अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

३ बैशाख, काठमाडौँ

अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।

सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश ३३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन’, विभागका प्रवक्ता जनान सायेकले भने।

सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन् । करिब ६०० घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब ६०० किलोमटर सडक भत्किएको छ र करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ।

मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ । यसपछि असामान्यरूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको छ र किसानहरूलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको छ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि गरिब अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपको राहत प्रक्रियामा अवरोध भइरहेको छ।

गत फेब्रुअरीमा पूर्वी अफगानिस्तानमा व्यापक हिमापातपछि पहिरो जाँदा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने मार्चमा समाप्त भएको तेस्रो साताको वर्षामा करिब ६० जनाको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघले गत वर्ष अफगानिस्तानले चरम मौसमको स्थितिमा ठूलो परिवर्तनको अनुभव गरिरहेको चेतावनी दिएको थियो।

वैज्ञानिकका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिरहेको छ र चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान यस्तो घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार मुलुकमध्ये एक भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation