बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
यस्तै सवारीधनी रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका बबिददेल नेपाली, चालक रोल्पाका सुवास गौतम भनिने मानसिंह विक, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको हो।
सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केसीले बताए। दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन्। घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले जानकारी दिए। दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको छ।
पूर्वीरुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकबाट १५० मिटर तल खसेको थियो।