उपभोक्तावादी संस्कृतिः क्लेप्टोक्रेसी राज्य र समाज- पिटर

अदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ भन्ने त्यो सन्देश र खुला विज्ञापन थियो । हामीलाई बिर्सने रोग (अल्जाइमर) त यसै पनि छ । उद्योगधन्दा निजिकरण गरेर समाजवादी अभ्यास गरेको महत अर्थनीति होस् या लाउडाहरु त विर्सिसक्यौँ, यती ह्यान्डिलिङ, ललिता निवास, भुटानी शरणार्थी प्रकरण अब तपसिलमा पुग्दै छन् । एनसेल प्रकरण पनि लेनदेनको सिन्डिकेटले हिसाब फर्छ्यौट गर्ने नै छ ।

अवैध सुन छानबिन आयोगमा लहरो तान्दा, पहरो चर्कने देखियो । छानबिन आयोग र अनुसन्धानकर्ताहरू अनावश्यक किन शत्रुता मोल्ने भन्नेमा पुग्दै छन् । पार्टी भ्रष्ट नायकत्वको सौन्दर्यगाथा रच्न चाकरका कात्तिके भिड हुलकाहुल मैमत्त देखिए । हाम्रा मालिक चोखा छन् भन्ने तिघ्रेहरूका फेसबुक नियाले उनीहरूका प्रलाप देखिन्छन् । राजनीति त अब महाउद्योग बनिसक्यो । करपोरेट र राजनीतिको ककटेल विभिन्न रुप र चरित्रमा देखा पर्दैछन् । ठूला उद्योगका विजुली बिल प्रकरण, भ्याट प्रकरणको रूप अब एनसेल, सुन र गिरीबन्धु टि स्टेटमा देखिँदै जानेछन् । सत्ता, प्रतिपक्ष, मिडिया र नागरिक समाजको एउटा अदृश्य सिन्डिकेट बन्नजाँदा अर्को कुनै ठूलो घटना देखिएर तपसिलमा परे आश्चर्य मान्नु पर्ने छैन । आदर्शको मूल्य भुक्तान गर्ने हाम्रो समाज किन यस्तो मुर्दासमाजमा फेरियौ ? गम्भीर प्रश्न किन बन्दैन ?

भ्रष्टाचार आर्थिकमात्रै हुँदैन । भ्रष्टताको मान्छेलाई आदर्शहीन समाजमा धकेल्छ । सुविधाका तर्क गढ्न थाल्छन् । सुविधाका ग्रन्थी रसाएपछि नैतिकताका बन्धन क्रमश खुकुलो हुँदैगएर लाजघीन हराएर तोडिदै जान्छन् । भ्रष्टतालाई पौरख अथ्र्याउने समाजमा सिद्धान्त र आदर्श भनेको असमक्षताको गनगन भन्ने भास्य र तर्क कोरलिन थालिन्छ ।तर, नायकलाई भने भ्रष्ट हुने अनुमति हुँदैन ।

नायक ध्वस्त भएको आदर्श घिटिघिटी रहेको समयमा नक्कलीको बिगबिगी चलेको मात्र हो । प्रजातन्त्र, लोकतन्त्र, समाजवादी अभ्यासका सिद्धान्तका जेजे नाम दिए पनि यो क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) नै हो । तर, सङ्ला मान्छे धरतीमा अझै छन्, किन उनीहरू विभत्सता विरुद्ध कुर्लिन सक्दैनन्, केही बोल्न र भन्न सक्दैनन् विडम्बना हो ।

सामान्यजन भ्रष्ट, अपराधी र नैतिकताहीन बन्दा समाजलाई खासै असर पर्दैन । तर, नायकको पतन भनेको त्यो समयको सामाजिक दुर्घटना बन्नपुग्छ । राज्य, नायक वा व्यक्तिगत ठूलो त्रासदी भनेको विश्वासको दुर्घटना हो । नायक वा नेताका पनि निजी जिन्दगी हुन्छन् । तर, उनीहरूको दायित्व र भूमिका सामान्यजन जस्तो बन्ने छुट हुँदैन । उनीहरु जोगी नभै पारिवारिक हुन्छन । तर, परिवारको घेरामा मात्रै सीमित हुने सुविधा उनीहरूमा हुँदैन । धेरैका श्रम, पसिना, सपना र जीवन रित्तिएर व्यक्तिबाट व्यक्तित्वमा फेरिएर मात्र नेता बन्न सकिन्छ । आफना इच्छा, चाहना र वासनालाई जमिनमुनी पुरेर मात्रै नायकले आशा जगाएर युगलाई सपना देखाउँदै मुर्दा समाजलाई जागृत गरेको हुन्छ ।

सबै विषयको केन्द्र राजनीति हो । चालक नेतृत्व र पार्टी हुँने गर्छन् । भ्रष्टता एक्कासि नभै सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएको याममा पुराना मूल्य, मान्यता, आदर्श क्रमशः भत्कदै गएर विश्वास दुर्घटनामा पर्दै गएको हुन्छ । तर “नायकलाई” क्रूर इतिहासको अहङ्कारले सत्य सुन्ने क्षमता गुमाइदिन्छ । नेपाली समाजमा निरासा तोड्न अहिले विश्वासको पुनस्र्थापना सबभन्दा ठूलो चुनौती बनेको छ । भिड सोच्दैन । “नायकहरू” जे छैन् त्यो भन्नुपर्ने, जे छ त्यो लुकाउनु र छिपाउनु पर्ने भए । भिडले त्यसैलाई पत्याउने । शक्ति तर्क कोरल्ने, नक्कली विश्वास उमार्ने । उफ !

परिवर्तन र आदर्शकालागी मूल्य तिर्ने, तिरेको यो जागरुक समाज हो । थियो । अब आदर्श स्यालको सिँग बने । कुन अदृश्य आतङ्कले समाजलाई यस्तो मौन बनायो ? हामी अहिले आदर्शहीन कुण्ठाग्रस्त नेतृत्वको शासन खप्न विवश छौँ । कस्तो देश र भविष्य सन्तानलाई सुम्पिएर हामी संसारबाट बिदा हुन्छौ, हँ ! चौतर्फी अन्याय र अपराध देखिन्छ । तर मान्छेसँग प्रश्न रित्तिए । जिज्ञासा सकिए । किन ?

जनमत त्यसै निरास बनेको हैन । कथाले मागे जस्तो कथाकारले पात्रको चरित्र ढाल्छ । खेल अनुसार नियम र मैदान हुन्छन । मालिक अनुसारका भक्तिगान हुन्छन । समय घर्कदैजाँदा विशेष घटना र व्यक्ति सामान्य हुँदै जान्छन । त्यस्तै अहिले भ्रष्टाचार, कुशासन, दण्डहीनता विशेषबाट सामान्य बन्दै गए । आजका भ्रष्टहरू हिजो आदर्शका गीत गाँउदा पनि भ्रष्टै थिए । मौका नपाँउदा मात्रै आदर्शवादी देखिएका हुन । मान्छेले आफ्नो असली चेहरा समयसँगै छोप्न सक्दैन । आजको ध्वस्त र भ्रष्ट भूतपूर्व आदर्शवादी हिजै पनि आदर्श फलाक्दै भ्रष्ट र आदर्शहीन नै थियो भन्ने हुन्छ ।

आजको भ्रष्ट हिजो मौका नपाउन्जेलमात्रै आदर्शवादी देखिएको थियो, बकुल्ला झै । जसले आफ्नो भूमिकाको स्वामित्व लिदैन र इतिहासप्रति गर्व गरेर वर्तमानमा सार्थक पार्न समयको नेतृत्व गर्न सक्दैन त्यसले एउटा अवस्थाबाट अर्कोमा फेर्न त सक्छ तर समाजको प्रगतिशीलताको नेतृत्व भने गरिरहन सक्दैन । परिस्थितिलाई नियन्त्रणमा राख्न समयसँग भूमिका पनि अपडेट हुनुपर्छ ।

क्लेप्टोक्रेसी राज्य
मुलुकको स्रोत आफू, परिवार, जात, समूह, दल वा गुटको निम्ति वैधानिक भ्रष्टाचार गरी फाइदा उठाउने राज्य पद्धतिलाई क्लेप्टोक्रेसी –(भ्रष्टतन्त्र) भनिन्छ । क्लेप्टोक्रेसीले राज्य ढुकुटी र स्रोत आफूखुसी फाइदा हँुने नीति, कानुन र ट्याक्सनीति बनाँउछ । भित्रभित्र दुरुस्त पार्छ । तर, झुटो प्रतिवेदन हुनेगर्छ । संस्थाको वैधानिक शक्ति या सकिन्छ या त व्यक्तिकेद्रित हुन्छ ।

क्लेप्टोक्रेसीलाई सुन्दर पछ्यौरी ओढाउन सुनियोजित कृत्रिम र उत्तेजित बहस सिर्जना गरिन्छन् । मूल मुद्दा विषयान्तर गर्ने खेल खेलिन्छन् । व्यक्ति भ्रष्टहुँदा रोक्न नीति, नियम कानुन मात्रै हुँदैन, समाजको नैतिक दबाब पनि हुन्छ ।

तर, नीति, नियम नै बनाएर भ्रष्टाचार हुन्छन्, पार्टी नै त्यसको मतियार हुन्छ । सिन्डिकेट बन्छ भने त्यो देशको भयावह अवस्था हो । जब जनमत भ्रष्टाचारको मौन साक्षी हुन्छ, कार्यकर्ता भ्रष्ट जोगाउने मतियार र खेलाडी बन्छन्, विरोध गरे आफैँ नाङ्गिएला भन्ने अवस्था आँउछ तव लोकप्रिय नारा उछालिन्छन, सिन्डिकेट सदस्य एकापसमा औँला ठड्याउँदै भन्छन– म मात्र भ्रष्टाचारी हुँ र ? तिमीले टुकुचाको मुहान खोलेका हौ, मैले र मेराले त नुहाएका मात्र हुन् ।’

सत्तासँग कानुन, जेल, प्रहरी, कालाकोटे र खैराकोटे जर्नेल, संविधानका पुस्तक र सरकार मात्र हुँदैन, विषयलाई अन्यत्र मोडेर भीड बनेको जनताको मस्तिष्कमा भुस भरिदिने कला पनि हुन्छ । कृत्रिम आतङ्क मच्चाएर कुथ्थुर पार्नसक्ने खुबी हुन्छ । हिजोका क्रान्तिकारीलाई खसी पार्ने सनासो हुन्छ । आफ्नै इतिहासलाई बिष्टयाउदै बास्नाका भजनकर्ता लेखनदास जन्माइन्छन् । औकात भुलेका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सिन्डिकेटको सेयर होल्डर बनेर क्लेप्टोक्रेसीका म्याराथन दौडमा सामेल हुन्छन् ।

क्लेप्टोक्रेसीका औजारहरू
नैतिकपुँजी हुनेसँग इच्छाशक्ति हुन्छ । उसैले मात्र बादशाहलाई नांगो पारेर घोडाबाट उतार्न सक्छ । अहिले त छानविन आयोग विषय सार्वजनिक गर्ने, दण्डित सिफारिसकर्ता भन्दापनि घटना दबाउने माध्यम बन्दैछन् । अख्तियार हजारदेखि लाखसम्म त कारबाही दायरामा पार्छ तर करोड, अर्बौ र खर्बौको वैधानिकता दिलाउँछ । अपराधको ड्राइक्लिनर्स बन्दैगएको न्यायालयका ठूला फैसला शंकारहित छँदैछैनन् । कतिपय त पेसीरहित मुद्दामै जीवन गुज्रिसकेको हुन्छ । क्लेप्टोक्रेसी सञ्चालक सिन्डिकेटको अदृश्यहात अति शक्तिशाली छन् । नीति र विधिमै हस्तक्षेप गरेर संसद्, अदालत, सिंहदरवार, अख्तियार, बालुवाटार, खुमलटार, मण्डिखाटार र बालकोट म्यानेज गरिदिन्छन ।

क्लेप्टोक्रेसीका कारण गणतन्त्रसहितको लोकतन्त्रमाथि अहिले औँला उठ्दैछन् । सडक मौन छ । नागरिक समाज मौन छ । जनयुद्ध र जन आन्दोलनकारीबारे पश्चगामीले त्यसै प्रश्न गरेका हैनन् । नायकका परिभाषा समय र भूमिकाले फेरिँदै गए ।
फेरिँदै गएका सोच र मान्यता हरेक घटनाले पहिलाको बिर्साइदिन भनेको जनतालाई नै कतै बिर्सने रोग (अल्जाइमर) लागेको त छैन ! भन्ने हो । जहाँ सत्ता र प्रतिपक्षको अदृश्य सम्झौता हुन्छ, सबैकुरा सेटिङमै चल्छन । आवेगी भीड बनाउन कृत्रिममुद्दा अघि सारिन्छन् । बहस मोड्ने खेल र झेल हुन्छ । अभियुक्तलाई सिन्डिकेटले चोख्याउँछ ।

केही दिन मिडियामा खुब चर्चा हुन्छ, केहीसमय नबित्दै हराउँछ । मिडिया म्यानेज गरिन्छन् । के यो संयोग हो कि ! योजनाबद्ध खेल ! मूलधारका मिडिया हुन् या सामाजिक सञ्जालका बहसहरू एकहप्ता पनि टिक्न पाउँदैनन्, सक्दैनन् । किन ? कसरी बहस पटलबाट ती एकाएक हराउँछन् ? जनता नबनिसकेको भगवान भरोसे भिडको सहज मस्तिष्कले यस्ता विषय पत्तै पाउँदैनन् । एउटा मुद्दाको किनारा लाग्न नपाउदै अर्को मुद्दा उरालिन्छन्, पहिलाको गम्भीर विषय ओझेल पारिने वा दबाइने अदृश्य खेल नै ‘समाजवाद’ उन्मुख भन्दै अभ्यास गरिने क्लेप्टोक्रेसीका चाल बन्न पुग्छन् ।

भ्रष्टाचार किन हुन्छन् ?
शक्तिको भोक अचम्म हुन्छ । सिद्दान्त र आदर्शले शक्ति पुग्न नसकिने भो । चुनाव महंगो भो, सामान्यजनले चिहाउनै नसक्ने । सहज पूँजी (इजी मनी) नै भ्रष्टाता र अपराधको कारखाना बन्यो । शासकीय पारदर्शिताको कमी भ्रष्टताको सामाजिक स्वीकृति र पकड बन्दा सत्य, सुन्दरता र स्वाभिमानका अर्थ फेरिए । कालान्तरमा त्यही भ्रष्टताले नै मान्छेलाई संकट, दुख, कष्ट र डरका कारण र अल्झेको जीवन मूल्यले धन, लालच, मोह, सामाजिक भ्रमजाल फस्दै गए । अगस्ति चाहनाको भोकले ब्रान्डेड सपना देखाँयो । अनेकौं सुखका रहर उम्रिए । खुशी र आत्मसम्मान बेच्दै सुख किनेर उच्च जीवन शैलीको चाहना ह्वात्त बढ्यो । नव धनाढ्यहरूको तुजुक प्रदर्शन अर्को कारण हो ।

भ्रष्टाचारको ड्राइक्लिनर्स
जव अपराधबाट चोख्याउने पार्टी र सत्ता हुन्छ, न्याय किन्न सकिन्छ भने भ्रष्टाचारबाट ,अपराधबाट किन आतंकित हुँने भन्ने सामाजिक सोच विकास भयो । त्यसैले अदालत, पार्टी र राजनीतिले आफ्ना हैसियत र विश्वास गुमाउँदै गए । सँस्था सम्मानित भएर मात्रै पुग्दैन, त्यसको पात्र सो औकात धान्न सक्दैन भने संस्थाको गरिमा त घट्छ नै, त्यसले समग्र ब्यवस्था, समाजले नै कष्ट भोग्नुपर्छ । तव गरिमामय संस्थामा अयोग्य व्यक्ति पुर्याउने, पदासिन गराउने, सल्लाहा दिने व्यक्ति पनि दोषी ठहरिन्छन् । जव आफ्नै चट्टानी अडान निर्णयको मसी सुक्न नपाँउदै बारम्बारै निर्णय फिर्ता लिन वाध्य हुइन्छ भने नैतिकरूपले त्यहाँ टिकिरहन हुँदैन ।

किन हुन्छ, मौनता ?
भ्रष्टाचार राष्ट्रिय संस्कार बनिसक्दा सबैतिर आक्रोश हुँदापनि सडक भने मौन छ । चिच्याउँदैन् । मौनता र सरोकारहीनता इतिहासका पानामा कलंक हुन्छन् भने दुर्दिनलाई रातो कार्पेट ओच्छ्याएर निम्त्याइरहेका हुन्छन् ।

मौनता अपराधको मतियार हो । अब पार्टीबीच भिन्नता रहेन । कुनै समय विद्यार्थी र युवाहरू युगका आवाज बन्थे । कुनैदिन जनवर्गीय संगठन समाजका प्रवक्ता बन्थे । अब भने जनवर्गीय संगठन अर्थहीन भए । नाम, झण्डा र नमस्तेका शब्द ध्यान नदिए सामाजिक सरोकार र आचरणमा सबै पार्टी समान छन । आन्दोलन नभएको समाजमा सामाजिक प्रतिक्रियाको नाडी छाम्न मात्र गम्भीर मुद्दा उरालिन्छन ।

विषयान्तर गर्न योजनाबद्ध बहस पनि उरालिन्छन् । तर ती सङ्गठित अपराधविरुद्ध आन्दोलन भने बन्न सक्दनैन् । आचार, विचार र व्यवहारमा भ्रष्टाचारलाई समाजले आफ्नो नियति र पहिचान बनाइसक्यो । जुन उत्साहकासाथ संघीय राज्य व्यवस्थाको कल्पना गरियो तर सिंहदरवार गाउँ पस्दा भ्रष्टाचार संस्कृतिलाई पनि लिएर पस्यो । मौन समाजमा संवेदनहीन, आक्रोशबिना घृणा रहित समाज बन्दै गयो ।

हिजोका आन्दोलन बन्ने नारा र आदर्श सुन्दरवस्त्र मात्रै थिएनन् जीवन थियो । तर शक्ति उन्मादले शासक, नवशासक समयको पदचाप सुन्दैनन् । इतिहासबाट शिक्षा लिँदैनन् । लम्पट दिमागलाई उन्माद भरेर भ्रष्टपार्दै भ्रष्टहरू सुरक्षित बंकर भेटिएको सोच्छन् । हरेक पार्टीमा भ्रष्टको चाकरी बजार्नेहरु नैे मैमत्त छन । मौन समर्थन गर्ने भिड तयार छ । नयाँ भ्रष्टाचारले पुराना काण्ड तपसिलमा पारिदिन्छ । सडक मौन छ, संसद् अर्थहीन छ । त्यसैले भारतीय समाजवादी चिन्तक डा. राममनोहर लोहिया भन्छन्– जब सडक मौन हुन्छ, तब संसद् आवारा हुन्छ । सरकार मैमत्त र अराजक बन्छ ।” स्थायी सरकार भनिने कर्मचारीतन्त्र भ्रष्टतन्त्रका कानुनी आधार तयार गर्ने औजारमा फेरिन्छन् । रिढको हड्डी नभएको मिडिया स्व–सेन्सरसिपमा रहन्छ । तब नागरिक भिडमा फेरिन्छ । समाजका संवेदना र सपना ध्वस्त हुन्छन् । प्रशासन, राजनीति र मिडियाप्रति विश्वास हराउँदै जान्छ । त्यो केही न केही हुँदैछ भन्ने पूर्वसङ्केत हो ।

संयोगमात्रै हैनन्, प्रतिपक्ष सहितको सहभागिता भ्रष्ट सिन्डिकेट राजनीतिको हिस्सा बन्यो । सदन रमिता र तमासाको थलो बन्यो । रणनीतिक भूसंवेदनशील देशलाई नै दीर्घकालीन असर पार्ने विषयको सरोकार नहुँदा सबै पार्टी भूमिकाले निर्वस्त्र भए ।

कार्यकर्ता नामका दास किन कुरा बुझ्दैनन् ? नाफाले जोडेका सम्बन्धहरू स्वार्थ रित्तिने बित्तिकै टुट्छन । भीडबाट अकारण उठेको मान्छे भीडमै किच्चिएर मर्छ । कस्मेटिक भिलेनगिरी इतिहासका व्याज खाइरहेका हुन्छन । सहजचिन्तन राख्ने नयाँ पुस्ताले पाखण्ड र आडम्बरलाई चिन्न सक्दैन । त्यही भएर बढी भ्रमित हुँदै जालोमा फस्ने गर्छन् । अहिले कांग्रेसी, कांग्रेस रहेनन् । अफिसियल कम्युनिस्टहरू, कम्युनिस्ट रहेनन् । तर, अझै सिद्धान्त, विचार, आदर्श र मूल्यसँग कुनै साइनो नभए पनि कांग्रेस, एमाले, माओवादीहरूले राजनीतिक पसलमा भने त्यही ट्रेडमार्क राखेर झुक्याउने सुविधा पाए ।

दिमाग खोपीमा सुम्पेका तिघ्रेहरू कार्यकर्ता बन्न पाए । जे छैन त्यो देखाउनुपर्ने, जे छ त्यो लुकाउनु, छिपाउनुपर्ने उपभोक्तावादी समाजको चरित्र अर्थसंस्कृति मात्रै नभएर राजनीति, धर्मकर्म र सामाजिक सोच बनिसक्यो । सबैखाले तिघ्रेहरू तर्क गर्दैनन् ।

आग्रही सोच र अभिजातहरूका प्रलाप यत्रतत्र देखिँदै छन् । इतिहासका गति बुझ्न नसक्नेहरू संसारमै हुन्छन् । रूप फेर्न सक्छन् अभिजातहरू । कर्ताले नै आफ्ना आदर्श बचाउन नसक्दा तर्क कोरल्ने बहाना भ्रष्ट चिन्तकहरूले भेटाउँछन् । अभिजातको स्वर्ग ध्वस्त गरेर राज्यसत्ताको चरित्र फेर्ने विद्रोह पचाउन नसकेर गरिने यस्ता प्रलापले भिडलाई आवेग बढाउँछ र धारणा बन्ने गर्छन् ।

अहिले उपभोक्तावादले नित्य नयाँको उग्रभोक जागृत गर्छ । त्यसै राजनीतिले पार्टी र मान्छेको औकात संकटमा पार्छ । परिणामः इतिहास घायल छ । वर्तमान उकुसमुकुस छ । भविष्य अनिश्चित भएर समाज निराशातर्फ धकेलिँदै छ । सत्य हितअनुसार परिभाषित हुँदै गएका छन । हितअनुसार इतिहास व्यवस्थापन गर्न खोजिदैछ । अझ विद्रोहका राप र ताप सेलाउँदै गएपछि नायक खलनायकमा फेरिँदै गएर बीभत्सीकरणका पण्डित्याइँ छताछुल्ल हुँदैगएका छन् । नायक ध्वस्त भएको आदर्श घिटिघिटी रहेको समयमा नक्कलीको बिगबिगी चलेको मात्र हो । प्रजातन्त्र, लोकतन्त्र, समाजवादी अभ्यासका सिद्धान्तका जेजे नाम दिए पनि यो क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) नै हो । तर, सङ्ला मान्छे धरतीमा अझै छन्, किन उनीहरू विभत्सता विरुद्ध कुर्लिन सक्दैनन्, केही बोल्न र भन्न सक्दैनन् विडम्बना हो ।

अन्त्यमा
सबैकुरा त पाइयो तर सामाजिक सम्मानबाट भने अछुतो भैयो भनेर भ्रष्टहरु तुजुगको प्रदर्शन गर्न राजनीति र सामाजिक संस्थामा देखिएर लोकपृयताको व्यापारमा देखिन्छन । तर उनमा संवेदना रत्तिभर हुँदैन । थोत्रो राजनीतिक क्याल्कुलेटर बोक्ने अनि हिसाब सही होस् भन्ने सोच्ने ? नियत नाप्ने औजार त परिणाममा देखिन्छ । हामी एउटा अदृश्य भयले सुताइएर चुप्पी संस्कृतिमा अभ्यस्त भइरहेका छौँ । आखिर किन ? के तावाबाट उम्केर भुङ्ग्रोमा पर्ने नियति हाम्रो हो ? सत्य कुराका लागि अर्थात् गलतको विरुद्ध लड्न नसक्ने मात्रै होइन, बोल्नै नसक्ने अवस्थामा किन पुग्दैछौँ ? अपमान, तिरस्कार, प्राप्त सौन्दर्यको ध्वस्त स्वीकार्न कुन तत्वले विवश पार्दै छ ? हाम्रा चेतमा खिया लगाउने आन्तरिक तत्व कुन हो ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation