१० वैशाख, काठमाडौं
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ ।
बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो ।
‘बैठकमा सुरुमा त सरकारको निर्णय आधिकारिक हो या होइन भन्ने विषय उठ्यो,’ गुरुङले भने, ‘यदि हो रहेछ र बल प्रयोग गरेर उठाउने काम गरे हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ । जसरी पनि प्रतिरोध गर्छौँ । यसबारे हाम्रो बैठकमा छलफल भयो ।’
प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका छन् ।

















