
२६ वैशाख, घोराही (दाङ)
समसामयिक विश्व राजनीति र नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखिएका विभिन्न विकृतिहरू र विसङ्गतिमाथि सटिक व्यङग्य गरिएको कवि घनश्याम अस्तित्वको कवितात्मक कृति “चिहानमाथि महल बनाइरहेको मान्छे” माथि एक विवेचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङको सभाहलमा भएको सो कार्यक्रममा वामपन्थी लेखक, विश्लेषक एवम् राजनीतिक अभियन्ता प्रमोद धिताल र माक्र्सवादी कवि यज्ञबहादुर डाँगीले यथार्थपरक विवेचना गरेका छन् ।
कृतिमाथि बोल्दै प्रमोद धितालले अस्तित्वको कवितात्मक कृति चिहानमाथि महल बनाइराखेको कवितामा कला, भाव र विचारको स्पष्ट सन्देशहरू रहेको र हरेक कविताले एउटा जिम्मेवार नागरिकले कसरी सोच्नुपर्छ, कस्तो प्रकारको आर्थिक–सांस्कृतिक व्यवहार हुनुपर्छ भन्ने विषयलाई स्पष्ट ढङ्गले चित्रित गर्न सफल भएको बताएका छन् ।
उनले हरेक कविले राज्यसत्ताविरुद्ध खरो प्रश्न गर्न सक्ने खण्डमा मात्रै कविताहरू वा हरेक प्रकारका कृतिहरू पाठकहरूको नजरबाट सफलता प्राप्त गर्ने भाव व्यक्त गर्दै सत्ताका हरेक बदमासी, गडबडी र सत्ताउन्मादको विरुद्धमा साहित्यिक रचनाहरू सृजना गर्न जरुरी रहेको बताएका छन् ।
उनले विभिन्न पुरस्कार र लाभको पदको निम्ति सत्ताको वरिपरि रहेर पदासीनहरुको दलाली गर्ने र सत्ताकै औपचारिकतालाई टेबा पुग्ने गरी रचिएका साहित्यिक कृतिहरु कविता, कथा, निबन्ध एवं उपन्यासहरूले कहिल्यै जनताको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन् । त्यस्ता कृतिहरु आलोचकहरूको पाठकहरूको नजरबाट ति कहिल्यै पनि साहित्यिक कृति हुन नसक्ने बताएका छन् । प्रमोद धितालले कार्यक्रममा बोल्दै घनश्याम अस्तित्वका कविताहरूले वर्गवैरी राज्यशत्ताले अर्थ, पर्यावरण, राजनीति, संस्कृति आदि विषयमा सर्वसाधारण मानिसहरुको कसरी ब्रेनवास गरेको छ भन्ने विषयमा गहिरो गरी रचना गरिएकोले यस्ता रचनाहरू युगयुगसम्म जिवित रहने बताएका छन् ।
त्यस्तै कवि यज्ञबहादुर डाँगीले घनश्याम अस्तित्वका कविताले हरेक पाठकलाई प्रश्न गर्ने शक्तिको विषयवस्तुहरू उठाएको बताएका छन् । उनले कवितामा भाव र कलाको सुन्दर सम्योजन हुनु जरुरी रहेको बताउँदै घनश्याम अस्तित्वका कविताले भाव र कला पक्षलाई राम्रो ढङ्गले सम्योजन गरेको बताएका छन् । उनले कविताहरू लेखक र सत्ताको लागि नभएर पाठकको लागि प्रभावकारी हुनुपर्ने र उनीहरूको चेतनालाई पनि बोक्न सक्ने गरी कृतिहरू रचना गरेको खण्डमा साहित्यिक रचनाहरू सफल हुने बताएका छन् । घनश्यामका कविताले समाजका वहआयामिक समस्याहरुलाई विना आक्रोश विना चर्काे खबरदारी सुन्दर ढंगले व्यङग्यात्मक शैलीमा उधिन्न सफल भएको बताउँदै आगामी कृतिहरु थप वजनदार ढंगले रचना गर्न शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा लेखक विश्लेषक एवं समालोचक क्रिकराम उदासी, राप्ती साहित्य परिषदका अध्यक्ष एम रेग्मी, पुरुषोत्तम खनाल, सुरेशकुमार पाण्डे लगायतले अस्तित्वका कविताहरूले समाजको वास्तविक यथार्थतालाई उजागर गरेको बताउँदै अस्तित्वलाई थप साहित्यिक सफलताको शुभकामना व्यक्त आफ्नो मन्तव्य राखेका थिए । राप्ति साहित्य परिषदको नियमित रचना श्रुङ्खला अन्तरग अन्तरर्गत अस्तित्वका कवितामाथि शुक्रबार चर्चा भएको हो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव घनश्याम केसीले गरेका थिए ।
















