एसियाली महिला कबड्डी च्याम्पियनसिप खेल्न नेपाली टोली इरान प्रस्थान

छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली इरान प्रस्थान गरेको छ।

इरानको तेहरानमा मार्च ४ देखि ९ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन  १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको हो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन्। प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्याण्ड र मलेसिया गरी सात राष्ट्र सहभागी हुनेछन्।

मानमति विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आश्मा यादव र विनिता पण्डित क्षेत्री छन्। पदाधिकारी अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ छन्।

प्रतियोगितामा भारत र इरान बलिया प्रतिस्पर्धी छन् भने थाइल्याण्ड र बंगलादेशलाई हराउन सके कम्तीमा तेस्रो स्थान ल्याउने नेपाली टोलीको आश छ ।

नेपालले १९ औँ एसियाडमा कास्य पदक जितेको थियो। सो एसियाडमा नेपाल समूह चरणमा इरानसँग र सेमिफाइनलमा भारतसँग हारेको थियो ।

सन् २००५ मा शुरु भएको एशियन च्याम्पियनसीपको ५ संस्करणमा भारत ४ पटक र दक्षिण कोरिया एक पटक च्याम्पियन भएका छन्। इरान २ पटक उपविजेता बन्दा जापान , थाइल्याण्ड र दक्षिण कोरिया पनि एक-एक पटक उपविजेता भएका छन्।

पुरुषतर्फको एसियन च्याम्पियनसिपको पहिलो संस्करणमा नेपाली पुरुष टिम तेस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation