
२६ वैशाख, जाजरकोट
जुनीचाँदे गाउँपालिका ले सामुदायिक विद्यालयहरूको साप्ताहिक बिदा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार अबदेखि विद्यालयहरूमा सातामा दुई दिन हुँदै आएको सार्वजनिक बिदा कटौती गरी शनिबार मात्रै बिदा दिइने भएको हो।
गाउँपालिकाको कार्यालय, मजकोट जाजरकोटद्वारा जारी सूचनामा यसअघि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुँदै आएको उल्लेख गरिएको छ। तर गाउँपालिकाको मिति २०८३/०१/२० गतेको निर्णयअनुसार अब आगामी दिनमा हप्ताको एक दिन अर्थात् शनिबार मात्रै सार्वजनिक बिदा रहने जनाइएको छ।
यो निर्णय जुनीचाँदे गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयहरूमा लागू हुने सूचनामा उल्लेख छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले हस्ताक्षर गरेको उक्त सूचना २०८३ साल वैशाख २३ गते जारी गरिएको हो। विद्यालय सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हुन सक्ने अनुमान गरिएको छ।
















