भुटानी शरणार्थी प्रकरणमा समातिएका खाण आज छुट्दै

 

२९ मंसिर, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।

खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमोजिम शुक्रवार काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुने बताए । ‘उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुन्छ । त्यसपछि धरौटी बुझाएर उहाँ रिहा हुनुहुन्छ,’ घिमिरेले भने, ‘कारागारबाट उहाँलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही बेर हाजिर गराउनुपर्नेछ ।’

खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो । यसअघि उच्चका दुई न्यायधीशहरूबीच राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशसमक्ष पेस गरिएको थियो । न्यायाधीश कोइरालाले ३० लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिने पक्षमा राय राखेका हुन् ।

यसअघिको इजलासमा न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्ने राय राखेकोमा अर्का न्यायाधीश प्रकाश खरेलले खाँणलाई थुनामा पठाउनुपर्ने राय राखेका थिए । त्यसबेला न्यायधीशद्धय पाण्डे र खरेलको संयुक्त इजलासले ९ जनालाई थुनामै राखिरहन आदेश दिएको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा रिहा गर्न र बाँकी ४ जनालाई साधारण तारिखमा रिहाइको आदेश दिएको थियो ।

अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम सङ्गठित रूपमा असुलेको अभियोगमा सरकारले गत जेठ १० गते पूर्वमन्त्रीद्वय खाँण र टोपबहादुर रायमाझीसहित ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा सङ्गठित अपराधसहित किर्ते र ठगीमा मुद्दा दायर गरेको थियो ।

अभियोग खेपिरहेका १८ र फरार १२ गरी ३० मध्ये दुई पूर्व मन्त्री तथा गृह सचिवसहित १६ अभियुक्तलाई असार १ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

त्यस विरुद्ध उच्च अदालतमा उनीहरूले दायर गरेको निवेदनमाथि अन्तिम आदेश जारी गर्दै उच्चले पूर्व मन्त्री रायमाझीसहित टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको थियो भने खाँणका पिए नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई १५ लाख, सन्दीप रायमाझीलाई ३० लाख लिएर धरौटीमा छाड्ने आदेश गरेको थियो । लक्ष्मी महर्जन, टंककुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकी भने साधारण तारेखमा छुटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation