
भूमिगतकालमा हिसिलाले मानुषीलाई चिठी लेखिरहन्थिन् । एउटा चिठीमा लेखिन्– तिम्रो बुबा मारिन सक्छन् । अर्कोमा फेरि लेखिन्– म पनि मारिन सक्छु, तर तिमीले आफूलाई सही बाटोमा हिँडाउनुपर्छ । तेस्रो चिठीमा लेखिन्– तिमीलाई पनि सुरक्षा–खतरा छ, केही हुन सक्छ है, ख्याल राख्नू ।
१३ बैशाख, काठमाडौँ
एक्ला, केवल एक्ला दिनहरूमा पनि केही थियो, जसले मानुषीलाई निराश हुन दिएन । ती रंगहीन दिनमा उनको सम्झना–आयतनमा टाँगिएकी हुन्थिन्, आमा हिसिला यमी (६५) । बाल्यकालमै भूमिगत जीवन बाँचिन् मानुषीले ।
जेल, बर्दिवाला–पुलिस, मसाल जुलुस, आन्दोलन र चर्का नाराहरू– यिनै थिए मानुषीको बाल्यकालीन चित्र, जो उनको मस्तिष्क–कोषागारमा गाढा स्मृति भएर बसेका छन् । मानुषी साक्षी हुन्– ‘संसार बदल्न’ क्रान्तिमा होमिएका बुबा बाबुराम भट्टराई र आमा हिसिलाको आरोह–अवरोहको । तिनका रुमानी सपना, केही दुःख र क्रान्तिमय रात–साँझहरूको । इतिहास–परिवर्तनको प्रत्यक्षदर्शी हुन्– हिसिला, बाबुराम र मानुषी ।
बाबुराम–हिसिलाको ‘क्रान्ति–सपना’ ले छोरी मानुषीको बाल्यकाल एक्लै बित्यो, भौतिक रूपमा साथ थिएन बुबा–आमाको । मानुषीसँग थिए– धमिलोजस्तो केही सम्झना, आमा–बुबाले बेलाबेला पठाउने माया–सुझावले भरिएका लामा–लामा चिठीहरू । ‘तिनै चिठी थिए मलाई जीवन सिकाउने पाठशाला, आधारभूत खम्बा । तिनै चिठीले मलाई मार्गनिर्देश गरे,’ मानुषी भन्छिन् । ऊबेला जीवन कति बहुमुखी थियो ? मानुषी बेलाबेला आफैंलाई प्रश्न गर्छिन् । आफैंलाई उत्तर दिन्छिन्– अरू नानीभन्दा बेग्लै ढंगको भोगाइले जीवनमा धेरै कुरा सिकायो । बाल्यकालीन–डायरीका पानाहरू पल्टाउँदा एउटा विन्दुमा पुगेर टक्क अडिन्छिन् मानुषी, जहाँ थिए ‘निषेध’ लेखिएका कारागारका ठुल्ठुला पर्खाल ।
मानुषीलाई धमिलो–धमिलो स्मरण छ, ४ वर्षे उनी ज्वरोले थलिएकी थिइन् । ०४६ को आन्दोलनमा घरमा पुलिस आए, हिसिलालाई लिन । कसैको हात समाएर उनी आमा भेट्न जेल पुगिन् । जेलरसँग अनुरोध गरेर हिसिलाले मानुषीलाई एकछिन जेल परिक्रमा गराइन् । कारागारका केही नैसर्गिक गन्ध हुन्छन्– डर, निरीहता र निराशाका । सायद मान्छेले आफूलाई असाध्यै निरीह अनुभव गर्छ कारागारमा । ‘आमाले स्विटर बुन्नुभएको रहेछ, सायद त्यो नै पहिलो र अन्तिम स्विटर हो आमाले बुन्नुभएको, मलाई दिनुभयो,’ मानुषी सम्झिन्छिन्, ‘अहिले लाग्छ– त्यसबेला यो सबै जीवनको सामान्य प्रक्रिया हो भनेर बुझाउन खोज्नुभएको रहेछ– आमाले ।’
धर्मरत्न यमीकी छोरी हुन्– हिसिला । जसको जीवनमार्गमा छ– संघर्ष, थकान अनि अनिँदा रातहरूको कथा । युवावयमै ल्हासा पुगेका थिए– धर्मरत्न । त्यो यस्तो समय थियो, नेपालबाट ल्हासा पुगी व्यापार गरिरहेका काठमान्डुका (मूलतः नेवार) युवाहरू उतै प्रेममा पर्थे र घरजम गर्थे । केही युवा तिब्बती श्रीमतीलाई काठमाडौं ल्याउँथे । असफल युवाहरूचाहिँ प्रेम वा विवाह गरेकी युवती तिब्बतमै छाडेर काठमाडौं फिर्थे । तिब्बतबाट काठमाडौं फिरेका धर्मरत्न यमीको खण्डकाव्य छ– ‘सँदेया लिसः’ । त्यसको नेपाली अनुवाद गरेका छन् कवि दुर्गालाल श्रेष्ठले ‘ल्हासा बोल्छे’ शीर्षकमा । २००७ सालअघि लोकतान्त्रिक आन्दोलनमा जेल परेका बेला धर्मरत्नले लेखेको ‘सँदेया लिसः’ की नायिका छिन्– हिसिला ।