजा र पार्टीपंक्तिबाट उठेका प्रश्नसमेतलाई संश्लेषण गर्दै प्रचण्डले कांग्रेससँगको गठबन्धन पार्टीका लागि फाइदाजनक नदेखिएको बताएका हुन् ।

‘राष्ट्रिय सभाको निर्वाचनमा १९ मध्ये हामीले ६ सिट पाएकामा ५ सिटमा मात्रै जित्यौँ । कोशीका कमरेडहरूले कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्ने निष्कर्ष निकाल्नुहुन्छ । त्यस्तो देखिन्छ पनि । कांग्रेसको बदमासी पटक–पटक देखिएकै छ । अहिलेको प्रधानमन्त्री कांग्रेसले बनाएको पनि होइन । तर, टिआरसी विधेयकसम्म कांग्रेससँग जानुपर्ने हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य अजम्बर राई काङमाङले भने । उनले राष्ट्रिय सभा निर्वाचनमा मात्रै नभई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसले धोका दिएको बताएका छन् ।

केन्द्रीय सदस्य काङमाङले प्रचण्डको भनाइ उद्धृत गर्दै थपे, ‘मधेश, राजधानी र ठूला सहरहरूमा हामी कमजोर छौँ । फेरि पनि मधेशमा विशेष अभियान चलाउने र निर्णायक शक्तिमा बदलिने कुरामा योजना बनाउनुपर्छ । २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो आठौँ महाधिवेशनले नै तय गरेको छ । सोही आलोकमा विधानलाई अनुकूलन गराउनुपर्छ । गुमेको माओवादीको साख ब्याजसहित फिर्ता ल्याउनुपर्ने हुन्छ । ढल्कँदो उमेर, जीवनको उत्तरार्र्धमा पनि म नवजवान जसरी खटिएको छु । तपाईंहरू पनि खटिनुहुन्छ । अबको निर्वाचनमा हामीले संगठन निर्माण गरेर आफ्नै शक्तिमा निर्वाचन लड्ने स्थिति बनाउनुपर्छ भनेर बैठक टुंग्याउनुभयो ।’

प्रधानमन्त्री प्रचण्डले जातीय, क्षेत्रीय मोर्चालाई पुनर्जीवन दिने, तराई–मधेशमा विशेष कार्यक्रम चलाउने,  जनआन्दोलन सृष्टि हुने गरी हिमाल, पहाड, तराईलाई जोड्ने खालको उत्तर–दक्षिण अभियान चलाउने पनि बताए । राजधानी र सहरकेन्द्रित कार्यक्रममा जोड दिने उनको भनाइ छ । माओवादीको सामान्य सांगठनिक तरिका परिपत्र र निर्देशनात्मक रहेको भन्दै उनले अब त्यसलाई फेरेर अगाडि बढ्ने जनाए ।

प्रचण्डले आफू नेतृत्वको सरकारले देखिने गरी काम गरेको पनि बैठकमा ब्रिफिङ गरे । ‘समाजवादी बाटोमा जाने हाम्रो कार्यदिशा सुस्पष्ट नै छ । मिटरब्याजीविरुद्धको आन्दोलन, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, मधेशमा नागरिकता समस्याको समाधानमा हामीले सफलता प्राप्त ग¥यौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेता काङमाङले भने, ‘समृद्धिका सम्बन्धमा १० हजार आठ सय मेगावाटको कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने क्याबिनेटको निर्णय, पञ्चेश्वर परियोजनाको पूर्णता, बंगलादेशसँग विद्युत् व्यापार सम्झौता आदि माओवादी सरकारमा रहँदा सम्भव भएको हो । यसले समृद्धिको ढोका खोल्ने काम गर्छ ।’ आर्थिक दृष्टिकोणले प्रतिकूल अवस्थामा भए पनि सुधारका लागि प्रयास गरेको उनले बताए । राजस्व संकलन १० प्रतिशतले बढेको, रेमिट्यान्स बढ्दै गएको, विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै सर्वाधिक विन्दुमा पुगेको प्रचण्डले बताए ।

नेता–कार्यकर्ताका चार श्रेणी
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान मूलभूत रूपमा सफल भएको प्रचण्डको संश्लेषण छ । तर, सबै ठाउँमा अभियान एकनासको नरहेको उनले औँल्याए । अभियानमा खटिने नेतालाई चार भागमा विभाजन गरिएको र सोहीअनुसार पुरस्कार र कारबाही गरिने उनले बताए ।

‘६० देखि ८० प्रतिशत खटिने पहिलो कोटीमा, ५० देखि ६० प्रतिशत खटिने दोस्रो कोटीमा, १० देखि ४० सम्म तेस्रो कोटीमा र १० भन्दा तल र कार्यक्षेत्रमा जाँदै नजानेलाई चौथो कोटीमा राखिएको छ । पहिलो कोटीकालाई विशेष–पत्र, दोस्रो कोटीकालाई धन्यवाद–पत्र, तेस्रो कोटीकालाई सावधान तथा निर्देशन–पत्र र चौथो कोटीकालाई कारबाही गर्ने निर्णय गरिएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै काङमाङले भने, ‘घटुवादेखि निलम्बनसम्म कारबाही गर्ने भन्ने छ ।’

अभियान दसैँसम्म सक्रिय रहेको र त्यसपछि कमजोर भएको उनले औँल्याए । उनले भने, ‘जति हामी सक्रिय हुन्छौँ, प्रतिक्रियावादीहरूले हामीलाई प्रहार कम गर्छन् । हाम्रो सक्रियताले नै हाम्रो दल, देश र जनता सुरक्षित हुन्छन्, यसतर्फ लाग्नुपर्छ ।’

शीर्ष तहको बैठकमा उहाँले यस्तो भन्नुभएको छैन
मीन विश्वकर्मा, कांग्रेस प्रचार विभाग प्रमुख

आफ्नो पार्टीको बैठकमा प्रचण्डजीले कांग्रेसबाट धोका भयो भनेर भन्नुभयो भन्ने आएको छ । यो गठबन्धन र शीर्ष तहमा छलफल भएको विषय होइन । उहाँले बैठकको कुरा सुनेर पार्टीभित्र सान्त्वना दिन भन्नुभयो या साँच्चै आफैँले बुझेर त्यसो भन्नुभयो, त्यो निक्र्योल हुन बाँकी छ । शीर्ष तहको बैठकमा उहाँले यस्तो भन्नुभएको छैन । र, असन्तुष्टि पनि राख्नुभएको छैन ।

-न.प.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation