मिटरब्याज पीडितका संयोजक कुशवाह बालुवाटारबाट पक्राउ

२३ फागुन, काठमाडौं

 

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् ।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार, प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट बुधबार निस्किन समेत रोक लगाएको थियो । ‘हामीलाई निस्किन नदिएपछि उहाँहरुको नेतृत्वमा गएको टोलीले छुट्टै प्रदर्शन गर्ने भन्ने थियो’, उनले भने, ‘तर, प्रहरीले प्रदर्शन गर्नुअघि नै पक्राउ गर्‍यो ।’

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ ।

मन्त्रालयबाट सरकारी वार्ता टोलीको नेतृत्व शान्ति सुरक्षा महाशाखका प्रमुख सहसचिव नारायणप्रसाद भट्टराईले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation