रुसले मृत्य भएका नेपालीको शव पहिचान गर्न आफन्तको  ‘डिएनए’ माग्यो

रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र आज एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ।

विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डिएनए’ परीक्षणका लागि पठाएको हो।

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ।

मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको डिएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो।

नेपाल प्रहरीबाट डिएनएको रिपोर्ट आएलगत्तै उक्त विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए।

उनका अनुसार विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकीन गरिपाउँ भनेर आवेदन दिएका छन्।

परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १९ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation