
२४ भदौ, काठमाडौं
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला बुधबार काठमाडौंमा सम्पन्न भएको छ। भेलाले मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीलाई चयन गरेको छ। भेलाको उद्घाटन मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य ‘किरण’ले गरेका हुन् ।
मोर्चा गठनको प्रथम वार्षिकोत्सवका अवसरमा भेला आयोजना गरेको आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीले बताए ।
भेलाले वार्षिक समीक्षा प्रतिवेदन पारित गरेको छ भने नयाँ सङ्गठनात्मक कार्यविधिको संशोधन प्रस्ताव पनि पारित गरेको छ।
नौवटा राजनीतिक पार्टी तथा सङ्गठनहरूका प्रतिनिधिहरू र प्रदेश समितिका प्रतिनिधिहरूको सहभागिता रहेको भेलाले पाँच सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ।
समितिमा कमरेड सुवेदीसहित क्रान्तिकारी कम्युनिस्ट पार्टीका सह-संयोजक सन्तबहादुर नेपाली, अनेकपाका सदस्य पुष्कर गौतम, नेकपा (रातो तारा)का महासचिव लक्ष्मण उप्रेती, प्रतिरोध:जनअधिकार आन्दोलनका सदस्य शैलज पौडेल सदस्य रहेका छन् ।
















