सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगहरूले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि जफत गरी लिलाम गरिने बताएका छन्।

सहकारी पीडितसँग भएको छलफलका क्रममा लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि संचालकका सम्पत्ति कब्जा गरी लिलाम गरिने बताए। त्यसका लागि फास्ट ट्र्याकबाट कानुन बनाउन लागिएको लामिछानेले जानकारी गराए।

‘कतिपयले सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने भएर आफन्तहरूका नाममा राखेका छन्। आफ्नो नाममा छैन म त बाँच्छु भनेर कसैले सोचिरहेको होला।’ लामिछानेले भने, ‘त्यो आफन्त हिजो कति गरिब थियो र अहिले रातारात कसरी धनी भयो भनेर हेर्ने संयन्त्र गृह मन्त्रालयसँग पनि छ। सम्पत्ति शुद्दीकरण विभागसँग पनि छ। तर इच्छाशक्ति हुनुपर्‍यो।’

अहिले साना बचतकर्तालाई प्राथमिकता राखेको भन्दै लामिछानेले तत्काल कानुन बनाएर कार्यान्वयन गर्दै गएपछि समस्या समाधान हुँदै जाने बताए।

संचालकका सम्पति कब्जा गरी लिलाम बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले फास्टट्र्याकबाट कानुन ल्याउन लागेका जानकारी लामिछानेले गराए।

व्यवस्थापन मिलाउँछु र बचतकर्ताको रकम फिर्ता गर्छु भन्नेलाई पनि मौका दिन सकिने उनको भनाइ छ।

सहकारी र लघुवित्तपीडितका लागि अहिले संकटकाल भएको भन्दै लामिछानेले विधि प्रक्रियाको भारी बोकेर ढिलासुस्ती नगर्ने र फास्ट ट्र्याकमा काम गर्ने आश्वासन दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation