संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक : देउवा

धनुषाको औरही गाउँपालिकामा सोमबार काँग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुने बताए ।

‘देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गइसकेको छ । त्यसैले सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमति चाहिन्छ । यसको लागि म पहल गर्छु’ उनले भने ।

‘स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ, उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ । त्यो क्षतिपूर्तिका लागि हामी सबैले उहाँको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु’, सभापति देउवाले भने ।

उनी सो कार्यक्रममा सहभागी हुन नेपाली सेनाको हेलिकप्टरबाट आएका थिए ।

कार्यक्रममा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई तत्कालै प्रहरी संगठन हस्तान्तरण गरी संघीयता कार्यान्वय गर्नु पर्ने बताए ।

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए ।

आगामी महासमिति बैठकमा सङ्घीयतासँग जोडिएका बाँकी काम, प्रदेशलाई बलियो बनाउन प्रहरी प्रशासन, निजामती कर्मचारी, स्थानीय तहले काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने विषय मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी पार्टी सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस बलियो भएमा मात्रै सङ्घीयता, मधेस र देश बलियो हुने भन्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकढिक्का हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रामकृष्ण यादव, पार्टीका प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, धनुषा सभापति योगेन्द्र पजियार, स्व सिंहका छोरा डा कुनाल सिंहलगायतले सङ्घीयता कार्यान्वयन, बेरोजगारी समस्या समाधान र विकासको गति बढाउन ठूलो पार्टीका हैसियतले कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

विसं २०१३ वैशाख २ गते जन्मिएर गत वर्ष मङ्सिर १ गते दिवङ्गत भएका सिंह लगातार चार कार्यकाल क्षेत्र नं २ को सर्वसम्मत सभापति भएका थिए। पञ्चायतकालमा प्रजातन्त्र पुनर्बहालीका लागि पार्टीको क्रियाशील सदस्य भएर लाग्ने थोरै नेताहरुमध्ये सिंह पनि एक थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation