बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ।

यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। अन्य सात जना बेपत्ता छन्। यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ।

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–११ मा खोला तर्ने व्रmममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो। शनिबार साँझ भ्याकुरे खोला तर्ने व्रmममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदै सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका–१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी जारी रहेको गौतमले बताए।

खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता रहेको प्रवक्ता कार्कीले बताए। त्यस्तै पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन्। काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ।

स्याङ्जाको बिरुवा–६, लामाखेतमा ईश्वरी लम्सालको घर पुरिँदा ६५ वर्षीय गुह्येश्वरी शर्मा मरासिनी र ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको छ। ६६ वर्षीय माधव शर्मा बेपत्ता छन्। लम्साल परिवारका पाँच जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ। बाढीका कारण दाङमा दुध बेच्न गएका एक किसान र दोलखामा एक महिला बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation