‘अफिम’ र दुई लाखबढी नगदसहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

२२ फगुन,काठमाडौँ

चितवनमा लागू पदार्थ ‘अफिम’ जस्तै देखिने पदार्थसहित एक व्यक्तिलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

हिजो साँझ भरतपुरमा एक व्यक्तिको साथबाट दुई किलोभन्दा बढी अफिमजस्तै पदार्थ बरामद भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले प्राप्त सूचनाको आधारमा कालिकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बमलाई उक्त पदार्थ र दुई लाखबढी नगदसहित पक्राउ गरेको चितवन प्रहरीका प्रमुख एसपी भावेष रिमालले जानकारी दिए ।

चौबीसकोठीस्थित पूर्व–पश्चिम हाइवेमा सवारी साधनबाट ओर्लेर शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा बमले बोकेको झोलामा लागुऔषध अफिम जस्तै पदार्थ दुई किलो ३० ग्राम र दुई लाख १६ हजार पाँचसय रुपैयाँ नगदसमेत फेला परेको बताइन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच, विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका ३२ थान मोबाइल चितवन प्रहरीले भेट्टाएको छ । मोबाईल फोन हराएको सम्बन्धमा प्राप्त निवेदनअनुसार खोजतलास गर्दा आइफोन, सामसुङ, रेडमी, ओप्पो, पोकोलगायत विभिन्न कम्पनीका ३२ थान मोबाइल फेला पारिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय चितवनले आज सम्बन्धित मोबाईल धनीहरुलाई बुझाइदिएको छ ।

चितवनबाट हराएका तथा चोरी भएका ती मोबाइलहरु चितवन एवम् काठमाडौं, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरी लगायतका जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ताले जनाए ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आज एक कार्यक्रमबीच हराएको आफ्नो मोबाईल फिर्ता पाउँदा सम्बन्धित धनीहरु खुसी भएका छ । भरतपुर–९ का अनिल शर्मा भट्टराईले आफूले चलाउने अटोको अगाडि सानो डिक्कीमा राखेको मोबाइल होटलमा खाना खान जाँदा लैजान बिर्सेपछि चोरी भएको भन्दै प्रहरीले भेट्टाएर दिँदा खुशी लागेको बताए । भरतपुर–९ मै बस्ने सुमिता लामाको १५ दिन अगाडि ३२ हजार पर्ने मोबाईल बच्चालाई बोर्डिड्डमा छोड्न जाँदा हराएको थियो ।

प्रहरीले भेट्टाएपछि उनी पनि दंग देखिइन् । गैंडाकोटका शुभम क्षेत्रीले दुई महिना अगाडि हराएको मोबाइल भेटिन्छ भनी आशै मारेको बताए । प्रहरीले भेटाएर दिँदा उनले पनि खुशी व्यक्त गरे ।

मोबालभन्दा पनि यतिबेला सालिन पोखरेलको मृत्यु सम्बन्धी वास्तविकता पत्ता लगाएर छिट्टै सत्यतथ्य सार्वजनिक गर्न प्रहरी सफल भए अझ बढी खुशी मिल्नेसमेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation