
९ वैशाख, दाङ
१५७औँ लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनको इतिहास, वर्तमान अवस्था र भविष्यका चुनौतीहरूबारे गहिरो बहस गरिएको छ। राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समिति को आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले लेनिनवाद आज पनि वर्ग सङ्घर्ष, सर्वहारा वर्गको मुक्ति, सामाजिक न्याय र उत्पीडित समुदायहरूको अधिकारका लागि सान्दर्भिक रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले लेनिनका दार्शनिक तथा संगठनात्मक विचारहरूलाई व्यवहारमा लागू गर्दै मजदुर, किसान तथा शोषित–पीडित वर्गको मुक्तिका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा नेपालका कम्युनिस्ट आन्दोलनभित्र देखिएको वैचारिक विचलन, विभाजन र सत्ताकेन्द्रित प्रवृत्तिमाथि समेत आलोचनात्मक समीक्षा गरिएको थियो। वक्ताहरूले वर्तमान समयमा “दक्षिणपन्थी अवसरवाद” हावी हुँदै गएको, कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र यसलाई पुनः जीवन्त बनाउन वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र जनआधारसँग पुनः जोडिनु आवश्यक रहेको बताएका छन्। विगतमा कम्युनिस्ट आन्दोलनमा विभिन्न नेताहरूले पुर्याएको योगदान स्मरण गर्दै पछिल्लो राजनीतिक अभ्यासमा देखिएको सत्ता केन्द्रित प्रवृत्तिले आन्दोलन कमजोर बन्दै गएको टिप्पणी गरिएको थियो। यस सन्दर्भमा केपी शर्मा ओली को राजनीतिक यात्रामा देखिएको उतारचढाव र सत्ताबाट बाहिरिने अवस्थासम्मका घटनाक्रमलाई पनि आलोचनात्मक रूपमा व्याख्या गरिएको थियो।
वक्ताहरूले लेनिनको जीवन, उनले नेतृत्व गरेको क्रान्ति र त्यसले विश्व राजनीतिमा पारेको प्रभावलाई वर्तमान नेपाली सन्दर्भसँग जोड्दै वर्गीय मुक्ति, महिला अधिकार, जातीय तथा क्षेत्रीय समानता, उत्पीडित समुदायको पहिचान र राष्ट्रिय स्वाधीनताका विषयहरू अझै पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूको जोड थियो—विचार, संगठन र जनसम्बन्ध बलियो नभएसम्म कुनै पनि आन्दोलन दिगो हुन सक्दैन र कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउन एकता, स्पष्ट दृष्टिकोण र जनमुखी कार्यक्रमहरू आवश्यक छन्।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले मन्तव्य राख्नुभएको थियो भने लेनिनवादको सान्दर्भिकताबारे अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष काशीनाथ पोखरेलले धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष ऋषिराम पौडेल, जातीय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपाली, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ईश्वरी भण्डारी, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुरेश कुमार पाण्डे, अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य हेमा पोख्रेल, जनप्रतिनिधि दिनामणि आचार्य र विष्णु भुसाल, भौतिकवादी समाज दाङका संयोजक पदम पोखरेल तथा रक्तिम सांस्कृतिक अभियान घोराही नगरका अध्यक्ष उत्सव पुनलगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम राष्ट्रिय जनमोर्चा दाङका सचिव बसन्त पौडेलको अध्यक्षता, मनिराम खनालको सञ्चालन तथा जिल्ला सहसचिव कृष्ण रानाको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।
















