
टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ ।
बिहीबार बिहान ३÷४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको हो । सो कार प्रदेश ३ ०१ –००३ –प ६२९८ नम्बरको टिपरसँग ठोकिएको बताइएको छ ।
दुर्घटनालगतै ६ जनालाई नै मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर रहेको छ ।
सामान्य उपचारपछि डिस्चार्ज भएका विशाल भण्डारी र पूजन अधिकारी अहिले जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् । दुवैले कार आफैँले चलाएको भनेर दाबी गरिरहेको र कार कसले चलाएको थाहा नभएका कारण दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी पाठकले बताए ।