राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् ।

घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा चार वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।

नेकपा एमालेकी सांसद भगवती न्यौपानेका अनुसार विमला घिमिरे २०४६ सालदेखि नेपाली राजनीतिमा छिन् । २०२९ साल साउन १२ गते कपिलवस्तुमा जन्मिएकी घिमिरेले २०४७ सालमा एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् ।

अखिल नेपाल महिला संघमा आवद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेकी घिमिरे त्यसयता निरन्तर राजनीतिमै छन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation